१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इमरान र सेना बिचको द्वन्द्व: जंगली कानुन कि सत्ताको खेल?

पाकिस्तानको राजनीतिक मैदानमा पूर्व प्रधानमन्त्री इमरान खान र प्रधान सेना प्रमुख जनरल असीम मुनीरबिचको तनावले नयाँ उचाइ लिएको छ। यो द्वन्द्वले देशको लोकतान्त्रिक संरचना, आन्तरिक स्थायित्व र बाह्य सम्बन्धमा गम्भीर प्रभाव पारिरहेको छ।

इमरानले हालै जेलबाट जारी गरेको बयानमा मुनीरलाई ‘फिल्ड मार्सल’को सट्टा ‘बादशाह’ को उपाधि सुहाउने र देशमा ‘जंगलको कानुन’ लागु रहेकै भनेर कटाक्ष गरेका छन्।

जनरल मुनीर र इमरान खान

भारतसँगको हालैको द्वन्द्वमा मुनीरको भूमिकाको कदर गर्दै फिल्ड मार्सलको पदमा बढुवा गरिएको थियो। यो सम्मान प्राप्त गर्ने उनी पाकिस्तानको इतिहासमा मोहम्मद अयुब खानपछिका दोस्रो सैन्य अधिकारी हुन्। मुनीरलाई दिएको यही सम्मानलाई लिएर सन् २०२३ को अगस्तदेखि जेलमा रहेका इमरानले कटाक्ष गरेका हुन्। 

‘माशाल्लाह, जनरल असीम मुनीरलाई फिल्ड मार्सल बनाइएको छ। तर साँचो कुरा, उनलाई फिल्ड मार्सलभन्दा बादशाहको उपाधि बढी सुहाउँथ्यो,’ इमरानले जेटबाटै एक्स (ट्विटर) मा लेखेका छन्, ‘किनभने अहिले देशमा जंगलको कानुन चलिरहेको छ। जंगलमा केवल एक बादशाह हुन्छ।’

इमरानले देशमा कानुन केवल कमजोर माथि लागू हुने र शक्तिमा रहनेले कानुनको उल्लङ्घन गर्ने गरेको आरोप लगाएका छन्। उनले विशेष रूपमा राष्ट्रपति आसिफ अलि जरदारी र प्रधानमन्त्री शहबाज सरिफमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन्।

 प्रधानमन्त्री शहबाज सरिफ

‘जरदारीकी बहिनी (फरयाल तालपुर) माथि कर्मचारीको नाममा पाँच वटा अपार्टमेन्ट दर्ता गरेको आरोप छ, तर उनी विदेशमा छिन्। र, कसैले उनलाई प्रश्न गर्ने हिम्मत गर्दैन,’ इमरानले भनेका छन्, ‘शहबाज सरिफमाथि २२ अर्ब पाकिस्तानी रुपैयाँको सम्पत्ति शुद्धीकरण (मनीलान्ड्रिङ) को आरोप थियो, तर उनी प्रधानमन्त्री बने।’ इमरानले देशको नैतिक र संवैधानिक ढाँचालाई सेनाले ध्वस्त पारेको दाबी गरेका छन्।

जेलबाट इमरानको सन्देश

इमरानले सेनासँग कुनै ‘सम्झौता’ भएको वा वार्ता भइरहेको हल्लालाई ‘निराधार झुट’ भनेर खारेज गरेका छन्। यद्यपि सेनालाई देशको हित र भविष्यका लागि खुला वार्ताको आह्वान भने गरेका छन्। 

‘देश बाह्य खतराहरू, आतंकवादको वृद्धि र आर्थिक सङ्कटको सामना गरिरहेको छ। हामी एकजुट हुनुपर्छ। मैले कहिल्यै आफ्नो लागि केही मागेको छैन, न त अब माग्नेछु,’ इमरानले भनेका छन्। 

सरिफ सरकारलाई भारतबाट सम्भावित अर्को आक्रमणका लागि तयार रहन पनि इमरानले चेतावनी दिएका छन्। 

जेलमा इमरानको अवस्था

इमरानले जेलभित्र आफूमाथि भइरहेको व्यवहारको कडा आलोचना गरेका छन्। उनले खजाना-२ (तोसाखाना-२) मुद्दामा ‘हास्यास्पद’ सुनुवाइ भइरहेको तर्क गरे। जेल र अदालतमा एक कर्णेलको इच्छाअनुसार सबै कुरा चलिरहेको उनको आरोप छ। 

‘मेरा बहिनीहरू र वकिलहरूलाई अदालतमा प्रवेश गर्न दिइएको छैन। मेरा सहकर्मीहरूसँग भेट्न दिइएको छैन, मेरा छोराहरूसँग महिनौँसम्म सम्पर्क गर्न दिइएको छैन,’ इमरानले भनेका छन्,‘मेरा किताबहरू डेलिभर गरिएको छैन। मलाई मेरो चिकित्सकसँग भेट्नबाट वञ्चित गरिएको छ। यो अदालतको आदेश र कानुनको निरन्तर उल्लङ्घन हो।’ 

इमरानमाथि मानवअधिकार उल्लङ्घन भएको कुरा उनको परिवारले पहिल्यैदेखि उठाउँदै आएको छ।

आतंकवाद विरुद्ध खानको अडान

इमरानले खैबरपख्तुनख्वा क्षेत्रमा भइरहेका ड्रोन आक्रमणको आलोचना गरेका छन्। जसमा उनले यस्ता आक्रमणले आतंकवाद कम गर्नुको सट्टा बढाउने बताए। ‘निर्दोष नागरिकहरूको ड्रोन आक्रमणमा हत्या गर्नाले आतंकवाद कम हुँदैन, बरु यो झनै बढ्छ’, उनले भनेका छन्। 

खैबरपख्तुनख्वाका मुख्यमन्त्री अलि अमिन गन्डापुरलाई संघीय सरकारसँग औपचारिक विरोध दर्ता गर्न र ड्रोन आक्रमण रोक्न निर्देशन दिए। प्रान्तीय सरकार यो गर्न असफल भए संसद् भङ्ग गरेर जनतामा जानुपर्ने उनको सुझाव छ।

इमरान र सेनाको सम्बन्ध

इमरान एक समय विश्व प्रसिद्ध क्रिकेटर थिए। सन् १९९२मा पाकिस्तानले पहिलो पटक विश्वकप क्रिकेट जित्दा इमरान टिमको कप्तान थिए। त्यसपछि उनले खेलबाट संन्यास लिएर सामाजिक कार्यमा सक्रिय भए। आमा सौकत खानको नाममा क्यान्सर अस्पताल सञ्चालन गरे। 

सन् १९९६ मा पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) स्थापना गरेर उनले राजनीतिमा प्रवेश गरेका थिए। सन् २०१८ को आम निर्वाचनमा पिटिआई पहिलो दल बनेपछि इमरान प्रधानमन्त्री बनेका थिए। पिटिआईको जित र इमरानको सत्तारोहणमा त्यो बेला सेनाकै सहयोग रहेको बताइन्छ।  

इमरानले आफ्नो कार्यकालमा तत्कालीन प्रधानसेनापति कमर जावेद बाजवासँग सरकार ‘एउटै बाटोमा’ रहेको दाबी गर्थे। तर, बाजवा र इमरानको सम्बन्ध धेरै लामो टिकेन। सन् २०२२ मा अविश्वास प्रस्तावमार्फत इमरान सत्ताच्युत भए। यो घटनाले इमरान र सेनाबिच ठुलो दरार ल्यायो। 

इमरानले आफ्नो सत्ताच्युतमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासन र सेना प्रमुख बाजवाको हात रहेको आरोप लगाउँदै आएका छन्। इमरान र पिटिआईविरुद्ध त्यसपछि अहिलेका सेना प्रमुख असीम मुनीरले त्यही नीतिलाई निरन्तरता दिएको उनको दाबी छ। 

द्वन्द्वका प्रमुख कारण

इमरानले आफू र सेनाबिचको तनावका भन्दै आएका विभिन्न व्यक्तिगत, नीतिगत र संरचनात्मक कारणहरू छन्। इमरानले प्रधानमन्त्री भएपछि विदेश नीतिमा पाकिस्तानको परम्परागत शैली बदल्न खोजेका थिए। जुन सेनाका लागि पाच्य थिएन। 

पाकिस्तानी सेना परम्परागत रूपमा पश्चिमा धारसँग निकट रहँदै आएको थियो। लामो समयदेखि संयुक्त राज्य अमेरिकासँग पाकिस्तानी सेनाको रणनीतिक साझेदारी छ।

यस्तै सन् २०२२ मा उनको रुस भ्रमण भयो।  जुन रुसले युक्रेनमाथि आक्रमण गरेको समयमा भएको थियो। त्यसले  अमेरिकासँगको फरक दृष्टिकोणले सेनालाई असहज बनायो। इमरानको स्वतन्त्र नीतिले सेनाको प्रभावलाई कमजोर बनायो। 

इमरान सरकारले सैन्य नियुक्तिहरूमा थालेको हस्तक्षेप पनि तनावको प्रमुख कारण थियो। उनले अन्तर-सेवा गुप्तचर (आइएसआई) को प्रमुख नियुक्तिमा प्रभाव देखाउन खोजे। सन् २०१९ मा उनले तत्कालीन आइएसआई प्रमुख असीम मुनीरलाई हटाए। इमरानले लेफ्टिनेन्ट जनरल फैज हमिदलाई आइएसआई प्रमुख बनाए र पुनः दोहोर्‍याउन चाहन्थे। 

तर बाजवाको प्रभावमा नदिम अन्जुम प्रमुख बने। हाल लेफ्टिनेन्ट जनरल मुहम्मद असीम मलिक आइएसआई प्रमुख छन्। 

इमरान र मुनीरबिच व्यक्तिगत शत्रुता त्यहीँ समयदेखि रहेको मानिन्छ। सन् २०२२ मा मुनीर प्रधान सेना प्रमुख बनेपछि यो शत्रुता बदलाको भावमा पुगेको छ। मुनीर रहँदासम्म इमरान जेलमुक्त हुने सम्भावना कम भएको धेरैको विश्वास छ।

पाकिस्तानको सरकार फेरबदलमा अमेरिकामाथि सेना प्रयोग  गरेको आरोप नयाँ होइन। सन् १९७७ मा पूर्व प्रधानमन्त्री जुल्फीकार अलि भुट्टोले अन्तर्राष्ट्रिय षड्यन्त्रको दाबी गरेका थिए। हाल इमरानको आरोप सेनाले खारेज गरे पनि उनका समर्थकले व्यापक प्रचारबाजी गरिरहेका छन्। 

सन् २०२३ मा इमरान भ्रष्टाचारको आरोपमा गिरफ्तार भए। जसको विरोधमा पिटिआई समर्थकहरूले देशभर प्रदर्शन गरे । प्रदर्शनकारीले लाहोरको जिन्ना हाउस र रावलपिण्डीको सैन्य मुख्यालय (जिएचक्यू) मा आक्रमण गरे। 

त्यसपछि सेनाले पिटिआईका तमाम नेताहरूलाई पक्राउ गर्‍यो। र, पार्टी तोडमोड गर्न खोज्यो। सेनाले सरकारको समर्थनमा पिटिआईमाथि कठोर कारबाही गरेको छ। इमरानले यी घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका थिए। 

निर्वाचनमा हस्तक्षेपको आरोप

सन् २०२४ को आम निर्वाचनमा पिटिआई प्रतिबन्धित थियो। तर, पिटिआईको समर्थनमा देशभर स्वतन्त्र उम्मेदवार खडा भए। धेरै ठाउँमा उनीहरूले जिते पनि। तर बहुमत जुटाउन सकेनन्। बहुमत नजुटेपछि इमरान र उनका समर्थकहरूले सेनाले निर्वाचन आयोगसँग मिलेर धाँधली गरेको आरोप लगाए। 

इमरान जेलमा रहँदा पनि एक्स र मैदानमा उनका समर्थक सक्रिय छन्। त्यसपछि सेनाले लामो समय एक्स बन्द गरेको थियो। 

भारतसँगको तनावपछि हालै मात्र एक्स खोलिएको छ। इमरान समर्थक च्यानल र स्वतन्त्र व्यक्तिहरू माथि कडा बन्देज छ। एक्समा लेखेकै आधारमा धेरैलाई हिरासतमा राखिन्छ, जसलाई सेना समर्थकहरूले ‘सफ्टवेयर अपडेट’ भन्ने गर्छन्।

मुनीरको शक्ति र इमरानको चुनौती

जनरल असीम मुनीरको फिल्ड मार्सलमा बढुवाले उनको शक्ति थप बढाएको छ। उनले संसदमार्फत आफ्नो कार्यकाल तीन वर्षबाट पाँच वर्षसम्म विस्तार गरेका छन्।

सर्वोच्च अदालतमा इमरानका समर्थक र निष्पक्ष न्यायाधीशहरूलाई हटाएर उनले आफ्नो प्रभाव बलियो बनाएका छन्। २६ औँ संवैधानिक संशोधनमार्फत न्यायाधीश नियुक्तिमा सांसदलाई थप शक्ति र इजलास गठनमा नयाँ नियम लागू गरिएको छ।

भारतसँगको हालैको द्वन्द्वमा सेनाको प्रदर्शनले मुनीरको लोकप्रियता बढाएको छ।

तर, इमरानले उनलाई प्रत्यक्ष चुनौती दिइरहेका छन्। इमरान युवा र महिलाहरूमा लोकप्रिय छन्। उनी जेलमुक्त भएमा सेनाविरुद्धको अभियान तीव्र पार्ने डर मुनीरलाई छ। 

सेना र राजनीतिक शक्तिबिच सधैँको किचलो 

पाकिस्तानको स्थापना सन् १९४७ मा भारतको विभाजनसँगै भएको थियो। त्यही बेला देखि नै सेना र नागरिक सरकारबिच टकराब हुँदै आएको छ। यो द्वन्द्व कमजोर लोकतान्त्रिक संरचना, आर्थिक अस्थिरता, क्षेत्रीय विवाद, र सेनाको प्रभुत्वमा आधारित छ। 

सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सत्ता कब्जा गर्ने, सरकार नियन्त्रण गर्ने र नीति निर्माणमा हस्तक्षेप गर्ने परम्परा बनाएको छ। जसले आर्थिक, सामाजिक र क्षेत्रीय चुनौतीहरू सामना गर्नुपरिरहेको छ। 

सन्१९४७–४८को पहिलो भारत-पाकिस्तान युद्धले सेनालाई राष्ट्रिय सुरक्षाको प्रतीक बनाएको थियो। जसको दुरुपयोग सेनाले बारम्बार गर्दै आएको छ।

सन् १९५१ मा जनरल अयुब खान पहिलो पाकिस्तानी सेना प्रमुख बनेका थिए। त्यस बेला फातिमा जिन्नाह (पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाहकी बहिनी) लोकतान्त्रिक मूल्य र राजनीतिक नेतृत्वको पक्षमा बलियो आवाज थिइन्। पाकिस्तानमा आज पनि उनलाई ‘राष्ट्रकी आमा’ भनिन्छ। 

पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाह र  बहिनी फातिमा जिन्नाह 

सन् १९५८ मा सरकारमाथि भ्रष्टाचारको आरोप लगाएर अयुब खानलाई तख्ता पलट गर्न अवसर दियो। उनले पाकिस्तानमा पहिलो सैन्य शासन लागू गरे। 

सन् १९६५मा राष्ट्रपति निर्वाचनमा फातिमाले अयुबविरुद्ध उम्मेदवारी दिइन्। विपक्षी गठबन्धन (सीओपी) को तर्फबाट उनले पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा ठुलो समर्थन पाइन्। बंगलादेशका संस्थापक शेख मुजिब उर रहमान पनि फातिमाको पक्षमा खुलेका थिए।

तर धाँधली र सेनाको दबाबले अयुब विजयी भए। फातिमाको प्रयासले लोकतान्त्रिक सम्भावना देखाए पनि उनको पराजयले सेनाको प्रभाव बलियो बनायो। अयुबको शासनले सेनालाई थप आर्थिक र राजनीतिक शक्ति दियो।

सन् १९७१ को भारत-पाकिस्तान युद्ध र बंगलादेश मुक्ति सङ्ग्राममा पूर्वी पाकिस्तान स्वतन्त्र बंगलादेश बन्यो। यो सेनाको लागि ठुलो झट्का थियो। भारतसँग पाकिस्तानको ठुलो पराजय थियो।

त्यसपछि निर्वाचनमार्फत आएको जुल्फीकार अलि भुट्टो सरकारलाई सन् १९७७ मा जनरल जिया उल हकले सत्ताबाट हटाए। त्यति बेला भुट्टोलाई फाँसी दिइएको थियो। त्यसपछि जियाले इस्लामीकरण नीति लागू गरे। 

लोकतन्त्र पुनर्स्थापना र पर्दा पछाडिको प्रभाव

सैनिक शासक जियाको मृत्युपछि सन् १९८८ मा पाकिस्तानमा लोकतन्त्र पुनर्स्थापना भयो। तर बेनजिर भुट्टो र नवाज सरिफका सरकारहरू सेनाको प्रभावबाट मुक्त हुन सकेनन्।

आइएसआईमार्फत सेनाले सरकारहरूलाई अस्थिर बनाउन थाल्यो। सन् १९९९ मा जनरल परवेज मुशर्रफले नवाज सरिफको सरकारलाई हटाए। 

मुशर्रफपछि सन् २००८ मा लोकतन्त्र पुनर्स्थापना भए पनि सेनाले पर्दा पछाडिबाट हरेक पटक आफ्नो दबदबा कायम राख्दै आएको छ। 

हाल जनरल असीम मुनीरको नेतृत्वमा सेनाले शहबाज सरिफ सरकारमाथि प्रभाव राख्छ। शरीफ सरकार सेनाको कठपुतली मात्रै भएको आरोप लाग्ने गरेको छ। 

पाकिस्तानमा अमेरिकी समर्थन

विश्वभर लोकतन्त्रको वकालत गर्ने अमेरिकाले पाकिस्तानमा भने बेलाबेला सैन्य शासनलाई पनि समर्थन गर्दै आएको छ। त्यसका पछाडि भूराजनीतिक र रणनीतिक स्वार्थहरू छन्। 

सन् १९५० को दशकमा अमेरिकाले सोभियत संघको प्रभाव रोक्न सहयोगी खोज्ने क्रममा पाकिस्तानलाई रणनीतिक साझेदार बनाएको थियो। जसको कारण त्यो बेला भारत सोभियत संघको क्याम्पमा थियो। 

सन् १९५२–१९५८ मा अमेरिकाले पाकिस्तानी सेनालाई हतियार, युद्ध पोत, ट्याङ्क र प्रशिक्षण दिएको थियो। अमेरिकाले अयुब खानको सैन्य शासनलाई साम्यवादविरोधी शक्तिको रूपमा समर्थन गरेको थियो। 

सन् १९७९ मा सोभियतले अफगानिस्तानमा आक्रमण गरेपछि अमेरिकाले अर्का सैनिक शासक जियाको शासनलाई समर्थन गरेको थियो। जसले आइएसआईको प्रभाव र सेनाको आर्थिक साम्राज्य विस्तार गर्न सम्भव भयो। 

परवेज मुशर्रफ, जिया-उल-हक, अयुब खान र याह्या खान

त्यो बेला अमेरिकाले जियाको इस्लामीकरण नीतिलाई बेवास्ता गरेको थियो। सन् २००१ को सेप्टेम्बर ११ को हमलापछि अमेरिकाले मुशर्रफको शासनलाई आतंकवाद विरुद्धको साझेदार बनाएको थियो। सो क्रममा पाकिस्तानले प्राप्त गरेको अर्बौँ डलरको सहायताले सेना थप सशक्त भयो। 

अमेरिकाले पाकिस्तानमा नागरिक सरकारहरूलाई कमजोर र भ्रष्ट ठान्दै सैन्य शासनलाई स्थिर र विश्वसनीय मान्दै आएको छ। पछिल्लो समय अमेरिकाले भारतसँग साझेदारी बढाएसँगै पाकिस्तानका लागि सहायता कम गरेको छ। तर पूर्ण बन्द भएको छैन।

पाकिस्तानलाई भारतविरुद्ध सन्तुलनको शक्तिको रूपमा अमेरिकाले प्रयोग गर्दै आएको छ। कश्मीर मुद्दा र भारत-पाक तनावमा सेनालाई बलियो बनाउनु अमेरिकाको स्वार्थ थियो। यसको पछिल्लो उदाहरण हालै कश्मीर युद्धमा डोनाल्ड ट्रम्पको अडानले पनि स्पष्ट हुन्छ। पहलगामपछि इस्लामवादसँग सुरु भएको तनावमा दिल्लीले अमेरिकाबाट अपेक्षा अनुसार साथ पाएन।

सेनाको सामाजिक क्षेत्रमा बढ्दो प्रभुत्व

पाकिस्तानमा धार्मिक कट्टरतासँग सेनाको प्रभुत्व जोडिएका छन्। सेनाले कट्टरतालाई प्रभाव कायम राख्ने उपकरण बनाएको छ। पहलगाम अघि मुनीरले नै भारत र पाकिस्तान विभाजन धर्मका कारण भएको भन्दै आउने पुस्तालाई पढाउनुपर्ने बताएका थिए।

पाकिस्तानको स्थापना इस्लामको आधारमा भएको मुस्लिम राष्ट्रको रूपमा भएको थियो। जियाको शासनमा इस्लामीकरण नीतिले कट्टरतालाई बढायो। उनले इस्लामलाई सेनाको वैचारिक आधार बनाए। 

पाकिस्तानी सेनाले रियल स्टेट, बैंक, सिमेन्ट र अन्य उद्योगमा ठुलो लगानी गरेको छ। भारतसँगको तनाव र कश्मीर मुद्दाले सेनालाई ‘राष्ट्रिय सुरक्षाको रक्षक’ बनाएको छ। सेनाले भारतसँग चार युद्धहरू (१९४७,१९६५, १९७१, १९९९) लडेको छ।

लोकतान्त्रिक संस्थाहरू कमजोर हुँदा सेनालाई सत्तामा हाबी हुन सजिलो भएको छ। सेनाले आफूलाई अनुशासित र देशभक्तको रूपमा प्रस्तुत गर्छ भने राजनीतिज्ञहरूलाई भ्रष्टका रूपमा देखाउने गरेको छ। 

शङ्कास्पद राजनीतिक हत्या

पाकिस्तानको इतिहासमा शङ्कास्पद हत्याले पनि राजनीतिक अस्थिरता बढाएका छन्। यी घटनाहरूमा सेना, आइएसआई, धार्मिक कट्टरपन्थी समूह, र प्रतिद्वन्द्वीहरू माथि शङ्का गरिन्छ। 

सन् १९५१ मा पहिलो प्रधानमन्त्री लियाकत अलि खानको रावलपिण्डीमा अज्ञात समूहबाट गोली हानी हत्या भएको थियो। 

सन् १९७९ मा जुल्फीकार अलि भुट्टोलाई फाँसी दिइयो। सन् १९८८ मा जिया-उल-हक विमान दुर्घटनामा मारिए। सन् २००७ मा बेनजिर भुट्टो रावलपिण्डीमा आत्मघाती आक्रमणमा मारिइन्।

सन् २००३ र २००७ मा परवेज मुशर्रफमाथि आत्मघाती आक्रमण र गोली प्रहारको प्रयास भयो। सन् २०२२ मा इमरान पनि वजीराबादमा गोली प्रहारबाट घाइते भएका थिए। 

यी घटनामा आइएसआईले कट्टरपन्थी समूहसँग मिलेर गराएको आरोप लाग्ने गरेको छ। इमरानले पनि आफूमाथि भएको आक्रमणमा सेनाका शीर्ष अधिकारी जोडिएको आरोप लगाउँदै आएका छन्। 

इमरान र सेनाबिचको द्वन्द्वले पाकिस्तानको जटिल राजनीतिक इतिहासको निरन्तरता हो। अहिले पनि सेनाको राजनीति मात्रै होइन, सञ्चारदेखि मनोरञ्जन सबै क्षेत्रमा बलियो पकड छ। 

तर अहिले न्यारेटिभ वार सामाजिक सञ्जालमा र अझ युवा पुस्तासँग लड्नुपर्ने भएका कारण सेनालाई गाह्रो भएको छ। 

एजेन्सीको सहयोगमा

प्रकाशित: १४ जेष्ठ २०८२ १९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App