भारत हैदराबादमा ३० वर्षीय नेपाली युवक विजय टोप्पा उर्फ विल्सनलाई आफ्नी लिभ-इन पार्टनर ३३ वर्षीया तारा बोहराको हत्या गरेर शव ट्राभल ब्यागमा हालेर सुनसान क्षेत्रमा फालेको आरोपमा पक्राउ गरिएको छ।
४ जुनमा हैदराबादको बाचुपल्ली नजिकैको आवासीय क्षेत्रमा भेटिएको ट्राभल ब्यागमा ताराको शव फेला परेको थियो। शव भेटिएपछि प्रहरीले तुरुन्तै संदिग्ध विजयलाई पक्राउ गरेको हो। उनी स्थानीय रेस्टुरेन्टमा सेफ काम गर्थे।
अनुसन्धानबाट विजय र ताराको चिनजान फेसबुकमार्फत भएको पाइएको छ। त्यसपछि उनीहरूको सम्बन्ध पनि बनेको थियो। विवाहित र दुई सन्तानकी आमा तारा १५ अप्रिलमा हैदराबाद पुगेर विजयसँग बोरामपेटमा भाडाको घरमा बस्न थालेकी थिइन्।
प्रहरीका अनुसार २३ मेमा ताराको गर्भावस्थालाई लिएर दुईबिच विवाद भएको थियो। रिसमा विजयले नाइलनको झोलाको डोरीले ताराको घाँटी थिचेर हत्या गरेको आरोप छ। त्यसपछि उनले शवलाई ठूलो ट्राभल ब्यागमा हालेर एकान्त ठाउँमा लगेर फालेका थिए।
स्थानीय चौकीदारले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका हुन्। साइबराबाद प्रहरी चौकीका के सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीले फोरेन्सिक टोलीसहित घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेका छन्। अभियुक्तलाई पक्रन पाँच विशेष टोली गठन गरिएको थियो।
सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा प्रहरीले विजयलाई मेडचल जिल्लाबाट नियन्त्रणमा लिएको हो। सोधपुछमा उनले अपराध स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
प्रकाशित: २५ जेष्ठ २०८२ १४:५७ आइतबार





