१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा १ करोड कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। यो संख्या कुल जनसंख्याको २० प्रतिशत हो। सरकारी अधिकारीले बुधबार जनाएअनुसार अत्यधिक मृत्युदरले देशभरका शवदाह गृहमा अत्यधिक चाप परेको छ।

अत्यन्त संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको कारण दक्षिण कोरियामा यो संकट आएको हो। यसअघिका महामारीको लहरमा संक्रमितको पहिचान र क्वारेन्टिनमा सशक्त देखिएको दक्षिण कोरियालाई पछिल्लो लहरसँग जुध्न कठिनाइ भएको छ। कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार मंगलबार ४९० हजार ८८१ नयाँ संक्रमित थपिएका छन्। दक्षिण कोरियामा हाल १ करोड ४ लाख २७ हजार कोराना संक्रमित छन्। मंगलबारसम्म कोभिडका कारण कुल १३ हजार ४ सय ३२ जनाको मृत्य भएको छ।

दक्षिण कोरियाको संक्रमण दर र मृत्युदर अन्यत्रभन्दा कम छ। कुल ५ करोड २० लाख जनसंख्यामध्ये ८७ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको छन् भने ६३ प्रतिशतले बुस्टर डोजसमेत लगाइसकेका छन्। तर गत ६ हप्तायता मृत्युदर बढेको छ।

गत शुक्रबार एकै दिन ४ सय २९ जनाको मृत्यु भएको थियो। गृह मन्त्रायलले देशभरका ६० शव दाहगृहलाई अधिक समयसम्म खुला रहन निर्देशन दिएको छ। दिनहुँ १ हजार देखि १४ सय शव दहन गर्ने क्षमता भए पनि कतिपय क्षेत्रमा शवदाह गृहमा अत्यधिक चाप देखिएको मन्त्रालयका एक अधिकारीले बताए।

महामारीका कारण गम्भीर बिरामीको संख्या १ हजार पुगेको छ भने अप्रिलको सुरुमा यो संख्या २ हजार पुग्ने अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालयका अधिकृत पार्क ह्याङका अनुसार सघन उपचार कक्षमा रहेका कुल शड्ढयाको ६४ प्रतिशत प्रयोग भइसकेको छ। सघन बिरामीको उपचारका लागि मर्क एन्ड कम्पनीले बनाएको चक्की औषधि प्रयोग गर्न आपतकालीन अनुमति दिइएको छ। यसैगरी लेगेभ्रिओ भन्ने अर्काे चक्की औषधिको उपयोग गर्न पनि अनुमति दिइएको छ। (रोयटर्स)

प्रकाशित: १० चैत्र २०७८ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App