१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

आफ्नै प्रशंसकबाट किन त्रसित बन्दैछन् दक्षिण भारतीय कलाकार

आइतबार राति दक्षिण भारतीय अभिनेता विजय थलापति मलेसियाबाट चेन्नई फर्किने क्रममा विमानस्थलमा आफ्नै प्रशंसकको ठूलो भीडले घेरेपछि चिप्लिएर लडे ।  

दुर्घटनापछि सुरक्षाकर्मीले उनलाई उठाएर कारमा राखेका थिए। विजय आफ्नो अन्तिम चलचित्र ‘जननायकन’ को अडियो लन्चका लागि मलेसिया गएका थिए र फर्किने क्रममा यो घटना भएको हो। दुर्घटनामा उनलाई कुनै चोटपटक नलागेको बताइएको छ।

यस्ता घटना दक्षिण भारतीय कलाकारका लागि नयाँ भने होइनन्। यस्ता घटनाहरू पटक–पटक दोहोरिँदै आएका छन्। केही दिनअघि मात्र डिसेम्बर १७ बुधबार हैदराबादमा अभिनेत्री निधि अग्रवालसँग पनि यस्तै घटना भएको थियो।  

उनी प्रभासको आगामी चलचित्र ‘द राजा साब’ को एक गीत विमोचन कार्यक्रममा सहभागी हुन पुगेकी थिइन्। उनलाई एक झलक हेर्न ठूलो दर्शक भीड जम्मा भएपछि अवस्था असहज बनेको थियो। घटनाका क्रममा अभिनेत्री त्रसित देखिएकी थिइन् र सुरक्षाकर्मीले उनलाई मुस्किलले कारसम्म पुर्‍याएका थिए।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा विभिन्न प्रतिक्रिया आएका थिए। तीमध्ये अभिनेता शिवाजीले अभिनेत्रीको छोटो कपडाका कारण यस्तो अवस्था आएको अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए।

त्यसको केही दिनपछि अभिनेत्री सामन्था रुथ प्रभु पनि हैदराबादको एक पसल उद्घाटन कार्यक्रममा सहभागी हुन गएकी थिइन्। त्यहाँबाट फर्किने क्रममा ठूलो भीडले घेरेपछि उनी भिडियोमा असहज देखिएकी थिइन्। उनलाई भीडबाट निकाल्न प्रहरी र सुरक्षाकर्मीको सहयोग लिनुपरेको थियो।

सम्बन्ध विच्छेद भएको करिब पाँच वर्षपछि अभिनेत्री सामन्था रुथ प्रभुले डिसेम्बर १ मा निर्देशक राज निदिमोरुसँग विवाह गरेकी छन्।

प्रसंसकको साथले दिने संकेत

दक्षिण भारतीय फिल्म उद्योगका कलाकारप्रति देखिने क्रेज पछिल्ला वर्षहरूमा असाधारण स्तरमा पुगेको छ। विजय थलापति, प्रभास, सामन्था रुथ प्रभु वा निधि अग्रवालका प्रतिनिधि उदाहरणमात्र हुन । दक्षिण भारतीय फिल्मका अधिकांश कलाकार जहाँ पुग्छन्, त्यहाँ भीड स्वतः जम्मा हुन्छ। यो लोकप्रियता कलाकारको सफलताको सूचक भए पनि पछिल्ला घटनाहरूले यो क्रेज माया र समर्थनको सीमाभन्दा बाहिर पुग्दै जोखिममा रूपान्तरण भइरहेको संकेत गर्छन्।

प्रशंसकको उत्साह स्वाभाविक हो। मनपर्ने कलाकारलाई नजिकबाट हेर्ने, फोटो खिच्ने वा एक झलक पाउने चाहना अस्वाभाविक होइन। तर जब यही चाहना अनुशासनहीन भीडमा बदलिन्छ, त्यसले कलाकारको व्यक्तिगत सुरक्षामात्र होइन, सार्वजनिक व्यवस्थामाथि पनि प्रश्न उठाउँछ। विमानस्थल, कार्यक्रम स्थल वा सार्वजनिक समारोहमा कलाकार चिप्लिनु, त्रसित देखिनु वा सुरक्षाकर्मीको सहारामा बाहिरिनुपर्ने अवस्था बन्नु सामान्य होइन।

यस्ता घटनाले एउटा गम्भीर बहस जन्माउँछ, के हामी कलाकारलाई व्यक्ति होइन, केवल ‘सेलेब्रिटी वस्तु’ का रूपमा हेर्न थालेका छौं? कलाकार पनि आम नागरिकझैं सुरक्षित वातावरणमा हिँडडुल गर्न पाउने हकदार हुन्। क्रेजको नाममा सीमाहीन व्यवहार हुनु प्रशंसक संस्कृतिको विकृति हो।

यसमा केवल प्रशंसक मात्र होइन, आयोजक, सुरक्षापक्ष र स्वयं कलाकार व्यवस्थापन टिमको पनि भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। कार्यक्रम व्यवस्थापनमा पूर्वतयारी, भीड नियन्त्रण र स्पष्ट मापदण्ड नहुँदा यस्ता घटना दोहोरिरहन्छन्। साथै, सामाजिक सञ्जालमा भाइरल हुने ‘भीडको रोमाञ्च’ ले पनि यस्ता व्यवहारलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गरिरहेको देखिन्छ।

दक्षिण भारतीय कलाकारप्रतिको क्रेज निश्चय नै सिनेमा उद्योगको शक्ति हो। तर यो शक्ति अनुशासन, जिम्मेवारी र मानवीय मर्यादासँग जोडिएन भने, त्यो क्रेज प्रशंसाको सट्टा डर र जोखिमको कारण बन्न सक्छ। कलाकारप्रतिको साँचो माया भनेको उनीहरूको सुरक्षाको ख्याल राख्नु र सम्मानजनक दूरी कायम गर्नु हो, भीड होइन, विवेक नै साँचो प्रशंसकको परिचय हो।

प्रकाशित: १४ पुस २०८२ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App