आठराई त्रिबेणी गाउँपालिकाले शुक्रवारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा आरम्भ गरेको छ । गाउँपालिकाले शुक्रबार नवनिर्मित प्रमुख प्रशासकीय भवन तथा सामुदायिक भवनको एकसाथ उद्घाटन गर्दै सेवा आरम्भ गरेको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले दुबै भवनको उद्घाटन गर्दै सेवा आरम्भ भएको जनाएका छन् ।
प्रमुख प्रशासकीय भवनबाट सेवा सुरु भएपनि विद्युतीय तारबार सहितका केहि संरचना पूरा हुन बाँकी रहेकोले अध्यक्ष–उपाध्यक्ष आवास कक्ष,कर्मचारी आवास कक्ष केहि समयपछि सेवा सुरु गरिने पालिकाले जनाएको छ । ६ करोड ५३ लाख रुपैयाँ बजेट रहेको पालिकाको प्रमुख प्रशासकीय भवनका लागि २०७९।८० बाट प्रकृया आरम्भ भएको थियो । भलिबल,ब्याडमिन्टन सहितका खेलहरु समेत खेल्न मिल्ने प्रकृतिको सामुदायिक भवन ८० लाख रुपैयाँको लागतमा निर्माण कार्य पूरा भएको पालिकाले जानकारी दिएको छ ।
आठराई त्रिबेणीले समेत आफ्नै प्रशासकीय भवनबाट सेवा दिन दिन थालेपछि ताप्लेजुङका ५ स्थानीय तहले आफ्नै नयाँ प्रशासकीय भवन पाएका छन् । सिरिजङ्गा गाउँपालिका, फुङलिङ नगरपालिका, मेरिङदेन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाले यसअघिनै आफ्नै प्रमुख प्रशासकीय भवनबाट सेवा दिइरहेका छन् । मैवाखोला,मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन् । सिदिङ्वा गाउँपालिकाले भने भर्खर मात्र प्रकृया सुरु गरेको छ ।
बसन्त पञ्चमीको अवसर पारेर शुभ साइतका साथ प्रमुख प्रशासकीय र सामुदायिक भवनको उद्घाटन गरिएको पालिका अध्यक्ष पोमूले जानकारी दिए ।
प्रकाशित: ९ माघ २०८२ २०:२१ शुक्रबार





