तनहुँको बन्दीपुर गाउँपालिका–४ रिपका किसान गणेश गुरुङले यस वर्ष करिब २५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै छन्। अघिल्लो वर्ष उनले सुन्तला बिक्रीबाट २२ लाख रुपैयाँ आम्दानी गरेका थिए।
यसअघि ठेक्कामा सुन्तला बिक्री गर्दै आएका गुरुङले यस वर्ष भने अरूलाई नदिई आफैं बिक्री गरिरहेका छन्। हालसम्म १० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको र बगैँचामा अझै कम्तीमा १५ लाख रुपैयाँ बराबरको सुन्तला बाँकी रहेको उनले बताए। ‘यसपालि २० लाख ३६ हजार रुपैयाँमा बगैँचाको सबै सुन्तला किन्ने गरी ठेक्का लिन व्यापारी आएका थिए, तर मैले दिएनँ,’ उनले भने, ‘ठेक्कामा दिनुभन्दा आफैं बेच्दा राम्रो आम्दानी हुने ठानेर नदिने निर्णय गरें।’
विसं २०५७ मा करिब २२ रोपनी जग्गा लिएर २०५८ सालमा करिब एक हजार बिरुवा रोपी सुन्तलाखेती सुरु गरेका गुरुङको बगैँचामा हाल तीन हजारभन्दा बढी सुन्तलाका बोट छन्। बगैँचाबाट वर्षभरि दैनिक तीन जनाले नियमित रोजगारी पाउने गरेका छन् भने सुन्तला टिप्ने र बोक्ने याममा छ–सात जनाले काम पाउने गरेका छन्।
अन्य खेतीपाती नहुने भिरालो र चिसो जमिनमा लगाइएको सुन्तलाबाट बर्सेनि राम्रो आम्दानी हुने गरेको गुरुङले बताए। उनका अनुसार उत्पादन भएका सुन्तला बन्दीपुर बजारसँगै डुम्रे, दमौली, पोखरा र चितवनका बजारमा बिक्री हुने गरेका छन्।
बन्दीपुर क्षेत्रका सुन्तला किसानका अनुसार वर्षमा १० लाख रुपैयाँ कमाउन गाउँबाहिर जानु पर्दैन। गाउँघरकै भिरपाखामा सुन्तला खेती गरे १०–१५ लाख रुपैयाँ आम्दानी गर्न गाह्रो नपर्ने उनीहरूको भनाइ छ। ‘बन्दीपुरका सुन्तला भनेपछि एउटा ब्रान्डकै रूपमा चिनिन्छ,’ किसान कृष्णबहादुर गुरुङले भने, ‘बीचमा रोग लागेर समस्या आयो, तर पनि हामीले सुन्तलाखेती जोगाएका छौं र घरमै बसेर राम्रो आम्दानी गर्न सफल भएका छौं।’
स्थानीय किसानका अनुसार बिरुवा रोपेको करिब तीन वर्षपछि नै सुन्तलाको उत्पादन सुरु हुन्छ। बालबच्चाको जस्तै माया र हेरचाह गर्नुपर्ने भए पनि कीरा, जीवाणु, ढुसीजन्य रोग र जरा कुहिने समस्याबाट जोगाउनु भने सजिलो छैन। नियमित रूपमा बगैँचामा काम र हेरचाह गरे सुन्तलाले राम्रो आम्दानी दिने किसानहरूको अनुभव छ।
स्थानीय बन्दीपुर गाउँपालिकाले किसानको मागअनुसार सुन्तलाका बिरुवा, आवश्यक औषधि र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएकोमा किसानहरू सन्तुष्ट देखिन्छन्। भारतीय पूर्वसैनिकसमेत रहेका किसान गणेश गुरुङले दुई छाक खान पुग्ने अवस्था भएकाले कमाइको केही हिस्सा सामाजिक काममा लगाउँदै आएको बताए। उनले गाउँ तथा देशबाहिर जान चाहने युवालाई गाउँमै बसेर काम गर्न र मातृभूमिलाई माया गर्न आग्रह गरे।
गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत भाइरसको निदान गर्दै सुन्तलाखेती जोगाउने प्रयास थालेको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। बन्दीपुर–३ को रामकोट र तामुङडाँडा, वडा नं. ५ का झारगाउँ र फलामडाँडा तथा वडा नं. ६ का काफलस्वाँरा, लखनबारी, घमलछाप र आँङटारीलगायत क्षेत्र सुन्तला पकेट क्षेत्रका रूपमा विकास गरिएको छ।
मध्यपहाडी क्षेत्रमा पर्ने भएकाले बन्दीपुर आसपासका भूभाग सुन्तला उत्पादनका लागि अनुकूल मानिन्छ। यस क्षेत्रका अधिकांश किसानले प्रतिवर्ष करिब १० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्ने गरेका छन्।
गाउँपालिकाले व्यावसायिक रूपमा सुन्तलाखेती गर्ने कृषकलाई अनुदान र आवश्यक सहयोग दिन थालेपछि कृषकहरू यसतर्फ आकर्षित भएको अध्यक्ष थापाको भनाइ छ। उच्च गुणस्तर र स्वादिलो सुन्तलाका लागि परिचित बन्दीपुरका किसानको माग सम्बोधन गर्न पालिका प्रतिबद्ध रहेको उनले बताए।
गाउँपालिकाको सक्रिय सहयोग र विशेष चासोका कारण पछिल्ला वर्षहरूमा बन्दीपुर क्षेत्रमा सुन्तला उत्पादन बढेको, आधुनिक तरिकाबाट गोडमेल र हेरचाह हुन थालेको तथा उत्पादकत्व र गुणस्तर वृद्धि भएसँगै बजार पहुँच विस्तार भएको देखिएको छ।
प्रकाशित: १४ पुस २०८२ १४:३७ सोमबार





