क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी स्टील कम्पनी क्लिभल्याण्ड-क्लिफ्सले क्यानाडाली कामदारलाई धोका दिएको आरोप लगाएका छन्।
कम्पनीको सहायक स्टेल्कोले ओन्टारियोको ह्यामिल्टनस्थित प्लान्टमा केही उत्पादन अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि कार्नीले यस्तो बताएका हुन्। स्टेल्कोले ह्यामिल्टनमा रहेको कोल्ड-रोल्ड र कोटेड स्टील उत्पादन बन्द गर्ने जनाएको छ।
यसबाट ५०० जनासम्म कामदार प्रभावित हुन सक्नेछन्। उत्पादन भने ओन्टारियोकै नान्टिकोकस्थित लेक एरी वर्क्समा केन्द्रित गरिने कम्पनीले जानकारी दिएको छ। प्रभावित कामदारमध्ये उल्लेख्य संख्यालाई त्यहाँ रोजगारी दिने अपेक्षा गरिएको छ।
कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली स्टीलमा लगाएको ५० प्रतिशतसम्मको करका कारण बजारमा समस्या आएको बताएको छ। स्टेल्कोले आफ्ना कोल्ड-रोल्ड र ग्याल्भेनाइज्ड स्टील उत्पादनको माग घटेको जनाएको छ।
कम्पनीका अनुसार दोस्रो त्रैमासिकमा उसका मुख्य बजारमा माग सन् २०२४ को त्रैमासिक औसतको तुलनामा करिब २५ प्रतिशत घटेको थियो। क्यानाडामा मात्रै माग १० प्रतिशत घटेको थियो।
कार्नीले क्लिभल्याण्ड-क्लिफ्सका प्रमुख कार्यकारी लोरेन्को गोन्काल्भ्सले ट्रम्पको स्टील करलाई समर्थन गरेको उल्लेख गरे। गोन्काल्भ्सले ५० प्रतिशत करलाई अमेरिकी स्टील उद्योग जोगाउन ‘आवश्यक कदम’ भनेका थिए।
‘कम्पनीबाट धोका पाएका कामदार र परिवारप्रति हाम्रो साथ छ,’ कार्नीले भने।
कार्नीले क्लिभल्याण्ड-क्लिफ्सविरुद्ध कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। उनले कम्पनीको रोजगारीसम्बन्धी कानुनी दायित्व रहेको र सरकारले त्यसलाई कार्यान्वयन गराउन उपलब्ध सबै अधिकार प्रयोग गर्ने बताए।
क्यानाडा सरकारले सन् २०२४ मा क्लिभल्याण्ड-क्लिफ्सलाई ३.४ अर्ब क्यानाडाली डलरमा स्टेल्को खरिद गर्न अनुमति दिँदा पाँच वर्षको रोजगारीसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त राखेको थियो।
कार्नीले रोजगारी जोगाउन संघीय सरकारले आर्थिक सहयोग प्रस्ताव गरेको पनि बताए। क्लिभल्याण्ड-क्लिफ्सले भने कार्नीको आरोपबारे तत्काल प्रतिक्रिया दिएको छैन। एजेन्सी
प्रकाशित: १४ आश्विन २०८३ ०९:४२ बुधबार



-600x400.jpg)

