१५ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको कर नीतिले अमेरिकी एयरोस्पेस उद्योगमा चिन्ता

अमेरिकी वायुसेवा र एयरोस्पेस निर्माताहरूले प्रस्तावित कर नीति आफ्नो उद्योगका लागि हानिकारक हुने बताएका छन्।  

ट्रम्प प्रशासनको कर प्रस्तावले ७० वर्षभन्दा बढी समयदेखिको स्वस्थ व्यापार अधिशेष समाप्त हुने चेतावनी उनीहरूले दिएका छन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा वाणिज्य मन्त्री हावर्ड लुटनिकको विभागले मे १ मा नागरिक विमान, इन्जिन र पार्टपुर्जामा १० देखि २० प्रतिशत कर लगाउने वा नलगाउने विषयमा अनुसन्धान गरेको थियो। अमेरिकी उद्योगले ती करहरूको विरोधमा तयारी गरेको थियो र प्रशासनलाई आफ्नो असहमति स्पष्ट पारेको थियो।

एयरोस्पेस इन्डस्ट्रिज एशोसिएशन (एआईए) ले लुटनिकलाई लेखेको पत्रमा भनिएको छ, ‘नागरिक उड्डयन प्रविधिको आयातमा व्यापक कर वा शून्य–कर व्यापार अवरोध लागू गर्दा दशकौंको औद्योगिक प्रगति उल्ट्याउने र घरेलु आपूर्ति शृङ्खलालाई हानि पुर्‍याउने खतरा हुन्छ।’ इच्छुक पक्षलाई आफ्नो अडानबारे जानकारी गराउन जुन ३ सम्म समय दिइएको थियो।  

अर्को दिन लुटनिकले वासिङ्टनले यो महिनाको अन्त्यसम्ममा ‘विमानका पार्टपुर्जामा करको मापदण्ड निर्धारण गर्ने’ लक्ष्य राखेको बताए। उनले भने, ‘मुख्य कुरा त्यो उद्योगको संरक्षण गर्नु हो,’ र थपे, ‘हामी यी करहरू अमेरिकी उद्योगको सुधारका लागि प्रयोग गर्नेछौँ।’  

तर, एआईए र एयरलाइन्स फर अमेरिका (एफोरए) ट्रेड एशोसिएशनले करवृद्धिले अमेरिकी उत्पादकलाई हानि पु¥याउने चिन्ता व्यक्त गरेका छन्। ‘अन्य उद्योगभन्दा फरक, नागरिक उड्डयन उत्पादन उद्योगले उच्च मूल्यका उपकरणको घरेलु उत्पादन र अन्तिम निर्माणलाई प्राथमिकता दिन्छ,’ एआईएले भनेको छ।

सङ्गठनका अनुसार सन् २०२३ मा अमेरिकी एयरोस्पेस र प्रतिरक्षा निर्यात १३५.९ अर्ब डलर पुगेको थियो, जसमा नागरिक उड्डयन क्षेत्रको ११३.९ अर्ब डलर थियो। यसले ७४.५ अर्ब डलरको व्यापार अधिशेष र अनुसन्धान तथा विकासमा ३४.५ अर्ब डलर लगानी सम्भव भएको थियो।

यो क्षेत्रले अमेरिकामा एक लाखभन्दा बढी कम्पनीमार्फत २२ लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको छ, जसले २०२३ मा करिब ५४५ अर्ब डलरको सामान उत्पादन गरेको थियो।

लुटनिकलाई दिएको जवाफमा एफोरएले आधा शताब्दीभन्दा बढी समयदेखि शुल्क र व्यापार अवरोध हटाएर अन्तर्राष्ट्रिय उड्डयन व्यापार सम्झौता (एटीसीए) को फाइदा उजागर गरेको छ।

‘अमेरिकाले विश्वव्यापी रूपमा नागरिक एयरोस्पेसको नेतृत्व गरिरहेको छ र राष्ट्रपति ट्रम्पले खोजेको पनि अमेरिकी नागरिक उड्डयन उद्योग सफलताको कथा हो,’ विज्ञप्तिमा भनिएको छ।

उत्पादनको ८४ प्रतिशत पहिल्यै अमेरिकी रहेको र बाँकी १६ प्रतिशतलाई ठीक गर्न आवश्यक नभएको उनीहरूको भनाइ छ। ‘वर्तमान व्यापार ढाँचाले हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षालाई बढावा दिएको छ र राष्ट्रिय सुरक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ।

‘उत्पादकहरूका लागि, सम्भावित कर वृद्धिले दशकौंदेखि सुचारु रूपमा चलेको उद्योगलाई प्रभावित गर्नेछ,’ विशेषज्ञहरूले चेतावनी दिएका छन्। कोभिड–१९ महामारीबाट प्रभावित र अझै सुधार हुन बाँकी संवेदनशील आपूर्ति शृङ्खलालाई पनि सन्तुलनमा राख्नुपर्ने उनीहरूले बताएका छन्।

प्रकाशित: २५ जेष्ठ २०८२ १९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App