५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

अदालत जलेको होइन जलाइएको हो, यो सबैलाई थाहा छ: प्रधानन्यायाधीश

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कुनै खालका गलत प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । बागलुङ बजारमा उच्च अदालत पोखरा बागलुङ इजलासको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले न्यायिक प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन अवरोध सिर्जना गर्ने कुनै पनि गलत प्रवृत्ति स्वीकार्य नहुने बताए ।  

‘कानुन व्यवसायी र न्यायाधीशको सम्बन्ध नितान्त व्यवसायिक हुनुपर्छ,’ उनले भने, ‘हामीले कठोर तरिकाले आत्म समीक्षा थालेका छौँ । हाम्रो व्यवसायिक सम्बन्धलाई धुमिल पार्ने कुनै पनि ‘रङ एलिमेन्ट टलरेट’ गर्दैनौं ।’

उनले सबैले आफ्नो मर्यादामा बसेर न्यायिक सम्पादन प्रक्रियामा सहयोग गर्नुपर्ने बताए । उनले भदौ २३ र २४ गतेको आन्दोलनमा अदालत जलेको नभइ जलाइएको पनि बताए । ‘अदालत जलेको होइन नियोजित रुपमा जलाइएको छ, यो कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले हामी उठिसकेका छौं । नागरिकको न्याय पाउने अधिकार रक्षा गर्न हामी संघर्ष गरेर अगाडि बढेका छौं ।’ अदालत जलाउँदा सर्वोच्चमा रहेको २२ हजार मिसिल जलेको अहिलेसम्म १४ हजार मिसिल प्राप्त भैसकेको उनले जानकारी दिए ।

‘कानुन व्यवसायीबाट सहयोग लिएर जलेका मिसिल संकलन गर्ने काम गरिरहेका छौं, अहिलेसम्म १४ हजार मिसिल प्राप्त भैसकेको छ,’ उनले भने, ‘देशलाई कानुनबिहीनता र न्याय प्रति अविश्वास जगाउने गरी आगो लगाउने काम भएको हो,’ उनी भन्छन्,‘पाँच हजार जति सरकारी वकिल कार्यालयसँग छ हामी ल्याउँछौं । अब अदालत नियमित काममा फर्किसकेको छ ।’  

आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा क्षति पुगेको समेत उनले बताए । अदालतमा आगलागी भएपछि अब गम्भीर समीक्षाको आवश्यकता देखिएको उनको भनाइ छ। 

प्रकाशित: ९ माघ २०८२ २०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App