७ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान बिच युद्ध किन नहोस् भन्ने चाहन्छ चीन?

पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणपछि भारत र पाकिस्तान बिचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ। यस घटनाक्रममा विश्वका धेरै देशले प्रतिक्रिया दिएका छन्। ती देशमा चीन पनि समावेश छ ।  

चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलालाई ‘दुःखद’ भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थालाई लिएर ‘चिन्तित’ भएको बताएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार, ‘भारत र पाकिस्तान एक अर्काका छिमेकी हुन् र सधैँ रहनेछन्। ती दुवै चीनका पनि छिमेकी हुन्। चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्दछ।’

मन्त्रालयका प्रवक्ताले दुवै देशलाई ‘शान्त रहन, संयम अपनाउन र यस्ता कार्यहरूबाट बच्न आग्रह गरेका छन्, जसले स्थिति थप जटिल बनाउन सक्छ’, भनेका छन् ।

विशेषज्ञहरूका अनुसार चीनले कहिल्यै पनि पाकिस्तान अस्थिर होस् भन्ने चाहँदैन। त्यसो हुँदा उसले पाकिस्तानमा गरेको  करोडौँको लगानी जोखिममा पर्दछ। हुन पनि चीनले पाकिस्तानमा २००५ देखि २०२४ को बिचमा लगभग ६८ बिलियन अमेरिकी डलर लगानी गरेको छ। यसबाहेक चीनले पाकिस्तानमा चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) र बेल्ट एन्ड रोडअन्तर्गत ठुलो लगानी गरिरहेको छ । प्रस्ट छ, यस्तो अवस्थामा चीन मध्य एसियालाई सडकबाट जोड्ने आफ्नो सपना अधुरो रहोस् भन्ने चाहँदैन। 

चिनियाँ मामिलाका जानकार र बेनेट विश्वविद्यालयमा एसोसिएट प्रोफेसर डा. तिलक झा पनि यस कुरामा पूर्ण रूपमा सहमत देखिन्छन्। उनी भन्छन्, ‘यस क्षेत्रमा यदि तनाव बढ्छ भने यसको प्रत्यक्ष असर चीनको लगानी र सपनाहरूमा पर्छ। चीन कहिल्यै चाहँदैन कि उसको हितलाई असर गरोस्।’

चीन र पाकिस्तानबिच कूटनीतिक सम्बन्ध २१ मे १९५१ मा सुरु भएको थियो । विशेष गरी सन १९६३ मा  पाकिस्तानले चीनसँगको सीमा विवाद समाप्त गरी सम्बन्ध झन् बलियो बनाएको थियो । पाकिस्तान र चीनबिच धेरै दशकदेखि रक्षा सहयोग र कूटनीतिक सम्बन्ध रहेको छ। यस अवधिमा आर्थिक दृष्टिकोणबाट पनि पाकिस्तानको चीनमा निर्भरता बढेको छ । 

यसअघि चीनले पाकिस्तानलाई हतियार आपूर्ति त गर्ने गरेको छ तर भारतविरुद्ध कुनै युद्धमा प्रत्यक्ष साथ दिएको छैन। विशेष गरी पश्चिमी देशहरूसँग भारतको नजिकिँदो सम्बन्ध बढेपछि पाकिस्तान चीनतिर ढल्किएको हो। ऋणदेखि एफएटीएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) को कडा कारबाहीबाट बच्ने अवसरहरूमा चीन पाकिस्तानको मद्दतको लागि अगाडि आएको छ। तर यस अवधिमा चीनले भारतसँगको सम्बन्धमा पनि सन्तुलन कायम राखेको छ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा चाइना स्टडीजका प्रोफेसर आरवरा प्रसाद भन्छन्, ‘चीनले भारत र पाकिस्तानबिच कहिल्यै युद्ध वा युद्धको  स्थिति चाहँदैन। युद्ध भयो भने चीनको हित प्रभावित हुनेछ । र, मध्य एसियामा उसको लागि संकट खडा हुनेछ।’

हाल व्यापारिक शुल्कलाई लिएर अमेरिकासँग एक अलग स्तरको तनाव चलिरहेको अवस्थामा चीनले भारतसँग उसको सम्बन्ध राम्रो रहोस् भन्ने चाहने दाबी उनको छ।  प्रसादका अनुसार चीन आफ्नै हिततिर बढी झुकाव राख्छ र कुनै विवादमा फस्न चाहँदैन । यही कारणले चीनले पाकिस्तानको तर्फबाट कहिल्यै पनि भारतविरुद्ध कुनै पनि युद्धमा प्रत्यक्ष साथ दिएको छैन । 

चिनियाँ मामिलाका जानकार झा भन्छन्, ‘यस समय चीन पाकिस्तान र भारतसँग जोडिएको सिन्जियाङ प्रान्तमा विकास चाहन्छ। यो त्यति बेला मात्र सम्भव छ जब पाकिस्तानमा उसको चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर प्रोजेक्ट र बेल्ट एन्ड रोड परियोजना सफल हुनेछ ।  भारतले पहिलेदेखि नै यसको विरोध गर्दै आएको छ। यस्तो अवस्थामा ऊ कदापि चाहँदैन कि यसको विरोधको स्तर थप बढोस्।’

हाल चीन  पाकिस्तानको सबैभन्दा ठुलो व्यापारिक साझेदार र आयातको सबैभन्दा ठुलो स्रोत हो। चीन कस्टम डिपार्टमेन्टको अनुसार, चीन र पाकिस्तानबिच २०२४ मा द्विपक्षीय व्यापार २३.१ बिलियन अमेरिकी डलर पुगेको छ। गत वर्षको तुलनामा यो वृद्धि हो।

त्यस्तै पाकिस्तानमा चीनको निर्यात १७ प्रतिशतले बढेर २० दशमलव २ बिलियन अमेरिकी डलर पुगेको छ र आयात १८.२ प्रतिशतले घटेर २.८ बिलियन अमेरिकी डलरमा सीमित भएको छ । चीनले पाकिस्तानलाई २०२४ मा सबैभन्दा धेरै इलेकट्रोनिक मेसिनरी र उपकरण निर्यात गरेको थियो। यसको बजार मूल्य लगभग ५.६ बिलियन अमेरिकी डलर थियो। यसमध्ये ३५ प्रतिशत सेमी कन्डक्टर डिभाइस र २७ प्रतिशत स्मार्टफोनसहित टेलिफोन सेट थिए। चीनले पाकिस्तानलाई २.४ बिलियन अमेरिकी डलरको परमाणु रियाक्टर, बॉयलर, मेसिनरी र यान्त्रिक उपकरण निर्यात गरेको थियो। यसका साथै १.३ बिलियन अमेरिकी डलरको फलाम र इस्पात उत्पादनको निर्यात पनि गरेको थियो।

झाका अनुसार यति ठुलो स्तरमा व्यापार भएका देशको  अवस्था राम्रो रहोस्, र आर्थिक  हितलाई सुरक्षित गर्न सकियोस् भन्ने चाहना चीनको छ । पछिल्ला वर्षमा अमेरिकासँग बढ्दो दूरीपछि पाकिस्तान चीनतिर ढल्किँदै गएको छ। हाल चीन र पाकिस्तानले संयुक्त सैन्य अभ्यास मात्र गर्दैनन्, बरु पाकिस्तानले ठुलो मात्रामा चीनबाट आधुनिक हतियार खरिद गर्दछ। 

स्टक होम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को एक रिपोर्ट अनुसार, पछिल्लो पाँच वर्षको अवधिमा पाकिस्तानमा हतियारको आयातको ८१ प्रतिशत हिस्सा चीनबाट भएको थियो। पछिल्लो पाँच वर्षमा पाकिस्तानले पाएका पाँचमध्ये चार हतियार चिनियाँ हुन्। चीनले पाकिस्तानलाई पीएल–१५ मिसाइलहरू दिएको छ। पीएल–१५ र एसडी–१० जस्ता मिसाइलहरू चीनको आधुनिक बीभीआर प्रविधिबाट बनेका छन्। यी मिसाइलहरूले जहाजहरूलाई लामो दूरीबाट हावामा नष्ट गर्ने क्षमता राख्छन्। 

भारत प्रशासित पहलगाम हमलापछि पाकिस्तानकी पूर्व कूटनीतिज्ञ तस्नीम असलमले भनेकी छन्,  ‘चीनले पाकिस्तानको माध्यमबाट खाडी देशहरूसम्म पहुँच सुनिश्चित चाहेको छ ।’

असलमका अनुसार चीन यस क्षेत्रको ठुलो देश हो र उसको दुवै प्रतिद्वन्द्वी देशहरूसँग व्यापारिक सम्बन्ध छ।  यो क्षेत्रमा शान्ति व्यवस्था कायम रहँदा चीनको हित सुनिश्चित रहन्छ। यसै गरी भारत चीनको एक ठुलो व्यापारिक साझेदार हो । स्वाभाविक छ, चीन  भारतसँग बलियो सम्बन्ध राख्न चाहन्छ।

भारत, चीन र पाकिस्तानको  सम्बन्धलाई लिएर तिलक झा भन्छन्, ‘यी सबै देश प्रतिद्वन्द्वी हुनुका साथै छिमेकी पनि हुन्। यस्तो अवस्थामा यदि क्षेत्रमा कुनै अस्थिरता हुन्छ भने नोक्सान सबैलाई नै हुनेछ।’

–बिबिसीबाट साभार 

प्रकाशित: २५ वैशाख २०८२ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App