३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

हामीले काम गरेर देखाउनैपर्छ: रञ्जु

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं-१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना न्यौपानेले जनताको भावनाअनुसार आफूले काम गरेरै देखाउनुपर्ने बताएकी छन्।

उनले यो जित आफूहरूका लागि खुसीसँगै चुनौती पनि रहेको सुनाइन्।

आज निर्वाचित भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दर्शनाले भनिन्, ‘३०/३५ वर्षदेखि बारम्बार धोका दिएकाहरूको ढोकै बन्द गरिदिन्छौं भन्ने नेपाली जनताले भोट दिनुभएको छ। हाम्रो लागि सुखद र चुनौती छ। हामीले गरेर देखाउनैपर्छ।’

उनले काठमाडौं क्षेत्र नम्बर-१ का मतदातालाई धन्यवाद दिँदै अहिले देखिएको जनमत वैकल्पिक र विवेकशील राजनीतिको जित भएको प्रतिक्रिया पनि दिइन्। यसलाई पार्टीले विशेष रुपमा लिएको पनि उनले सुनाइन्।

उनले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन्। आजै उनलाई मुख्य निर्वाचन अधिकृतले विजयीको प्रमाणपत्र प्रदान गरिसकेको छ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएकी हुन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App