सरकारसँग सहमति भएपछि चिकित्सकहरु नियमित काममा फर्किएको एकदिन पनि नहुँदै नर्सिङ अभियन्ता ज्योति रानाभाट अनशनमा बसेकी छन्। नर्सिङ तथा मिडवाइफ्री सेवाको सुधारका लागि १५ बुँदे माग अघि सार्दै उनले बिहीबारदेखि अनिश्चितकालीन अनशन सुरु गरेकी छन्।
नेपाल नर्सिङ काउन्सिलको प्राङ्गणमा सुरु गरिएको अनशनमार्फत उनले नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण, बिरामी सुरक्षाको सुनिश्चितता तथा नीतिगत सुधारमा सरकारले प्रभावकारी पहल नगरेको आरोप लगाएकी छन्। उनले आफ्ना मागबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको ध्यानाकर्षणसमेत गराएकी छन्।
रानाभाटले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, ठेक्का तथा करार प्रणाली अन्त्य गर्ने, पर्याप्त दरबन्दी सिर्जना गर्ने र नर्सिङ शिक्षाको गुणस्तर सुधार गर्ने माग अघि सारेकी छन्। विभेदकारी कानुनी व्यवस्था, न्यून सेवा–सुविधा र सुरक्षित कार्यवातावरणको अभावका कारण दक्ष नर्स तथा मिडवाइफ विदेश पलायन भइरहेकाले त्यसले देशको स्वास्थ्य प्रणालीमा गम्भीर असर परेको उनको भनाइ छ।
उनले सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै नर्स र मिडवाइफलाई सरकारले तोकेअनुसारको सेवा–सुविधा उपलब्ध गराउन, वैज्ञानिक बिरामी–नर्स अनुपातका आधारमा दरबन्दी कायम गर्न तथा नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन यथाशीघ्र निर्माण गर्न माग गरेकी छन्।
त्यस्तै, जोखिमपूर्ण विभागमा कार्यरत स्वास्थ्यकर्मीलाई कम्तीमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन, छात्रवृत्ति तथा उच्च शिक्षा पूरा गरेका नर्सलाई योग्यताअनुसार जिम्मेवारी दिन र प्रसूति सेवामा सम्मानजनक मातृत्व सेवा अनिवार्य रूपमा लागू गर्नुपर्ने माग पनि उनले अघि सारेकी छन्।
रानाभाटले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन अनशनलाई निरन्तरता दिने बताएकी छन्।
प्रकाशित: १४ श्रावण २०८३ १९:२४ बिहीबार





