बेलायती प्रधानमन्त्री किअर स्टार्मरले स्थानीय समय सोमबार पदबाट राजीनामा दिएर आफ्नो बहिर्गमनको समयतालिका सार्वजनिक गर्ने बताइएको छ।
बेलायती अखबार ‘अब्जर्भर’ ले स्टार्मरले आफ्नो पद अब टिकाउ नभएको निष्कर्ष निकालेको उल्लेख गरेको छ। तर डाउनिङ स्ट्रिटले भने उनी पदमा रहन कटिबद्ध रहेको दाबी गरेको छ। रोयटर्सका अनुसार क्याबिनेट मन्त्री, सल्लाहकार, दाता र ट्रेड युनियन नेताहरूसँगको परामर्शपछि स्टार्मर राजीनामा दिने निर्णयमा पुगेका हुन्। प्रधानमन्त्री स्टार्मर हाल चेकर्सस्थित सरकारी निवासमा आफ्नी श्रीमती भिक्टोरिया स्टार्मरसँग आफ्नो भविष्यको विषयमा छलफल गरिरहेका छन्। वरिष्ठ लेबर पार्टीका सदस्यहरूले सोमबारसम्ममा उनको भविष्यबारे स्पष्ट बयान आउने अपेक्षा गरेका छन्।
डाउनिङ स्ट्रिटको दाबी विपरीत ‘द सन’ पत्रिकाले एक वरिष्ठ सहयोगीलाई उद्धृत गर्दै ‘स्टार्मर अहिले पदमा टिक्ने सम्भावना केवल २५ प्रतिशत मात्र रहेको’ बताएको छ। हाल लेबर पार्टीका १०० भन्दा बढी सांसदले स्टार्मरलाई राजीनामा दिन सार्वजनिक रूपमा आह्वान गरिसकेका छन्। यो संख्या पार्टीका कुल सांसदको करिब एक चौथाइ हो।
मेकरफिल्ड उपनिर्वाचनमा एन्डी बर्नह्यामको निर्णायक जितले स्टार्मरको नेतृत्वमाथि संकट थप गहिरिएको छ। स्काई न्युजका अनुसार बर्नह्यामले आफ्नो विजयपछि देशका लागि नयाँ बाटो बनाउने वाचा गरेका छन्। उनी प्रधानमन्त्रीले स्वेच्छाले सत्ता हस्तान्तरण गरुन् भन्ने चाहन्छन्।
बर्नह्यामले सोमबार हाउस अफ कमन्समा शपथ ग्रहण गर्ने कार्यक्रम छ। रिपोर्टका अनुसार शपथ लिएपछि उनी स्टार्मरसँग कुराकानी गरी आफूलाई समर्थन गर्ने सांसदहरूको सूची प्रस्तुत गर्ने तयारीमा छन्। यसका साथै ‘द टाइम्स’ ले यदि बर्नह्याम प्रधानमन्त्री बनेको खण्डमा वर्तमान चान्सलर राहेल रिभ्सलाई पदबाट हटाउने तयारी रहेको दाबी गरेको छ। सल्लाहकारहरूले ‘रिभ्सले पार्टीको दिशा परिवर्तनको पर्याप्त प्रतिनिधित्व गर्न नसक्ने’ निष्कर्ष निकालेको बताइएको छ।
सन् २०२४ को निर्वाचनमा लेबर पार्टीलाई भारी बहुमत दिलाएका स्टार्मर पछिल्लो समय नीतिगत असफलता र विभिन्न घोटालाका कारण निकै अलोकप्रिय बनेका छन्। उनले जनतासँग गरेको जीवनस्तर सुधारको वाचा पूरा गर्न नसकेको र अवैध आप्रवासन नियन्त्रण गर्न असफल भएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ।
यदि स्टार्मरले राजीनामा दिए वा पदच्युत भए भने बेलायतले एक दशकभन्दा बढी अवधिमा सातौँ प्रधानमन्त्री पाउनेछ। यो राजनीतिक अस्थिरताले बेलायतको पछिल्लो दशकको अस्थिर शासन प्रणालीलाई समेत छर्लंग पारेको छ। शुक्रबार नै प्रधानमन्त्रीले आफूमाथि आइपर्ने कुनै पनि चुनौतीसँग लड्ने बताएका थिए। तर हालको परिस्थिति उनको नियन्त्रणभन्दा बाहिर गइरहेको विश्लेषण भइरहेको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: ७ असार २०८३ ०७:२५ आइतबार




