२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

यी हुन् उदयपुरका ठूला तीन दलका उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरबाट उम्मेदवार हुने ठूला तीन दलले उम्मेदवार टुंगो लगाएका छन्। मनोनयन दर्ता गर्नुपर्ने माघ ६ गतेभन्दा २४ घण्टा अगाडि नै नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफ्ना उम्मेदवारको टुंगो लगाएका हुन्।

नेकपाबाट चौधरी र राई उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टीले उदयपुर क्षेत्र नम्बर १ बाट बलदेव चौधरी र क्षेत्र नम्बर २ बाट सुरेशकुमार राई (हिमाल)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रले सोमबार उनीहरूलाई टिकट दिने निर्णय गरेको हो। चौधरी र राई दुवै पार्टीका केन्द्रीय सदस्य हुन्।

राई तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हुन् भने चौधरी एकीकरण प्रक्रियाबाट आएका तत्कालीन नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हुन्। राई २०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित पूर्व सांसदसमेत हुन् भने कानुन व्यवसायी रहेका चौधरी २०७४ सालमा सदरमुकाम त्रियुगा नगरपालिकाका मेयर थिए।

पार्टी केन्द्रका अनुसार जिल्ला पार्टीबाट सिफारिस भएर गएका १८ जना आकांक्षीमध्ये पार्टी काममा निरन्तरता, योग्यता, क्षमता, अनुभव र कार्यदक्षताका आधारमा उम्मेदवार छनोट गरिएको हो। उदयपुर–१ बाट चौधरी र राईसहित १० जना र उदयपुर–२ बाट उनीहरू दुवैसहित ८ जनाको नाम जिल्ला पार्टीले सिफारिस गरेको थियो।

कांग्रेसबाट बस्नेत र राईलाई टिकट

नेपाली कांग्रेसले उदयपुर क्षेत्र नम्बर १ बाट विदुर बस्नेत र क्षेत्र नम्बर २ बाट राम राईलाई उम्मेदवार बनाएको छ। पार्टीका पूर्व सभापति तथा गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका बस्नेत २०५६ सालमा उदयपुर–२ बाट पराजित भएका थिए।

उदयपुर–१ बाट २०५६ देखि २०७९ सम्म चार पटक लगातार विजयी केन्द्रीय सदस्य डा. नारायण खड्काले यसपटक चुनाव नलड्ने निर्णय गरेपछि बस्नेतलाई उम्मेदवार बन्ने अवसर मिलेको हो। पार्टीले पहिलो चरणको सिफारिसमै खड्काको नाम एक नम्बरमा पठाएको थियो। विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा नयाँ समिति चयन भएसँगै खड्काले चुनाव नलड्ने घोषणा गरेका थिए, जसका कारण बस्नेतले करिब २० वर्षपछि प्रतिनिधिसभा निर्वाचन लड्ने मौका पाएका हुन्।

उदयपुर–२ बाट कांग्रेसको टिकट पाएका राम राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा पराजित भएका थिए। किशोरावस्थामै २०५४ सालमा तत्कालीन कटारी गाविस अध्यक्ष बनेका राई २०७४ मा मेयरका आकांक्षी थिए। टिकट नपाएपछि उनी एमाले–माओवादी मिलेर बनेको तत्कालीन नेकपामा प्रवेश गरेका थिए।

दुई वर्षपछि अदालतको फैसलाले एमाले र माओवादी अलग भएपछि नेकपा विघटन हुँदा राई कांग्रेसमै फर्किएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा मेयरका आकांक्षी भए पनि टिकट नपाएपछि उनले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। विद्रोही उम्मेदवार बनेको भन्दै पार्टीले गरेको कारबाही विशेष महाधिवेशन हुनुअघि फुकुवा भएपछि उनी पुनः पार्टी राजनीतिमा सक्रिय भएका हुन्।

एमालेबाट थापा र रायमाझी

नेकपा (एमाले)ले उदयपुर क्षेत्र नम्बर १ बाट दुर्गाकुमार थापा र क्षेत्र नम्बर २ बाट अम्मर रायमाझीलाई उम्मेदवार बनाएको छ। थापा बेलका नगरपालिकाका पूर्व मेयर हुन् भने रायमाझी विघटित प्रतिनिधिसभामा सोही क्षेत्रका सांसद थिए।

प्रकाशित: ५ माघ २०८२ २०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App