१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मू-कश्मीरमा आतंकवादी आक्रमण : नेपालीसहित २८ को मृत्यु, मोदीले साउदी भ्रमण छोट्याए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको आतंकवादी आक्रमणका कारण साउदी अरबको भ्रमण छोट्याएर आज राति भारत फर्कने निर्णय गरेका छन्।

यो आक्रमण २२ अप्रिल २०२५ मा बैसरानमा भएको हो, जहाँ आतंककारीले पर्यटक, स्थानीय र व्यवसायमा संलग्न व्यक्तिमाथि गोली चलाए। घटनामा २८ जनाको मृत्यु भएको छ, जसमा २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र एक युएई नागरिक छन्। ३६ जना घाइते छन्। सामाजिक सञ्जालमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको उल्लेख छ, तर आधिकारिक पुष्टि बाँकी छ।

आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित लश्कर-ए-तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ।

मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। उनले दोषीलाई कारबाही र आतंकवादविरुद्ध कडा कदम चाल्ने बताए। गृहमन्त्री अमित शाहले श्रीनगर पुगेर सुरक्षा अवस्थाको मूल्याङ्कन गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणप्रति दुख व्यक्त गर्दै भारतलाई समर्थन जनाएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा भनिन्, ‘पाहलगामको पर्यटकीय स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई जानकारी दिइएको छ। दर्जनौंको मृत्यु र धेरै घाइते भएको प्रारम्भिक जानकारी छ। ट्रम्प चाँडै मोदीसँग कुरा गरी भारतलाई अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्नेछन्।’

ट्रम्पले ट्रुथ सोशलमा लेखे, ‘कश्मीरको पीडादायी समाचारले दुखी बनाएको छ। अमेरिका आतंकवादविरुद्ध भारतसँग दृढतापूर्वक उभिनेछ। मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्छौं।’ एएनआई

प्रकाशित: १० वैशाख २०८२ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App