पाशुपतक्षेत्र केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, वैदिक परम्परा, गुरुशिष्य संस्कार, संस्कृत शिक्षा र आध्यात्मिक चिन्तनको जीवन्त धरोहर पनि हो। यही पवित्र भूमिमा ब्रह्मलीन सन्तशिरोमणि परमपूजनीय श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको नवौँ निर्वाण-महोत्सव तथा गुरुपूर्णिमाको पावन पूर्वसन्ध्यामा सम्पन्न आध्यात्मिक एवं सांस्कृतिक समारोहले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ-गुरुकुल अब कुनै सीमित भौतिक संस्थामा मात्र सीमित रहने व्यवस्था होइन, प्रत्येक घरलाई संस्कार, साधना र ज्ञानको केन्द्र बनाउने राष्ट्रिय अभियान पनि बन्न सक्छ ।
ऐतिहासिक शङ्कराचार्य मठमा सम्पन्न कार्यक्रम ‘घरघरमा गुरुकुल अभियान’ अन्तर्गत सञ्चालित त्रिशक्ति एकादशी संस्कृति समाजको आयोजनामा तथा महेश संन्यास आश्रमका पीठाधीश वन्दनीय श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सोही अवसरमा त्रिशक्ति एकादशी संस्कृति समाजको वार्षिक साधारण सभासमेत सम्पन्न भयो ।
यस समारोहको सबैभन्दा आकर्षक पक्ष करिब २५० जना शिक्षार्थीहरूको सामूहिक स्तोत्र–पारायण रह्यो । दीर्घकालदेखि अनलाइन तथा प्रत्यक्ष प्रशिक्षण प्राप्त गरिरहेका सहभागीहरूले जगद्गुरु आदि शङ्कराचार्यकृत ‘सौन्दर्यलहरी’ तथा श्रीमद्भागवतको अनुपम भक्तिकाव्य ‘गोपीगीत’ को एकस्वर, अनुशासित र लयबद्ध पाठ प्रस्तुत गरे । पाशुपत क्षेत्रको आध्यात्मिक वातावरणमा गुन्जिएको यस स्तोत्र–ध्वनिले केवल धार्मिक श्रद्धा मात्र अभिव्यक्त गरेन, संस्कृत साहित्य, स्तोत्रपरम्परा र सामूहिक साधनाको सशक्त सांस्कृतिक सन्देश पनि प्रवाह गर्यो ।
घरघरमा गुरुकुल : समयानुकूल शैक्षिक रूपान्तरण
परम्परागत गुरुकुल शिक्षा सदियौँदेखि आश्रमकेन्द्रित रहँदै आएको थियो। तर प्रविधिको विकाससँगै अहिले ज्ञानको पहुँचलाई घर–घर पुर्याउने आवश्यकता बढेको छ । यही आवश्यकतालाई आत्मसात् गर्दै वि.सं. २०७७ सालदेखि सञ्चालनमा आएको ‘घरघरमा गुरुकुल अभियान’ ले अनलाइन माध्यमबाट हजारौँ परिवारमा वैदिक अध्ययन, संस्कृत स्तोत्र, शास्त्रीय संस्कार र आध्यात्मिक जीवनशैलीको अभ्यास गराउँदै आएको छ ।
आजको व्यस्त शहरी जीवन, वैदेशिक रोजगारी र परिवर्तित सामाजिक संरचनाका बीच गुरुकुलीय संस्कारलाई आधुनिक माध्यमबाट पुनर्जीवित गर्ने यो प्रयास समयसापेक्ष र दूरदर्शी मान्न सकिन्छ । यसले गुरुकुलको परम्परालाई प्रविधिसँग जोडेर ज्ञानको लोकतन्त्रीकरणतर्फ एउटा नयाँ आयाम थपेको छ ।
गुरुपरम्पराप्रतिको श्रद्धाञ्जलि
समारोहमा प्रमुख अतिथि स्वामी रमणानन्द गिरिजी महाराजले महेश संस्कृत गुरुकुलद्वारा प्रकाशित अनुसन्धानमूलक ग्रन्थ ‘पाशुपत क्षेत्रका ६४ सिद्धलिङ्ग’को लोकार्पण भयो । लोकार्पणपछि ब्रह्मलीन स्वामी रामानन्द गिरिजी महाराजको प्रेरणा, तपस्या र आध्यात्मिक दृष्टिले नै गुरुकुलका शैक्षिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरू निरन्तर विस्तार भइरहेको उल्लेख गरे । गुरुपूर्णिमाको महत्त्व र गुरुतत्त्वको आध्यात्मिक गाम्भीर्यबारे उनको मन्तव्यले गुरु परम्पराको निरन्तरता नै समाजको नैतिक शक्ति भएको सन्देश दिएको थियो ।
गुरुपरम्परा सनातन सभ्यताको मेरुदण्ड हो । गुरु केवल शिक्षादाता होइनन् ; संस्कारदाता, जीवनमार्गदर्शक र आत्मिक चेतनाका उद्घाटक हुन् । त्यसैले गुरुपूर्णिमा केवल एउटा धार्मिक पर्व नभई ज्ञानप्रतिको कृतज्ञता व्यक्त गर्ने राष्ट्रिय सांस्कृतिक अवसर पनि हो ।

सम्मानबाट प्रेरित विद्वत्परम्परा
कार्यक्रममा सनातन धर्म, दर्शन तथा संस्कृत शिक्षाको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो मार्यो । आध्यात्मिक प्रवक्ता श्री १००८ स्वामी नीलकण्ठानन्द गिरिजी महाराज, न्यायशास्त्रवेत्ता डा. विश्वनाथ धिताल तथा महेश संस्कृत गुरुकुलद्वारा ‘वेदनिधि पुरस्कार-२०८२’ बाट सम्मानित प्रा. विद्यानाथ भट्टलाई अभिनन्दन गरियो ।
यस्ता सम्मान केवल व्यक्तिगत उपलब्धिको कदर मात्र होइनन् ; ज्ञान, अनुसन्धान र आध्यात्मिक साधनाप्रति समाजको सम्मान अभिव्यक्त गर्ने माध्यम पनि हुन् । यसले नयाँ पुस्तालाई शास्त्र अध्ययन, अनुसन्धान र संस्कृतिसेवातर्फ प्रेरित गर्ने महत्त्वपूर्ण भूमिका खेल्दछ ।
मातृशक्ति : संस्कार संरक्षणको पहिलो विद्यालय
समारोहका वक्ताहरूले विशेष रूपमा मातृशक्तिको भूमिकामाथि जोड दिएका थिए । प्राध्यापक भवानीप्रसाद खतिवडाले घरभित्र धार्मिक संस्कार, नैतिक मूल्य र सांस्कृतिक परम्पराको पहिलो शिक्षक आमा नै हुने धारणा व्यक्त गर्दै समाज रूपान्तरणको मूल आधार परिवार भएको उल्लेख गरे । उनले यस्ता अभियानलाई केवल धार्मिक मञ्चमा सीमित नराखी राष्ट्रिय नीतिको विषय बनाउनुपर्ने आवश्यकता औँल्याए ।
घरघरमा गुरुकुल अभियानका सञ्चालक आचार्य कपिलदेव सुवेदीले पनि शिक्षित, संस्कारित र आध्यात्मिक चेतनायुक्त मातृशक्तिले नै परिवार, समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ अग्रसर गराउन सक्ने विचार व्यक्त गरे। वास्तवमा परिवार नै पहिलो गुरुकुल हो र आमा त्यसकी प्रथम गुरु ।
संस्कृत शिक्षा र अनुसन्धानको विस्तार
महेश संस्कृत विद्यापीठका प्राचार्य तथा स्तोत्रप्रशिक्षक आचार्य कमल सुवेदीले आदि शङ्कराचार्यद्वारा रचित स्तोत्रहरूलाई घरघर पुर्याउनु आजको सांस्कृतिक आवश्यकता भएको धारणा राखे । न्यायशास्त्रवेत्ता डा. विश्वनाथ धितालले महेश संस्कृत गुरुकुलमा हाल करिब २०० जना नियमित विद्यार्थी अध्ययनरत रहेको तथा ५०० भन्दा बढी अनलाइन शिक्षार्थीहरू गुरुकुलीय शिक्षासँग आबद्ध रहेको जानकारी दिए । यसले संस्कृत शिक्षा अब सीमित भूगोलमा मात्र नभई डिजिटल माध्यममार्फत विश्वव्यापी हुँदै गएको यथार्थलाई पुष्टि गर्दछ ।
संस्कार र प्रविधिको समन्वय : भविष्यको आवश्यकता
आज विश्वव्यापीकरण र डिजिटल युगका कारण परम्परागत मूल्यहरू चुनौतीमा परिरहेका छन् । यस्तो समयमा प्रविधिलाई संस्कारको विरोधी नभई संस्कारको संवाहक बनाउने सोच अत्यन्त सान्दर्भिक देखिन्छ । ‘घरघरमा गुरुकुल अभियान’ ले यही सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास गरेको छ। अनलाइन अध्ययन, सामूहिक स्तोत्रपारायण, अनुसन्धान प्रकाशन, गुरुपरम्पराको संरक्षण तथा सामाजिक सहभागितालाई एउटै अभियानमा समेट्न सक्नु यसको विशेषता हो ।
पाशुपत क्षेत्रमा सम्पन्न ‘सौन्दर्यलहरी’ र ‘गोपीगीत’ को सामूहिक पाठ केवल धार्मिक अनुष्ठान थिएन ; त्यो सनातन ज्ञान, संस्कृत भाषा, गुरुकुलीय परम्परा र सांस्कृतिक पुनर्जागरणको घोषणापत्र थियो । आजको पुस्तालाई संस्कार, शास्त्र र आध्यात्मिक चेतनासँग पुनः जोड्ने यस्ता अभियानहरू विस्तार हुँदै गएमा नेपालमा गुरुकुलीय परम्पराले नयाँ ऊर्जा प्राप्त गर्ने निश्चित छ ।
ज्ञानको दीप घरघरमा पुग्दा मात्र समाज संस्कारित बन्छ, संस्कारले परिवारलाई जोड्छ र संस्कारित परिवारहरूले नै सभ्य राष्ट्र निर्माण गर्छन् । यही सन्देश बोकेको ‘घरघरमा गुरुकुल अभियान’ वास्तवमै परम्परा र आधुनिकताको सन्तुलित समन्वयको प्रेरणादायी उदाहरण बनेको छ ।
प्रकाशित: १३ श्रावण २०८३ १६:५३ बुधबार





