इरान र इजरायल बिचको पछिल्लो द्वन्द्वमा ठूलो संख्यामा मानवीय क्षति भएको छ।
शुक्रबारदेखि सुरु भएको यो द्वन्द्वमा दुवै देशले एकअर्कामाथि मिसाइल र हवाई आक्रमण गरिरहेका छन्। द्वन्द्वले सैन्य र गैरसैन्य क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। दाबी अनुसार अहिलेसम्म दुवै देशमा दुई सय ३८ जनाको मृत्यु भएको छ। त्यस्तै १६ सय भन्दा धेरै जना घाइते भएका छन्।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि हालसम्म कम्तीमा दुई २४ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय ७७ जना घाइते भएका छन्। मृतक र घाइतेमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण भएको दाबी गरिएको छ। मानवअधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले भने यो संख्या अझ बढी रहेको बताएको छ।
मृतकमा इरानका उच्च सैन्य अधिकारीहरू, जस्तै मोहम्मद होस्सैन बाघेरी (इरानी सेनाका चिफ अफ स्टाफ), होस्सैन सलामी (रिभोलुसनरी गार्ड कोर्प्सका कमान्डर), मोहम्मद काजेमी (आईआरजीसी खुफिया प्रमुख), र घोलमाली रशिद (उपकमाण्डर) का साथै परमाणु वैज्ञानिकहरू फेरेदुन अब्बासी र मोहम्मद तेह्रान्चीलगायत रहेका छन्।
इजरायली अधिकारीहरूका अनुसार इरानको जवाफी कारबाहीमा शुक्रबारदेखि हालसम्म १४ जनाको मृत्यु भएको छ भने तीन सय ९० जना घाइते भएका छन्। मृतकमा मध्य इजरायलमा चार जना, बट याममा मिसाइल आक्रमणमा ६ जना, र उत्तरी इजरायलको ताम्रामा चार महिलाको मृत्यु भएको छ।
घाइतेमध्य केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। चौथो दिनमा पनि आक्रमण जारी रहेका कारण मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। एजेन्सी
प्रकाशित: २ असार २०८२ ०७:५० सोमबार





