सप्तरी सदरमुकाम राजविराजमा पनि सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
शुक्रबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्दै सम्भावित आन्दोलन र हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गस्थित जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक तथा दक्षिणतर्फ कोशी पश्चिमी मूल नहरसम्मको चारकिल्ला क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि आवतजावत तथा सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको कर्फ्यु आदेशको उल्लङ्घन गर्ने वा गराउने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
यसअघि बिहीबार राति १० बजेदेखि सप्तरीकै बोदे बरसाइन नगरपालिकाको पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुलदेखि पश्चिमतर्फ पृतमपुर चोक तथा उत्तरतर्फ नेंगडा चोकदेखि दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश पनि यथावत् रहेको प्रशासनले जनाएको छ।
पछिल्ला घटनाक्रमका कारण मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ भने स्थानीय प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, शान्ति कायम राख्न र प्रशासनले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रकाशित: १५ श्रावण २०८३ ०८:३८ शुक्रबार



-600x400.jpg)

