दक्षिण अमेरिकी देश सुरिनामले पहिलो महिला राष्ट्रपति पाएको छ। संसद्ले आइतबार जेनिफर साइमन्सलाई पहिलो महिला राष्ट्रपतिका रूपमा समर्थन गरेको हो।
गत मे २५ मा भएको संसदीय चुनावमा साइमन्सको विपक्षी राष्ट्रिय प्रजातान्त्रिक पार्टीले १८ सिट जितेको थियो भने वर्तमान राष्ट्रपति चान सन्तोखीको प्रोग्रेसिभ रिफर्म पार्टीले १७ सिट जितेको थियो। बाँकी १६ सिट साना दलहरूले जितेका थिए। चुनावपछि सांसदहरूले राष्ट्रपतिको लागि मतदान गरेका थिए। साइमन्सले साना दलको साथ पाएर ५१ सदस्यीय संसद्मा ३४ सांसदहरूको समर्थन प्राप्त गरिन्, जुन दुई तिहाइ हो।
‘म यो कार्यालयमा सेवा गर्न आएकी हुँ, र म मेरो सबै ज्ञान, शक्ति र अन्तर्दृष्टि प्रयोग गरेर हाम्रो सम्पत्ति हाम्रा सबै जनतालाई उपलब्ध गराउनेछु,’ सांसदहरूले ताली बजाएर उनको नियुक्तिलाई अनुमोदन गरेपछि ७१ वर्षीया सिमोन्सले छोटो भाषणमा भनिन्।
उनले युवा र अहिलेसम्म उत्कृष्ट अवसरहरू नपाएकाहरूलाई विशेष ध्यान दिने वाचा गरेकी छिन्।
‘मलाई अहिले हाम्रो काँधमा आएको जिम्मेवारीबारे धेरै थाहा छ, यो जिम्मेवारी म यो पद सम्हाल्ने पहिलो महिला भएकोले थपिएको छ,’ उनले थपिन्, ‘मलाई धेरै शब्दहरू चाहिँदैन। मेरो धन्यवाद र हामी काममा लाग्नेछौँ।’
६६ वर्षीय पूर्व प्रहरी आयुक्त, वर्तमान राष्ट्रपति चान सन्तोखी, जसले पुन: चुनावमा उम्मेदवारी दिएका थिए, समाजका गरिब र बढी जोखिममा रहेका क्षेत्रहरूको लागि सुरक्षा प्रदान गर्न नसकेको भन्दै आलोचनाको सामना गर्नुपरेको थियो। एजेन्सी
प्रकाशित: २३ असार २०८२ ०९:५८ सोमबार





