भन्छन्, कुनै कुरा प्रमाणित गर्नु छ भने तीन पटक दोहोर्याउनुस्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि भारत र पाकिस्तानबिच सम्भावित युद्ध रोकेको कुरा तीन पटक हैन १२ पटकसम्म दोहोर्याएका छन्। ‘मैले हस्तक्षेप नगरेको भए यो युद्ध परमाणु युद्धमा परिणत हुन सक्थ्यो,’ हिजो एक मिडियासँग कुरा गर्दै ट्रम्पले भने, 'मैले व्यापारलाई हतियारको रूपमा प्रयोग गरेर दुवै देशलाई झडप रोक्न बाध्य पारेको थिएँ।'
अप्रिल २२ मा कश्मीरको पहलगाममा आतंकवादीहरूले २६ पर्यटकलाई गोली हानी हत्या गरेका थिए। त्यसपछि भारतले ‘अपरेसन सिँदुर’ अन्तर्गत पाकिस्तान र पीओकेमा रहेका ९ आतंकी अड्डाहरू नष्ट गरेको थियो। त्यसपछि दुवै देशबिच लगभग ४ दिनसम्म सीमा सङ्घर्ष चलेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले १० मे मा सोसल मिडिया पोस्टमार्फत ‘सिजफायर’को जानकारी दिएका थिए।
यो मुद्दामा अमेरिकी राष्ट्रपति अबसम्म १२ पटक बयान दिइसकेका छन्।
‘मैले केही गरेँ जुन बारेमा धेरै मानिसहरूले कुरा गर्दैनन्, र म पनि धेरै बोल्दिनँ।
‘एयरफोर्स वनमा मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भारत र पाकिस्तान बिचको ठुलो सम्भावित परमाणु समस्या समाधान गर्यौँ।’ उनले दुवै देशका नेताहरूसँग कुरा गरेको र दुवै देश एक अर्कामा आक्रमण गर्न तयार थिए भन्ने बताउँदै नरोकिएको भए यो परमाणु युद्धको स्तरमा पुग्न सक्ने उनको दाबी छ।
‘मैले दुवै देशलाई भने, यदि तपाईँहरूले एक अर्कामा बम प्रहार गर्नुभयो भने हामी व्यापार गर्न सक्दैनौँ,’ उनी भन्छन्, ‘ त्यसपछि दुवै देशले आक्रमण रोकिदिए। मैले तुरुन्तै त्यो युद्ध रोकेँ। म भारत र पाकिस्तानका नेताहरूको प्रशंसा गर्दछु।’
उनको यो कुरालाई भारतले खासै महत्त्व नदिए पनि रुसले पनि ट्रम्पको दाबीको समर्थन गरेको छ। पुटिनका सहायक युरी उशाकोभले भने कि अमेरिकी राष्ट्रपतिको कारण यो सङ्घर्ष रोकिएको थियो। उनले यसबारे ट्रम्प र पुटिन बिचको फोनमा पनि चर्चा भएको जानकारी दिएका थिए।
प्रकाशित: २५ जेष्ठ २०८२ ११:१५ आइतबार





