भारतमा सोमबार (आज) करिब ३०० विपक्षी सांसदले मतदाता प्रमाणीकरण र चुनावमा 'भोट चोरी' को गम्भीर आरोप लगाउँदै संसद्को मकर गेटबाट निर्वाचन आयोगको कार्यालयसम्म विरोध मार्च निकालेका छन्।
मार्चको नेतृत्व लोकसभाका विपक्षी नेता राहुल गान्धीले गरेका थिए। तर दिल्ली प्रहरीले मार्चको लागि अनुमति नलिएको भन्दै यातायात भवन नजिकै ब्यारिकेड राखेर प्रदर्शन रोकेपछि सांसदहरू धर्नामा बसेर 'भोट चोर गद्दी छोड' र 'भोट बचाउनुहोस्' को नारा लगाए।
त्यस क्रममा राहुल गान्धी, प्रियंका गान्धी, अखिलेश यादव, डिम्पल यादव, महुआ माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपाललगायत धेरै सांसदलाई दिल्ली प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अखिलेश यादवले ब्यारिकेड पार गरेर अगाडि बढ्न खोजेपछि प्रहरीले उनीसहित अन्य सांसदलाई नियन्त्रणमा लिएको हो।
विरोध प्रदर्शनका क्रममा तृणमूल कांग्रेसकी सांसद मिताली बागको स्वास्थ्य बिग्रिएर बेहोस भएकी थिइन्।
यसअघि यो मुद्दामा दुवै सदनमा ठूलो हंगामा भएको थियो, जसले गर्दा संसद्को कार्यवाही स्थानीय समयानुसार दिउँसो २ बजेसम्म स्थगित भएको छ।
हिरासतमा लिएपछि राहुल गान्धीले भने, 'वास्तवमा हामी बोल्न सक्दैनौं, यो सत्य हो। यो लडाई राजनीतिक होइन। यो संविधान बचाउने लडाई हो। यो एक व्यक्ति एक मतको लडाई हो। त्यसैले हामी स्वच्छ मतदाता सूची चाहन्छौं।'
यो विरोध मार्च बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) र कथित 'चुनावी धाँधली' को मुद्दालाई लिएर आयोजित भएको थियो। विपक्षी सांसदले संसदमा यो विषयमा छलफलको माग गर्दै आएका छन्। तर सत्तापक्षबाट सकारात्मक जवाफ नआएको उनीहरूको गुनासो छ।
प्रकाशित: २६ श्रावण २०८२ १३:४४ सोमबार





