शनिबार भएको युद्धविरामपछि भारत र पाकिस्तानबीचको सीमा शान्त भएको छ। भारतीय सेनाले सोमबार ‘हालैका दिनहरूमा पहिलो शान्त रात’ भएको जनाएको छ।
यो युद्धविराम चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणपछि भएको हो। आक्रमणमा कम्तीमा ६० जनाको ज्यान गएको थियो भने हजारौँ मानिस विस्थापित भएका थिए।
यो सन् १९९९ पछिको सबैभन्दा खराब हिंसा थियो, जसले पूर्ण युद्धको विश्वव्यापी चिन्ता बढाएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युद्धविराम घोषणा गरेको केही घण्टापछि दुवै पक्षले एकअर्कालाई उल्लङ्घनको आरोप लगाएका थिए।
‘काश्मीर र अन्य सीमा क्षेत्रमा रात शान्तिपूर्ण रह्यो,’ भारतीय सेनाले भन्यो, ‘हालैका दिनहरूमा पहिलो शान्त रात भएको छ, कुनै घटना भएको छैन।’ भारत प्रशासित काश्मीरको पुँचमा गोली वा गोलाबारीबिना लगातार दोस्रो शान्त रात भएको छ।
पुँच यो द्वन्द्वमा सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक थियो। यहाँ कम्तीमा १२ जनाको ज्यान गएको थियो भने करिब ६० हजार बासिन्दामध्ये धेरैजसो घर छाड्न बाध्य भएका थिए।
आइतबारदेखि बासिन्दाहरू सहर फर्कन थालेका छन्, तर धेरैलाई युद्धविराम लामो समय नटिक्ने चिन्ता छ। बुधबार बिहान भारतले पाकिस्तानी काश्मीरमा ‘आतङ्कवादी शिविर’ मा क्षेप्यास्त्र आक्रमण गरेपछि द्वन्द्व तीव्र भएको थियो।
यो आक्रमण अप्रिल २२ मा भारत प्रशासित काश्मीरमा पर्यटकमाथि भएको आक्रमणपछि भएको थियो, जसमा २६ सर्वसाधारणको ज्यान गएको थियो।
भारतले पाकिस्तानमाथि आक्रमणमा समर्थन गरेको आरोप लगाएको थियो, तर पाकिस्तानले अस्वीकार गर्दै गोलाबारीसहित जवाफी आक्रमण गरेको थियो। पाकिस्तानले पाँच भारतीय लडाकू विमान खसालेको दाबी गरेको छ, तर नयाँदिल्लीले यसबारे केही भनेको छैन।
सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले काश्मीरको सीमित स्वायत्तता खारेज गरेपछि आतङ्कवादी गतिविधि बढेको छ। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि काश्मीरलाई लिएर दुवै देशले पूर्ण दाबी गर्दै धेरै युद्ध लडेका छन्। एएफपी
प्रकाशित: २९ वैशाख २०८२ १२:२४ सोमबार





