२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

उपत्यका ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ।

लायन्स क्लब अफ काठमाडौं थलीले खरिद गरेको उक्त म्याजिक लाइट आज जिल्ला प्रशासन कार्यालयमा आयोजित विशेष कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पौडेलले लायन्स क्लब अफ काठमाडौं थलीको सहयोगको सराहना गर्दै म्याजिक लाइटले काठमाडौंमा रातको समयमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने विश्वास व्यक्त गरे। उनले रातको समयमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ हुने, ट्राफिक नदेख्दा ठक्कर लाग्ने अवस्था आउने गरेको उल्लेख गर्दै म्याजिक लाइटको प्रयोगले यस्तो समस्या केही हदसम्म कम हुने बताए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालय र यसको संरचनामा भएको क्षतिको बारेमा जानकारी दिए। उनले पाँच मिनेटका लागि पनि ट्राफिकविहीन चोकको अवस्था कस्तो हुन्छ भन्ने सबैले अनुमान गर्न सक्ने उल्लेख गरे। यस्तो अवस्थाले सवारी सञ्चालन मात्र नभई सार्वजनिक जीवनमै ठूलो प्रभाव पार्ने भन्दै म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थप्ने विश्वास व्यक्त गरे।

उनले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका विभिन्न भवन, उपकरण तथा ट्राफिक प्रहरीका पोसाकमा आगजनी भई व्यापक क्षति पुगेको भन्दै दुःख व्यक्त गरे। आगजनीका कारण ट्राफिक व्यवस्थापनमा ठूलो समस्या आएको र हाल नागरिकस्तरबाट पुनर्निर्माणका प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए।

लायन्स क्लब अफ काठमाडौं थलीका अध्यक्ष रुपक सिमखडाले म्याजिक लाइट सहयोगको उद्देश्य र महत्व स्पष्ट पार्दै समाज सुधार र सहकार्यका लागि यस्ता सहयोग निरन्तर रहने बताए। उनले ट्राफिक व्यवस्थापन सुधारका लागि गरिएको यो पहलसँगै भविष्यमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।

प्रकाशित: १४ पुस २०८२ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App