२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका र चीन आज लन्डनमा व्यापार वार्ता गर्दै

अमेरिका र चीनबिच विद्यमान व्यापार युद्ध समाधान गर्ने उद्देश्यले आज( सोमबार) लन्डनमा नयाँ चरणको वाता गर्दै छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलले चिनियाँ प्रतिनिधिसँग भेट्ने घोषणा गरेका थिए। उता बेइजिङले पनि उप–प्रधानमन्त्री हे लिफेङ वार्तामा सहभागी हुने सप्ताहन्तमा पुष्टि ग¥यो।

यो वार्ता ट्रम्प र चीन राष्ट्रपति  सी जिनपिङबीच गत हप्ता टेलिफोनमा कुराकानी भएपछि हुन लागेको हो । उक्त वार्तालाई  अमेरिकी राष्ट्रपतिले “धेरै राम्रो कुराकानी“ भनेका थिए।

गत महिना, विश्वका दुई ठूला अर्थतन्त्रहरूले एक अर्काबिच व्यापार भइरहेका वस्तुहरूमा आयात कर घटाउन अस्थायी युद्ध विराममा सहमति जनाएका थिए । तर त्यस बेलादेखि दुवै देशले एक अर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

गत शुक्रबार आफ्नो ट्रुथ नामक सामाजिक सञ्जालमा ट्रम्पले अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट, वाणिज्य सचिव हार्वर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सोमबार लन्डनमा चिनियाँ अधिकारीहरूसँग भेट्ने बताएका थिए ।

शनिबार, चीनको विदेश मन्त्रालयले  जुन ८ देखि १३ सम्म बेलायतमा हुने र त्यतिबेलानै “चीन–अमेरिका आर्थिक तथा व्यापार संयन्त्र“ को बैठक पनि बस्ने बताएको थियो।

नयाँ चरणको वार्ता ट्रम्पलेसीसँगको आफ्नो टेलिफोन वार्ता मुख्यतया व्यापारमा केन्द्रित रहेको र “दुवै देशका लागि धेरै सकारात्मक निष्कर्षमा पुगेको“ बताएपछि हुन लागेको हो ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, सीले ट्रम्पलाई अमेरिकाले “चीन विरुद्ध लिएका नकारात्मक प्रावधानहरू फिर्ता लिनुपर्छ“ भनेका थिए। यो कुराकानी दुई नेताबिच फेब्रुअरीमा व्यापार युद्ध सुरु भएयता पहिलो पटक भएको थियो।

ट्रम्पले यस वर्षको सुरुमा धेरै देशबाट गरिने आयातमा व्यापक भन्सार  घोषणा गर्दा, चीन सबैभन्दा बढी प्रभावित भएको थियो। बेइजिङले पनि आयातमा अमेरिकाले लगाएका  उच्च दरहरू लगाएर जवाफी कारबाही गरेको थियो ।  चिनिया वस्तु आयातमा अमेरिकाले आयात शुल्क बढाएर १४५ प्रतिशत पुर्‍याएको थियो । गत मे महिनामा, स्विट्जरल्याण्डमा भएको वार्ताले दुवै देशबिच एक अस्थायी युद्ध विराम भएको थियो । उक्त युद्ध विरामलाई ट्रम्पले “पूर्ण रिसेट“ भनेका थिए।

त्यही वार्ताले चिनियाँ उत्पादनहरूमा अमेरिकी भन्सारलाई ३० प्रतिशतमा झारेको थियो । उता बेइजिङले अमेरिकी आयातमा लाग्ने शुल्कलाई १० प्रतिशतमा घटायो र महत्त्वपूर्ण खनिज निर्यातमा रहेका अवरोधहरू हटाउने प्रतिबद्धता व्यक्त ग¥यो। सो सम्झौताले दुवै पक्षलाई व्यापार सम्झौतामा पुग्न ९० दिनको समयसीमा दिएको थियो ।

बेइजिङले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कले युद्ध विराम को बाबजुद मे महिनामा चीनको निर्यात अनुमान गरेभन्दा कम रहेको देखाएको छ।

डलरको हिसाबले चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले बढेको थियो । सोही समयमा आयात ३.४ प्रतिशतले घटेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले मे महिनामा एक अर्काको भन्सार घटाउन सहमत भएका थिए ।

तर त्यस बेलादेखि यता पुन सम्बन्ध बिग्रिएको देखिन्छ। गत महिना, ट्रम्पले चीनले अमेरिकालाई “सम्झौता पूर्ण रूपमा उल्लंघन गरेको“ अरोप लगाएको थियो र त्यसको केही दिन पछि चीनले अमेरिकाले सम्झौतालाई “गम्भीर रूपमा उल्लंघन गरेको“ बताएको थियो।

अमेरिकाले चीनलाई कार र कम्प्युटर उद्योगका लागि महत्त्वपूर्ण खनिज र दुर्लभ चुम्बकीय पदार्थको ढुवानी पुनः सुचारु गर्न चीन असफल भएको आरोप लगाएको थियो ।

शनिबार, चिनियाँ वाणिज्य मन्त्रालयले दुर्लभ वस्तु निर्यात इजाजत पत्रका लागि केही आवेदनहरू स्वीकृत गरेको बताएको थियो, यद्यपि यसमा कुन देशहरू समावेश छन् भन्ने बारे विस्तृत जानकारी दिइएको थिएन ।

वार्ताको नयाँ चरण  ट्रम्पले शुक्रबार सीले दुर्लभ सामग्रीहरूको व्यापार पुनः सुरु गर्न सहमत भएको बताएपछि सुरु भएको मानिएको छ ।

तर आइतबार बोल्दै, ह्वाइट हाउस नेशनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासटले सीबीएस न्यूजलाई भने  “ती महत्त्वपूर्ण खनिजहरूको निर्यात जुन दरमा भइरहेको छ, त्यो पहिले भन्दा बढी हो, तर हामीले जेनेभामा सहमति जनाएको जति उच्च छैन।“

ट्रम्पले सीसँगको ’धेरै राम्रो’ कुराकानी भएको र निकट भविष्यमा चीन भ्रमण गर्ने बताएका छन् ।  (बिबिसी)

प्रकाशित: २६ जेष्ठ २०८२ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App