पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेको बादलको मोटाई घट्दा सूर्यको प्रकाश अन्तरिक्षतर्फ परावर्तन हुन नसकेको र यसले पृथ्वीको तापमान बढाएको एक अध्ययनले देखाएको छ ।
नासा र अस्ट्रेलियाका २ विश्वविद्यालयले संयुक्तरुपमा गरेको उक्त अध्ययनका अनुसार सूर्यको उर्जालाई अन्तरिक्षमा फर्काउन मुख्य भूमिका खेल्ने यो बादल बिगत २४ वर्षयता संकुचित हुँदै आएको छ । सन् २०२३ र २०२४ मा विश्वव्यापी तापक्रममा अयाएको तीव्र वृद्धिका लागि यो प्रमुख कारण भएको हुन सक्ने वैज्ञानिक आकलन छ । यी दुवै वर्षमा भएको तापक्रम बढोत्तरीले वैज्ञानिकलाई अचम्मित पारेको थियो ।
अध्ययनको क्रममा नासा र अष्ट्रेलियका दुई विश्वविद्यालयका वैज्ञानिकहरूले बादलको बाक्लोपना र सूर्यको तातोपनालाई पृथ्वीले धारण गर्ने क्षमता सम्बधी भूगर्वीय तथ्यांकको विश्लेषण गरेका थिए । अध्ययनले विगत २४ वर्षयताका हरेक दशकमा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म बादलको क्षेत्र घटेको पत्ता लगाएको थियो ।
विश्वका प्रमुख वायु प्रणालीहरू ध्रुवहरू तर्फ सरिरहेको र यसले बादलहरूलाई एकसाथ निचोरिरहेको अध्ययनमा सहभागी अस्ट्रेलियाको मोनास युनिभर्सिटीका प्राध्यापक क्रिश्चियन ज्याकोबले बताए ।
ज्याकोबका अनुसार वायुमण्डलमा कार्बन डाइअक्साईडको बढ्दो स्तरले पार्ने प्रभावका बिषयमा कम्युटर मोडलले गरेका पुर्वानुमानसँग यो नजिजाले तादाम्यता राख्दछ ।
बादलको महत्त्व
बादलहरूले एकातिर सूर्यको ऊर्जालाई अन्तरिक्षमा फर्काउछन् भने अर्काेतिर पृथ्वीको तातोपना कायम राख्न मद्दत गर्छन् । बादलहरूको समग्र रुपमा पृथ्वीलाई चिसो पार्ने काम गर्ने बताउदै ज्याकोबले बादलको कम उपस्थितीले स्वभाविक रुपमा तातोपना बढ्ने बताए ।
पृथ्वीको ऊर्जा सन्तुलनमा बादल एक महत्वपूर्ण घटक रहेको उक्त अध्ययनमा सहभागी नरहेका न्यु साउथ वेल्स विश्वविद्यालयका प्रमुख जलवायु वैज्ञानिक प्राध्यापक म्याट इङ्गल्याण्ड बताउछन् ।
‘बादलको ‘कभरेज’मा हुने परिवर्तनले मानवजन्य जलवायु परिवर्तन कसरी अगाडि बढ्छ भन्नेमा महत्ववपूर्ण प्रभाव पार्नेछ,’ उनले बताए ।
जियोफिजिकल रिसर्च लेटर्स नामक वैज्ञानिक जर्नलमा हालै प्रकाशित उक्त अध्ययनले सन् २०२३ र २०२४ मा भूमि र महासागरमा रेकर्ड गरिएका असाधारण विश्वव्यापी तापक्रमको व्याख्या गर्न मद्दत गरेको वैज्ञानिक दावी छ ।
जलवायु वैज्ञानिकहरू अझै पनि विश्वव्यापी तापक्रममा आएको तीव्र वृद्धिको लागि जिम्मेवार बिभिन्न सम्भावित कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् । केहीले सामुन्द्रिक ढुबानीको क्रममा जहाजले गर्ने सल्फर डाइअक्साइड उत्र्सजनमा आएको कटौतीले पनि सूर्यको प्रकाश परावर्तनमा कमी आएको मान्छन् । बायुमण्डलमा तैरिने यी ग्यासका कण(एरोसोल)ले पनि सूर्यका प्रकाशलाई परावर्तन गर्ने र बादलाई चम्काउन सहयोग गर्ने मानिन्छ ।
स्थानीय तापक्रमलाई घटाउन सहयोग गर्दै आएको उत्तरी एट्लान्टिकमको वायुमण्डलमा हुने बालुवा प्रवाह सन् २०२३मा घटेको तथा सन् २०२२मा टोंगा नजिकै पानीमुनि विशाल ज्वालामुखी विस्फोटका कारण वायुमण्डलमामा बाफ बढेको र यसले तापपान बढाउन सहयोग गरेको अर्काे तर्क छ।
ज्वालामुखीका बिभिन्न प्रभावका विषयमा कैयन अनुसन्धान गरेका अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयमा प्राध्यापक डा. मार्टिन जकरले अध्ययनले ‘जलवायु मोडेल’लाई थप परिष्कृत पार्न सहयोग गर्ने बताए ।
अध्ययनमा सहभागी रहेको वैज्ञानिक ज्याकोबले नासा र राष्ट्रिय महासागरीय र वायुमण्डलीय प्रशासन (एनओएए) जस्ता निकायले उपलव्ध गराएको तथ्याकको आधारमा उक्त अध्ययन गरिएको र यी महत्त्वपुर्ण निकायका लागि ट्रम्प प्रशासनले लगानी कटौती गरेको बताए ।
यस्ता महत्वपुर्ण निकायमा गरिने लगानी घटाउनु चिन्ताको बिषय रहेको बताउदै ज्याकोबले भने, ‘यस्तो अवश्थामा अन्तर्राष्ट्रिय समुदायले यस्ता अुनसन्धान जारी राख्न अरु उपायहरु खोज्नु पर्दछ ।’ (गार्जियनबाट साभार)
प्रकाशित: ८ असार २०८२ १५:५६ आइतबार





