अमेरिकाको फेडरल अपिल कोर्टले ट्रम्प प्रशासनले हाललाई सुनुवाइ चलिरहँदासम्म आयात कर संकलन जारी राख्न पाउने आदेश दिएको छ । यो निर्णयसंगै म्यानह्याटनस्थित इन्टरनेशनल ट्रेड कोर्टको त्यो आदेशमा रोक लागेको छ, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफ (आयात कर) लाई अवैध ठहर गरेको थियो।
अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी मामिलाका लागि गठित अमेरिकी कोर्टले बुधबार निर्णय सुनाउँदै भनेको थियो कि ह्वाइट हाउसको आपतकालीन कानुनले राष्ट्रपति ट्रम्पलाई हरेक देशमा ट्यारिफ लगाउने अधिकार दिँदैन।
म्यानह्याटनको अदालतले भनेको थियो कि अमेरिकी संविधानले संसद (कंग्रेस) लाई अन्य देशहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार दिएको छ, र ती अधिकारहरू राष्ट्रपतिको ’अर्थतन्त्र सुधार्ने उद्देश्य’ का लागि उल्लंघन गर्न सकिँदैन।ट्रम्प प्रशासनले यस निर्णयविरुद्ध अपिल गरेको थियो।
अपिलमा, ट्रम्प प्रशासनले भन्यो कि व्यापार अदालतको यो निर्णयका कारण महिनौंदेखि चलिरहेको व्यापार वार्ता असफल हुने खतरा पैदा भएको छ।ट्रम्प प्रशासनले भनेको थियो, ‘विदेश नीति र आर्थिक नीति राजनीतिक निकायहरूद्वारा निर्माण गरिन्छ, अदालतहरूले होइन।’
फेडरल अपिल कोर्टको अन्तरिम आदेश अनुसार, ट्रम्प प्रशासनले हाललाई सुनुवाइ चलिरहँदासम्म आयात कर संकलन जारी राख्न पाउनेछ। यस मुद्दाको अर्को सुनुवाइ आगामी जुन ५ मा हुनेछ।
प्रकाशित: १६ जेष्ठ २०८२ ०८:०६ शुक्रबार





