चितवन-३ मा पराजित हुने निश्चित भएपछि नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले जनताको अमूल्य मतको सम्मान गर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै दाहालले जनताबाट प्राप्त अमूल्य मतको सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको उल्लेख गरेकी छन्।
निर्वाचनमा विजयी निश्चित भएपछि रास्वपा उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै उनले चितवनवासीले दिएको मत खेर नजाने विश्वास व्यक्त गरेकी छन्। 'आगामी दिनमा जनतामा खुशीयाली ल्याउने र चितवनको थप विकास तथा समृद्धिका लागि काम होस् भन्ने शुभकामना व्यक्त गर्दछु,' दाहालले सन्देशमा भनेकी छन्।
दाहालले १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको उल्लेख गरेकी छन्। निर्वाचनको लहरका बीच पनि आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनले यो विश्वास कहिल्यै नबिर्सने बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोबिता गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दा रेणुले २० हजार ६१५ मत पाएकी छन् ।
प्रकाशित: २३ फाल्गुन २०८२ १४:२६ शनिबार

