प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी सम्पत्तिको दोहन गर्ने र विगतमा राज्यविरुद्ध फट्याइँ गर्नेहरूसँग सरकारले निहुँ खोज्ने चेतावनी दिएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको हितका लागि आवश्यक परे जस्तोसुकै कदम चाल्न सरकार तयार रहेको बताए।
प्रधानमन्त्री शाहले आफ्नो पार्टी प्रतिशोधको राजनीतिमा नअल्झिने प्रष्ट पार्दै भने, ‘हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने र अगाडि बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्न पुराना कुराहरू लिएर निहुँ खोज्दै बस्दैनौँ।’
यद्यपि, विकासको गतिमा अघि बढ्दै गर्दा विगतका गल्तीहरू बाधक देखिएमा त्यसलाई नछाडिने उनको तर्क थियो। ‘अगाडि बढ्दै गर्दा निहुँ खोज्नै पर्ने ठाउँमा खोजिन्छ,’ उनले थपे, ‘विगतमा सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यस्ता विषयमा निहुँ खोज्न जरुरी छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) सँगको समन्वयबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले आफूहरू सधैँ नियम र कानुनको परिधिभित्र रहने स्पष्ट पारे।
‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ वा सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै राखेर सल्लाह गरिन्छ,’ उनले भने, ‘हामी नियमभन्दा बाहिर कदापि जाँदैनौँ।’
प्रकाशित: ७ असार २०८३ १७:५५ आइतबार


-600x400.jpg)


