२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहलगाम विवादले भारत-पाकिस्तानको युद्ध तयारी तीव्र, के भन्छन् अमेरिका-चीन?

कश्मीरको पहलगाममा भएको आक्रमणले भारतसँग तनाव चुलिएपछि पाकिस्तानी सेनाले शनिबार ‘अब्दाली क्षेप्यास्त्र’ को सफल परीक्षण गरेको छ। भारत–प्रशासित कश्मीरको पहलगाममा गत महिना २८ पर्यटकको हत्या भएको घटनामा भारतले पाकिस्तानमाथि आरोप लगाएको छ। यो घटनाले दुई आणविक शक्ति राष्ट्रबिच युद्धको खतरा बढाएको छ।

पाकिस्तान सेनाले ‘अब्दाली क्षेप्यास्त्र प्रणाली’ को प्रशिक्षण प्रक्षेपण गरेको जनाएको छ। यो क्षेप्यास्त्रले ४५० किलोमिटर (२७९ माइल) सम्म प्रहार गर्न सक्छ। ‘यो परीक्षण सेनाको कार्यक्षमता र क्षेप्यास्त्रको प्राविधिक पक्ष जाँच्न गरिएको हो,’ सेनाले भनेको छ।

तर, परीक्षण कहाँ गरिएको हो, त्यसको जानकारी दिइएको छैन। यो परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको जवाफमा सेनालाई ‘पूर्ण स्वतन्त्रता’ दिएको घोषणापछि भएको हो।

पाकिस्तानले आक्रमणमा संलग्नता नरहेको भन्दै स्वतन्त्र छानबिनको माग गरेको छ। यसै साता उसले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो। दिल्लीबाट हुने कुनै पनि आक्रामक कदमको जवाफ दिने प्रतिबद्धता इस्लामावादले दोहोर्‍याएको छ।

कश्मीरको विषयमा पटक–पटक युद्ध लडेका भारत र पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न आग्रह गरेको छ। चीनले संयमता अपनाउन र तत्काल छानबिन गर्न भनेको छ। उसको बयानले पाकिस्तानप्रति झुकाव देखिन्छ। 

युरोपेली सङ्घले अवस्थालाई ‘गम्भीर र चिन्ताजनक’ भनेको छ भने अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई ‘क्षेत्रीय द्वन्द्व नहुने’ गरी प्रतिक्रिया दिन र पाकिस्तानलाई ‘आतङ्ककारी नियन्त्रण गर्न’ आग्रह गरेका छन्। अमेरिकाले पहलगाम हमलाको निन्दा गर्दै भारतलाई समर्थन जनाएको छ। तर पाकिस्तानको स्पष्ट आलोचना गरेको छैन।

पाकिस्तानी विश्लेषकहरूले पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई भारत र विश्वका लागि चेतावनीका रूपमा हेरेका छन्। ‘यसले पाकिस्तानसँग भारतलाई जवाफ दिने स्रोत र क्षमता छ भन्ने देखाउँछ। यो सन्देश भारतका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि हो कि हामी तयार छौं,’ सैन्य विश्लेषक हसन अस्करी रिजवीले एएफपीलाई भनेका छन्।

शुक्रबार पाकिस्तानी सेनाप्रमुख जनरल सैयद आसिम मुनिरले वरिष्ठ सैन्य कमान्डरहरूसँग भारत–पाकिस्तान तनावबारे छलफल गरिरहेका छन्। उनले सीमाक्षेत्रमा सतर्कता र सैन्य तयारी बढाउन जोड दिए।

भारतीय रक्षा स्रोतका अनुसार दुवै देशले नियन्त्रण रेखामा नौ रातदेखि लगातार गोलीबारी गरिरहेका छन्। करिब १.५ करोड जनसङ्ख्या भएको मुस्लिम–बहुल कश्मीर क्षेत्र भारत र पाकिस्तानबीच बाँडिएको छ, तर दुवैले यो क्षेत्र आफ्नो भएको दाबी गर्छन्। एजेन्सी

प्रकाशित: २१ वैशाख २०८२ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App