राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले आफू यसपटकको चुनावी दौडबाट बाहिर रहने र जनताको पक्षमा उभिएर प्रश्न सोध्ने भूमिकामा रहने जानकारी दिएकी हुन्।
‘म चाहन्थेँ भने कुनै अमुक दलको जिम्मेवार पद अथवा कुनै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्थेँ,’ श्रेष्ठले भनेकी छन्, ‘तर, त्यो गर्नु भनेको मैले मेरो आदर्श गुमाउनु हो जस्तो लाग्यो। त्यो मबाट हुँदैन।’
आफूलाई चुनाव लड्न आग्रह गर्दै फोन र इमेल गर्ने शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै उनले क्षमा समेत मागेकी छन्। उनले भनिन्, ‘यस पटकको निर्वाचनमा म नेताजी भएर होइन, जनता भएर रहन चाहन्छु र जनतासँगै बसेर देशको सेवा गर्न चाहन्छु।’
श्रेष्ठले इतिहासमा धेरै नेताहरूले बाचा गरेको तर पूरा नगरेको भन्दै यसपटकको निर्वाचनमा जनताले पुराना बाचाहरूको साँवा मात्र नभई ब्याजसहित हिसाब माग्नुपर्ने बताइन्।
दलहरूले घोषणापत्रमा गर्ने बाचाहरूप्रति सचेत गराउँदै उनले ‘कसरी ?’ भन्ने प्रश्न सोध्न अपिल गरेकी छन्।
‘भ्रष्टाचार निर्मूल पार्छु भन्नेलाई कसरी भनेर सोधौँ, निःशुल्क शिक्षा र स्वास्थ्य दिन्छु भन्नेलाई कसरी र कहिलेसम्म भनेर सोधौँ,’ उनले भनिन्।
सडक र सदनमा रहँदा सधैँ देश र जनताको हितमा बोल्दै आएको स्मरण गर्दै उनले पदमा नरहे पनि सही प्रश्न सोधिरहने र खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
भाषण, गाली र घृणाको राजनीति बन्द गरेर समस्याको चुरो पत्ता लगाउन र समाधान केन्द्रित बहस गर्न उनले सबैलाई आग्रह गरेकी छन्।
प्रकाशित: ५ माघ २०८२ २०:२९ सोमबार





