७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भेनेजुएलाको विषयमा अमेरिकी प्रशासन विभाजित

राजधानी कराकसमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा सरकारी फौजले प्रहार गरेको अश्रुग्यास बोकेर दौडिँदै विपक्षी समर्थक। तस्बिर: एजेन्सी

वासिङ्टन – भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले गर्ने भनिएको सैनिक हस्तक्षेपलाई लिएर अमेरिकी अधिरकारीको मत विभाजन भएको छ। विशेष सोत्रलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएअनुसार भेनेजुएलामा सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन।

केही अधिकारीले भेनेजुएलाको समस्या समाधानका लागि राजनीतिक उपायमा जोड दिएका छन् भने कतिपय अधिकारी भने विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा राखेका छन्। बुधबारका अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको भन्दै विभिन्न समाचर टिप्पणी आएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उनका एकजना पूर्व सहयोगीले बताएका छन्। उता, विदेशमन्त्री माइक पोम्पेओले अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउने गरेका छन्। उनले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्ण रूपमा नै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताएका छन्। यद्यपि पोम्पेओले भेनेजुएलामा सैन्य कारबाहीलाई पनि नकारेका छैनन्। ‘यो संकटको समाधान शान्तिपूर्ण रूपमा नै निस्कियोस् भन्ने चाहना त धेरैको छ नै तर पनि यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव छैन,’ पोम्पेओको भनाइ उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रले भेनुजुएलाका विपक्षी नेता उवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए। पश्चिमा राष्ट्रहरुको गुआइडोलाई समर्थन गर्नेबारेको अकस्मात निर्णय आएपछि भेनेजुएलाको राजनीतिक संकट झनै गहिरिँदै गएको थियो। त्यसयता भेनेजुएलाको राजनीति जटिल बन्दै गएको छ। विपक्षी नेता गुआइडोले राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउनुपर्ने माग राख्दै आन्दोलन थालेका छन्।

हालैमात्र विपक्षी नेता गुआइडोले मादुरो सत्ताबाट नहटुन्जेल शृंखलाबद्ध रूपमा आम हड्तालको आह्वान गरेका छन्।
सुुरुमा विपक्षी नेता गुआइडोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उनले सरकारविरुद्धमा आमहड्ताल थालेका हुन्। उक्त सैन्य विद्रोह विफल भएपछि राजधानीमा भेला भएका हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हड्तालमा सामेल हुने बताएका थिए।

भेनेजुएलामा यस साता थप प्रदर्शन चर्किएको छ। विपक्षीले सडकमा प्रदर्शन जारी राखेका छन् र राष्ट्रपति निकोलस मादुरो पदबाट नहटेसम्म यो आन्दोलन जारी रहने बताएका छन्। यस विषयमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन तर भेनेजुएलामा सैनिक हस्तक्षेपका लागि आफूले कुनै तयारी भने नथालेको उसले बताएको छ।  
वर्तमान राष्ट्रपति मादुरो र विपक्षी नेता गुआइडोले दुवैले आफूले आफैंलाई भेनेजुएलाको संवैधानिक राष्ट्रपति भएको दाबी गर्दै आइरहेका छन्।

गुआइडोले राजनीतिक विद्रोहमार्फत आफूलाई नै अन्तरिम राष्ट्र प्रमुखका रूपमा स्वघोषणा गरेका थिए तर त्यसलाई सरकारले मान्यता दिएको छैन। त्यसपछि गुआइडोका विरुद्धमा सरकारले कारबाही थालेको छ। हाल भेनेजुएलाको सरकारले विपक्षी नेता गुआइडोको सम्पत्ति रोक्का गरेको छ र देश छाड्नसमेत प्रतिबन्ध लगाएको छ।

सरकारको त्यस्तो घोषणाको उल्लङ्घन गर्न र मादुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन गुवाइडोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरेका थिए। उनलाई सरकारले पक्राउ गर्ने भनेको भए पनि त्यसै त्रासकैबीच गत मार्च महिनामा उनी स्वदेश फर्किएका थिए।

गुआइडोले आफू स्वदेश फर्किने बताएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उनको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका थिए। उनले गुआइडोलाई असुरक्षाको महसुस हुन दिन नहुने भन्दै मादुरो प्रशासनलाई सचेतसमेत गराएका थिए।
केही वर्षयतादेखि भेनेजुएलाले चरम आर्थिक संकट खेपिरहेको छ। आर्थिक समस्याबाट गुज्रिएको भेनेजुएलामा केही महिनायता आएर राजनीतिक संकट पनि थपिएको छ।

विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्राध्यक्ष बनेको स्वघोषणालाई अमेरिका, बेलायत तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित विश्वका करिब ५० राष्ट्रले समर्थन गरेका छन्। त्यसैगरी वर्तमान राष्ट्रपति मादुरोलाई पनि रुस, मेक्सिको, टर्की र चीनलगायतका राष्ट्रको समर्थन छ। वर्तमान राष्ट्रपति मादुरोलार्ई देशभित्रैका वरिष्ठ सैनिक अधिकारीको पनि समर्थन रहेको छ।

एकको मृत्यु, दर्जनौं घाइते
भेनेजुएलाको राजधानी कराकसमा बुधबार सरकार समर्थक फौज र विपक्षी समर्थकबीच भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
विपक्षीको प्रदर्शनमा सरकारी फौजले अश्रुग्यास र पानीको फोहोरासमेत प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ।
सरकारी फौजको गोली लागि मृत्यु भएकी २७ वर्षीय महिलाको मृत्युका पछाडि सरकार जिम्मेवार रहेको विपक्षी नेता उवान गुआइडोले बताएका छन्।

प्रकाशित: २० वैशाख २०७६ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App