५ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अहमदाबाद विमान दुर्घटना : ब्ल्याक बक्स खोजी हुँदै, मोदीद्वारा दुर्घटनास्थलको भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अहमदाबादको विमान दुर्घटनास्थलको भ्रमण गरेका छन्। 

बिहीबार भएको यो भयानक दुर्घटनामा २४० भन्दा बढीको मृत्यु भएको थियो। एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान (उडान नम्बर १७१) अहमदाबादबाट लन्डनका लागि उडेको दुई मिनेटमै मेघानी नगरको मेडिकल कलेज भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।  

मोदीले दुर्घटनास्थलको निरीक्षणपछि सिभिल अस्पताल पुगेर घाइतेको अवस्था बुझेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। उनले घाइते र मृतकका परिवारसँग भेट पनि गरेका छन्। 

अस्पतालमा मृतकको पहिचानका लागि डीएनए परीक्षण र शवको पोस्टमोर्टम कार्य चलिरहेको बीबीसीले उल्लेख गरेको छ। विमानमा सवार २४२ जनामध्ये भारतीय मूलका बेलायती नागरिक विश्वास कुमार रमेश मात्र जीवित छन्। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ।  

विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानडियन नागरिक सवार थिए। मृतकमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि छन्। दुर्घटनास्थल नजिकैको मेडिकल कलेजको छात्रावास र कर्मचारी आवासमा ठोक्किँदा ५ चिकित्सा विद्यार्थी र कर्मचारीको पनि मृत्यु भएको छ।

अनुसन्धानकर्ताहरूले विमानको ब्ल्याक बक्स र चालक दलको आवाज रेकर्डर खोज्ने कार्य तीव्र बनाएका छन्। गुजरातको आतंकवाद निरोधी दस्ताले मलबाबाट डिजिटल भिडियो रेकर्डर फेला पारेको छ, जसलाई फरेन्सिक टोलीले विश्लेषण गर्नेछ। विमान दुर्घटना अनुसन्धान ब्यूरो र अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।  

टाटा समूहले मृतकका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति र जीवित यात्रुको उपचार खर्च बेहोर्ने घोषणा गरेको छ। साथै क्षतिग्रस्त भवनको पुनर्निर्माणको प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८२ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App