२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३५ को मृत्यु

अमेरिकी हमलामा मारिएका सैन्य कमान्डर कासिम सुलेमानीको गृहनगर केर्मानमा आयोजित शवयात्रामा सहभागी। तस्बिर : एजेन्सी

तेहरान (बिबिसी) – अमेरिकी ड्रोन हमलामा गत साता मारिएका इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

सुलेमानीको अन्तिम संस्कारका लागि भेला भएका मानिसको मृत्यु भएपछि उनको अन्तिम संस्कार रोकिएको छ। अब उनको अन्तिम संस्कारको नयाँ मिति पछि तोकिने अधिकारीहरुलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले जनाएका छन्।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौं मानिस भेला भएका थिए।
अमेरिकी ड्रोन हमलामा परी गत शुक्रबार इराकको राजधानी बग्दादस्थित विमानस्थलमा इरानी उच्च सैन्य कमान्डर सुलेमानीको मृत्यु भएको थियो। सुलेमानीको हत्यापछि अमेरिका र इरानबीच द्वन्द्व बढ्न सक्ने चिन्ता व्यक्त गरिएका छन्।

दक्षिणपूर्वी इरानस्थित केर्मानमा के कारणले भागदौड मच्चियो भन्नेबारे भने अझै प्रष्ट भइनसकेको इरानी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। मंगलबार बिहानका लागि सुलेमानीको अन्तिम संस्कार गर्ने यसअघि नै तय भएकाले बिहानैदेखि हजारौं मानिस सडकमा भेला भएका थिए।

शोकाकुल मानिसले सुलेमानीको तस्बिर र रातो झन्डा बोकेका थिए। सिया मुस्लिम परम्पराअनुसार रातो झन्डाले प्रतिशोधको संकेत गर्छ।

भागदौडमा ठ्याक्कै कति मारिए भन्ने पुष्टि भने भएको छैन। इरानका एक आपतकालीन अधिकारीले ३२ जनाको मृत्यु भएको बताएका छन् भने अर्का अधिकारीले सो संख्या ४० रहेको बताएका छन्। भागदौडका कारण लगभग दुई सय मानिस घाइते भएको बताइएको छ।

इरानका विभिन्न स्थान हुँदै उनको गृहनगर केर्मानसम्म सुलेमानीको शवयात्रा गरिएको थियो। उनको शवलाई सहिदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ।

विशिष्ट सैन्य बल कुड्स फोर्सका प्रमुख सुलेमानीलाई इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछिको दोस्रो शक्तिशाली व्यक्तिका रूपमा लिइन्थ्यो। आफ्नो देशमा नायकका रूपमा उनलाई चित्रण गर्ने गरिएको भए पनि अमेरिकाले भने उनलाई आतंककारीका रूपमा लिने गथ्र्यो र अमेरिकी फौजका लागि सुलेमानी चुनौतीको भएको उसले बताउने गरेको थियो।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा कदम चाल्दै आएका छन्। उता, तेहरानले पनि अमेरिकी कदमप्रति आफ्नै अभियानमार्फत प्रतिक्रिया जनाउँदै आएको छ।

विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताको विरोधी ट्रम्पले गत वर्ष एकतर्फी रूपमा हात झिक्दै तेहरानविरुद्ध कडा प्रतिबन्ध लागू गरेका थिए। त्यसै समयदेखि दुई देशबीच तनाव बढेको थियो। गत महिना अमेरिकी फौजले इरान समर्थित इराकी मिलिसियामाथि आक्रमण गरेपछि भने झनै दुई देशबीचको तनावमा वृद्धि भयो। इराकस्थित आफ्नो सैन्य शिविरमा सो मिलिसिया समूहले आक्रमण गरी एक अमेरिकी ठेकेदार मारेको भन्दै अमेरिकाले सो आक्रमण गरेको दाबी गरेको थियो।

अमेरिकी आक्रमणमा आफ्ना लडाकुको मृत्यु भएको विरोधमा इरानसमर्थित मिलिसिया र उनीहरुको समर्थकले इराकी राजधानी बग्दादमा प्रदर्शन गरेको थियो। प्रदर्शनकारीले बग्दादस्थित अमेरिकी दूतावासमा समेत आक्रमण गरी क्षति पु-याएपछि आक्रोशित बनेका अमेरिकी राष्ट्रपति ट्रम्प स्वयंले नै सुलेमानीको हत्याका लागि हवाई आक्रमण गर्न निर्देशन दिएका थिए।

बदला लिने चेतावनी
आफ्ना उच्च सैन्य नेताको अमेरिकी हमलामा मृत्यु भएपछि आक्रोशित इरानका उच्च अधिकारीहरुले ‘बदला लिने प्रतिबद्धता’लाई पुनः दोहो-याएका छन्।

‘मृत्युपरन्त पनि सहिद कासिम सुलेमानी शक्तिशाली व्यक्ति हुनुहुन्छ,’ इरानी रिभोलुस्नरी गार्ड्सका उच्च कमान्डर, मेजर जनरल हुसेन सलामीले केर्मानमा सुलेमानीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न भेला भएका भीडलाई सम्बोधन गर्दै बताए।

इरानी इस्लामिक प्रणालीको प्रतिरक्षाका लागि रिभोलुस्नरी गार्ड्सको स्थापना गरिएको थियो। हाल रिभोलुस्नरी गार्ड्स इरानको प्रमुख राजनीतिक र सैन्य फौज हो। त्यसैअन्तर्गत विदेश मामिला र मध्यपूर्व हेर्नका लागि विशिष्ट सैन्य बल कुड्स फोर्स गठन गरिएको थियो, जसलाई अमेरिकी हमलामा मारिएका सुलेमानीले दुई दशकभन्दा लामो समयदेखि नेतृत्व प्रदान गरिरहेका थिए। रिभोलुस्नरी गार्ड्सअन्तर्गतकै संरचना भए पनि कुड्स फोर्सले सिधैं सर्वोच्च नेता खामेनीलाई रिपोर्टिङ गर्ने गर्छ र उनकै प्रत्यक्ष आदेशमा सो समूह चल्ने गर्छ।

श्रद्धाञ्जली अर्पण गर्न भेला भएका इरानी नागरिकले अमेरिका र राष्ट्रपति ट्रम्पविरुद्ध नारासमेत लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ। इरानका सर्वोच्च नेता खामेनीले सोमबार राजधानी तेहरानमा उच्च सैन्य कमान्डर सुलेमानीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘इराकबाट अमेरिकी सेना फिर्ता हुन्न’
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने विषयलाई अमेरिकी रक्षामन्त्री मार्क एस्परले अस्वीकार गरेका छन्। एक अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपछि पेन्टागन प्रमुख एस्परले अहिले फौज फिर्ता गर्ने बेला नभएको बताएका छन्।

अमेरिकी सैन्य जनरलले लेखेको सो पत्रमा अमेरिकाले आगामी दिनमा फौजलाई स्थानान्तरण गर्ने विषय उल्लेख गरिएको बताइएको छ।

इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी संकल्प प्रस्ताव पारित गरेपछि ती जनरलले यस्तो पत्र लेखेका थिए। अमेरिकी रक्षामन्त्री एस्परले उक्त पत्रसँग अहिले अमेरिकाले लिइरहेको अडान नमिल्ने बताएका छन्।

अमेरिकी ड्रोन हमलामा इरानी सैन्य जनरल कासिम सुलेमानीको मारिएपछि अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्यौल सिर्जना भएको छ।

इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताइसकेका छन् भने अमेरिकी राष्ट्रपति ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरे इराकमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिइसकेका छन्।

प्रकाशित: २३ पुस २०७६ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App