१४ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किम र मुन शिखर बैठक असोजमा

सिओल- दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेष दूतले बताएका छन्। 

उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मूनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमतिहरु हुनेक्रममा रहेको जानकारी दिए। 

राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गरेका थिए। उनका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हून पनि सहभागी थिए।

मुन र कीमबीचको यो तेस्रो शिखर बैठक हुनेछ। यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए। 

चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर–कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने बताए। “दुबै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपायहरुको खोजीका विषयमा छलफल हुनेछ। साथै, बैठकमा कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण सहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गरिनेछ।” 

उत्तर कोरियाली नेताले आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई पुनः दोहो-याएकाे र त्यसका निम्ति संयुक्तराज्य अमेरिकासँग मिलेर काम गर्न उत्सुक रहेकाे चुङले जानकारी दिए। 

“अध्यक्ष कीम जोङ–उनले कोरियाली द्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण गर्न पुनः प्रतिबद्धता व्यक्त गर्नुभएको छ, र त्यसका निम्ति दक्षिण कोरियामात्र नभइ अमेरिकासँग समेत मिलेर काम गर्ने इच्छा जाहेर गर्नुभयो,” दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार जोङले बताए। 

दक्षिण कोरियाली प्रतिनिधिमण्डलले तेस्रो शिखर बैठकको मिति तय गर्ने मात्र उद्देश्य राखेको थिएन, यसले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच आणविक निःशस्त्रीकरणका विषयमा देखिएका कठिनाइलाई फुकाउने पनि उद्देश्य राखेको थियो। 

उत्तर कोरियाबाट आणविक निःशस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धता बमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निर्धारित उत्तर कोरिया भ्रमण केही दिनअघि रद्द गरेका थिए। 

तर उत्तर कोरियाली नेता किमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषणप्रति असहमति प्रकट गरे। नेता किमको भनाइ उद्धृत गर्दै चुङले भने, “उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका बारेमा गरेका कार्यहरु अर्थपूर्ण र महत्वपूर्ण रहेका छन्।” 

किमले पुन्ग्ये–री को आणविक परीक्षणस्थल ध्वस्त बनाइसकेको र आफूसँग अरु थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट गरेका थिए। नेता किमले भने, “अन्तर्राष्ट्रिय समुदायले आफ्ना कार्यहरुको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दुःख लागेको छ।” 

उनले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गरे। “नेता कीमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आशामा कुनै परिवर्तन भएको छैन भन्नुभयो,” चुङले भने। 

सन् १९५०–५३ मा भिषण युद्ध लडेका दुई कोरिया प्राविधिक रुपमा अझै पनि युद्धकै स्थितिमा छन्। दुई कोरियाबीच हतियार बिसाउने (युद्धबिराम) सम्झौता भएको छ, तर शान्ति सन्धि भएको छैन। 

मुन र किमले औपचारिक रुपमै यस वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाएका छन्। यस्तो घोषणाप्रति अमेरिकीहरुको धारणा केही फरक छ किनभने युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ हजारौं अमेरिकी सेनालाई फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ। 

प्रकाशित: २१ भाद्र २०७५ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App