अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ। आठ जना गम्भीर रूपमा घाइते भएका छन्।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। तर प्रोविडेन्स सहरका मेयर ब्रेट स्माइलीले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। अभियुक्त कालो कपडा लगाएको अवस्थामा थियो र पैदलै घटनास्थलबाट भागेको बताइएको छ। प्रहरीले एक व्यक्तिलाई हिरासतमा लिएको थियो तर अनुसन्धानपछि उसको यस घटनासँग कुनै सम्बन्ध नदेखिएकाले उसलाई रिहा गरिएको छ।
ब्राउन विश्वविद्यालय र वरपरका क्षेत्रमा मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिने आदेश अझै पनि लागू छ। यस घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई जानकारी दिइएको बताएका छन्। स्थानीय समयअनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा यो घटना भएको हो। एजेन्सी
प्रकाशित: २८ मंसिर २०८२ ०८:२२ आइतबार





