इजरायलसँगको युद्ध सुरु भएसँगै गोप्य बंकरमा लुकेका इरानका सर्वोच्च नेता आयतुल्लाह खामेनी युद्ध विरामपछि पनि सम्पर्कमा नरहेको समाचार बाहिरिएका छन्।
युद्ध विरामपछि खामेनीसँग कुनै सम्पर्क हुन नसकेको बिबिसी फारसीले जनाएको छ। खामेनीसँग इरानकै शीर्ष सरकारी अधिकारीको पनि सम्पर्क हुन नसकिरहेको समाचारमा उल्लेख छ।
इजरायलसँग युद्ध सुरु भएसँगै मारिने डरले सावधानीका लागि खामेनी गोप्य बंकरमा लुकेका थिए। उनी त्यसरी बंकरमा लुकेको दुई साता नाघिसकेको छ। गोप्य बंकरमा बस्दा सावधानीका लागि उनीसँग कुनै सञ्चार सामग्री पनि नरहेको बताइएको छ।
इजरायलले सञ्चार सेट, सम्पर्क व्यक्तिसमेतलाई ‘लोकेट’ गरेर धमाधम परमाणु वैज्ञानिक र सैन्य अधिकारीको हत्या गरेपछि इरानका सुरक्षा निकायले आफ्ना नेता तथा अधिकारीलाई त्यस्ता सामग्री नचलाउन र त्यसबाट टाढा रहन चेतावनी दिएका थिए।
युद्ध सुरु भएसँगै इजरायलले इरानको सत्ता परिवर्तनका लागि खामेनीको हत्या गर्न सक्ने आशङ्का गरिएको थियो। यही कारण उनी अझ बढी सावधानीपूर्वक बस्न थालेका थिए। उनले आफू मारिए आफ्नो उत्तराधिकारी तोकिसकेका छन्। सार्वजनिक सञ्चार र सम्पर्कबाट टाढा रहेकै कारण खामेनीले युद्ध विरामबारे जानकारी नपाएको हुनसक्ने पनि आशङ्का गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको हत्या नगर्न इजरायललाई सुझाव दिएका थिए। जसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खामेनीको हत्या गर्ने मनसाय नरहेको प्रतिक्रिया दिएका थिए।
यद्यपि युद्ध विरामपछि पनि इरानी अधिकारीले खामेनीले सतर्क नै रहनुपर्ने सुझाव दिइरहेका छन्। खामेनी हालसम्म सम्पर्कमा नआउनुको अर्को कारण यसलाई पनि हेरिएको छ।
प्रकाशित: १२ असार २०८२ १६:१९ बिहीबार





