पाकिस्तानले अहिलेसम्म ७७ भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानको सरकारी सञ्चार संस्था पाकिस्तान टेलिभिजन कर्पोरेशन (पिटिभी) ले यस्तो जानकारी दिएको हो।
पिटिभीले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, ‘मे ८ को साँझसम्म, पाकिस्तानले २९ भारतीय ड्रोन खसालेको थियो, जबकि हिजो रातिदेखि थप ४८ ड्रोनहरू नष्ट गरिएको छ।’ पाकिस्तानले भारतीय आक्रमणको उपयुक्त जवाफ दिइरहेको दावा पनि गरेको छ।
गत २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणलाई लिएर दुई देशबिच तनाव जारी छ। सो घटनामा पाकिस्तानको हात रहेको आरोप भारतको छ।
तर उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गर्दै स्वतन्त्र अनुसन्धानको माग गर्दै आएको छ। सोही आक्रमणको बदला लिन भन्दै भारतले बुधबारदेखि ’अपरेशन सिन्दूर’ चलाएको हो। त्यसयता मुख्य प्रतिद्वन्द्वीहरूले कश्मीरमा आफ्नो विवादित सीमा पार गरेर ड्रोन र क्षेप्यास्त्रहरूका साथै तोप चलाएका छन्।
प्रकाशित: २६ वैशाख २०८२ १४:५० शुक्रबार