स्पेसएक्स र टेस्लाका मालिक अमेरिकी अर्बपति इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओजीई) अर्थात् खर्च कटौती विभागबाट अलग भएको घोषणा गरेका छन्।
बिहीबार मस्कले सामाजिक सञ्जाल एक्समा लेखे, ‘विशेष सरकारी कर्मचारीको हैसियतमा सरकारी क्षेत्रमा हुने अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु।’
मस्कलाई विशेष सरकारी कर्मचारीको दर्जा दिइएको थियो, जसअनुसार उनले प्रत्येक वर्ष १३० दिनसम्म संघीय जागिरमा रहन पाउँथे। ट्रम्पको दोस्रो कार्यकाल जनवरी २०, २०२५ मा सुरु भएको हिसाबले उनको यो अवधि मे २०२५ को अन्त्यमा समाप्त हुने थियो।
तर, मस्कको ट्रम्प प्रशासनबाट बाहिरिनुको मुख्य कारण उनले ट्रम्पको बजेटप्रति व्यक्त गरेको ‘निराशा’ हो। यो बजेटमा खर्बौं डलरको कर छुट र रक्षा खर्च वृद्धिको प्रस्ताव छ। ट्रम्पले आफ्नो बजेट विधेयकलाई ‘ठूलो र सुन्दर’ भनेका थिए, तर मस्कले यसको आलोचना गरे। यो विधेयक ट्रम्पको आर्थिक एजेन्डाको महत्वपूर्ण हिस्सा हो। ह्वाइट हाउसले पनि मस्कको विशेष सरकारी कर्मचारी हैसियत समाप्त भएको पुष्टि गरेको छ।
रिपब्लिकन पार्टीका ठूला दाता मस्कको बहिर्गमनलाई ट्रम्प प्रशासनका लागि ठूलो धक्का मानिएको छ। उनले गत वर्ष करिब २५ करोड डलर चन्दा दिएका थिए, जसले मस्क र ट्रम्पबीचको निकटता बढाएको थियो। तर, यो अवधिमा उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाको नाफामा ठूलो गिरावट आएको थियो। टेस्लाले लगानीकर्तालाई वित्तीय समस्या जारी रहन सक्ने चेतावनी दिएको थियो।
कम्पनीले राजनीतिक कारणले सवारीसाधनको मागमा क्षति हुन सक्ने बताएको छ। मस्कले गत महिना टेस्लालाई बढी समय दिने बताएका थिए। सीबीएससँगको अन्तर्वार्तामा मस्कले ट्रम्पको बजेट विधेयकले संघीय घाटा बढाउने र डीओजीईका कामलाई कमजोर पार्ने बताए।
गत मार्चमा सरकारी खर्च र कर्मचारी संख्यामा कटौतीबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो। उक्त बैठकमा मन्त्रीहरूबीच चर्को विवाद भएको थियो। मस्कले विदेशमन्त्री मार्को रुबियोलाई ‘टिभीमा मात्र राम्रो देखिने’ भन्दै आलोचना गरे। न्युयोर्क टाइम्सका अनुसार, मस्कले रुबियोलाई विदेश मन्त्रालयमा पर्याप्त कर्मचारी कटौती गर्न असफल भएको आरोप लगाए।
यस्तै, एयर ट्राफिक कन्ट्रोलरको संख्या घटाउने विषयमा मस्कको यातायातमन्त्री सीन डफीसँग पनि विवाद भएको थियो। मन्त्रीहरूबीचको चर्को विवादपछि ट्रम्पले हस्तक्षेप गरे। उनले निर्णय मन्त्रीहरूले गर्ने र मस्कको टोलीको काम सल्लाह दिने मात्र भएको बताए। समाचारमाध्यमका अनुसार, यो बैठक हतारमा बोलाइएको थियो र ट्रम्पको हस्तक्षेपलाई मस्कको शक्तिलाई सीमित गर्ने संकेत मानिएको थियो।
मस्कको टोलीले लाखौं संघीय कर्मचारीलाई आधिकारिक इमेलमार्फत राजीनामा दिएमा केही महिनाको तलब एकमुष्ट दिने प्रस्ताव गरेको थियो। साथै, कर्मचारीलाई साप्ताहिक कामको विवरण पेस गर्न निर्देशन दिइएको थियो, नगरे जागिरबाट निकाल्ने चेतावनीसहित।
गत फेब्रुअरीमा ट्रम्प प्रशासनले अमेरिकी सरकारको प्रमुख विदेशी सहायता निकाय युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड) बन्द गरेर विदेश मन्त्रालयमा समायोजन गर्ने घोषणा गरेको थियो। ट्रम्पले यो निकायमा ‘ठूलो भ्रष्टाचार’ भएको आरोप लगाए। मस्कले पनि यूएसएड बन्द गर्नुपर्ने बताए। जनवरीको अन्त्यमा यूएसएडका दुई वरिष्ठ अधिकारीलाई बिदामा पठाइयो र निकायको वेबसाइट बन्द गरियो।
मस्कले यूएसएडलाई ‘आपराधिक संगठन’ र ‘कट्टर वामपन्थी राजनीतिक मनोवैज्ञानिक अभियान’ चलाउने आरोप लगाए। एक प्रत्यक्ष प्रसारणमा उनले भने, ‘यो निको नहुने रोग हो।’
यूएसएडको वित्तीय सहायता बन्द भएपछि स्वास्थ्य र पोषणसँग सम्बन्धित धेरै कार्यक्रम प्रभावित हुने आशंका छ। मस्कको बयानपछि पनि विदेशमन्त्री रुबियोले यूएसएडका केही गतिविधि जारी रहने बताएका थिए। बीबीसी
प्रकाशित: १५ जेष्ठ २०८२ १७:५८ बिहीबार





