८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘१६ जनाको हत्या’ गरेर दक्षिण कोरिया भागे दुई उत्तर कोरियाली माझी

माछा मार्न प्रयोग हुने उत्तर कोरियाली डुंगा। फाइल तस्बिर : एजेन्सी

सोल (बिबिसी)– माछा मार्ने डुंगामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशंका गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीलाई जिम्मा लगाएको छ।

उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिबार प्रवेश गरेपछि उनीहरुलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो। उत्तरबाट भागेर आफ्नो देशमा आएका मानिसलाई प्रायः दक्षिण कोरियाले शरण दिने गरेको छ। तर ती दुई पुरुषबाट आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै यो घटनामा भने उसले त्यसो गरेन।

उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधीका रूपमा लियो र त्यसैअनुरुप व्यवहार गर्दै प्योङयाङको जिम्मा लगायो।

माछा मार्न प्रयोग हुने डुंगामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरु पक्राउ परेको सोलले बताएको छ। दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार अर्का एकजना व्यक्तिसँग मिलेर उनीहरुले डुंगाका प्रमुख चालकलाई अक्टोबर महिनामा मारेको स्वीकार गरेका छन्। डुंगाका प्रमुख चालकले आफूहरुसँग नराम्रो व्यवहार गरेकाले उनको हत्या गरेको भन्ने भनाइ उनीहरुको रहेको दक्षिण कोरियाली अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। त्यसअपछि प्रमुख चालकको हत्याको विरोध गर्ने अन्य १५ कर्मचारीलाई पनि उनीहरुले मारिदिएका थिए। उनीहरुले १६ वटै शवलाई समुद्रमा फालिदिएको पनि बताएका छन्।

सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध रोकिए यता ३० हजारभन्दा बढी उत्तर कोरियाली नागरिक गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन्।

१६ जनाको हत्या गरिसकेपछि सुरुमा तीनैजना हत्याराहरु उत्तर कोरिया फर्किएका थिए। तर एक जनालाई प्रहरीले सामुद्रिक बन्दरगाहमा नै पक्राउ गरेपछि बाँकी दुईजना भने सोही डुंगामै बसेर दक्षिण कोरियातिर भागेको बताइएको छ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका ती दुई उत्तर कोरियाली नागरिकले व्यक्त गरेको कारणमा विश्वास गर्न नसकेको र ती ‘अपराधी’ लाई सोलमा बस्ने अनुमति नदिएको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ। आफ्नै सहकर्मीको हत्यामा संलग्न ती संदिग्धहरु करिब २० वर्ष उमेरको रहेको बताइएको छ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकालाई पहिलो पटक उतै पठाइएको छ। ती संदिग्धलाई सीमावर्ती पान्मुन्जोम गाउँनजिकै दुई देशबीच रहेको असैनिकीकृत क्षेत्रमा हस्तान्तरण गरिएको थियो। दुई उत्तर कोरियालीलाई दक्षिणले प्योङयाङसमक्ष हस्तान्तरण गरे पनि यी दुई देशबीच हालसम्म सुपुर्दगीसम्बन्धी कुनै सहमति भने भएको छैन।

दक्षिणले पान्मुन्जोमबाट पहिलो पटक उत्तर कोरियाली नागरिकलाई फिर्ता पठाएको हो। उत्तर कोरियामा कठोर तानाशाही कम्युनिस्ट शासन भएकाले उत्तर कोरियाबाट मानिस दक्षिणतिर भागेर जाने गरेका छन्। केही उत्तर कोरियाली सैनिक पनि त्यसरी भागेर दक्षिण कोरिया पुग्ने  गरेका छन्। त्यसो गर्दा उनीहरूले आफ्नो ज्यानको बाजी राख्नुपर्ने हुन्छ।

सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध रोकिए यता ३० हजारभन्दा बढी उत्तर कोरियाली नागरिक गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन्।

दक्षिण कोरियाली तथ्यांकअनुसार पछिल्ला वर्षमा भने उत्तर कोरियाली भगौडाहरुको संख्यामा केही कमी आएको छ। सन् २०११ मा दुई हजार सात सय ६ जना भागेर दक्षिण कोरिया प्रवेश गरेकोमा सन् २०१७ मा यो संख्या घटेर एक हजार एक सय २७ रहेको थियो। केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरु हिँडेरै सीमा काट्ने गरेका छन्।

अधिकांश भगौडा चीन हुँदै दक्षिण कोरिया पुग्ने गरेका छन्। उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएको छ। कडा सुरक्षा भएको दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रबाट भाग्नुभन्दा त्यसरी जानु सहज मान्ने गरिएको छ। चीनले उत्तर कोरियाली भगौडालाई गैरकानुनी आप्रवासीको रूपमा लिने गरेको छ र प्रायः उनीहरुकै देश फर्काइदिन्छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App