इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार आणविक ऊर्जा संस्था (आइएईए) को टोली आउँदो दुई साताभित्र इरानको भ्रमणमा आउने कार्यक्रम तय गरिएको छ।
बाघाईका अनुसार यस भ्रमणको क्रममा इरानले आइएईएसँग भविष्यमा गर्ने सहकार्यसम्बन्धी मार्गदर्शन दस्तावेज पनि प्रस्तुत गर्नेछ। उक्त दस्तावेज हालसालै इरानी संसद्ले पारित गरेको एक कानुनी प्रस्तावमा आधारित हुनेछ, जसमा आइएईएसंगको सहकार्यमा केही सीमा तोकिएको छ।
गत जुन २५ सन् २०२५ मा इरानको संसद्ले एउटा नयाँ कानुन पारित गरेको थियो, जसअनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थासँगको सहकार्य केही हदसम्म स्थगित गर्नुपर्ने प्रावधान गरिएको थियो। त्यसपछि, इरानका परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले गत बुधबार जानकारी दिंदै, इरानले आइएईएको प्राविधिक टोलीलाई स्वागत गर्न सहमति जनाएको स्पष्ट पारे।
यो भ्रमण इरान र अन्तर्राष्ट्रिय समुदायबिच विश्वासको वातावरण निर्माण गर्न, पारदर्शिता कायम राख्न तथा आणविक कार्यक्रमसम्बन्धी प्राविधिक छलफललाई अघि बढाउन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। सिन्ह्वा
प्रकाशित: १२ श्रावण २०८२ २१:५७ सोमबार





