११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हामीसँग युक्रेनबाहेक अरु धेरै काम छन्, नतिजा नआए वार्ताबाट निस्कन्छौँ : अमेरिका

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट फर्कने क्रममा वासिङ्टनले युक्रेन युद्धविराम सम्भव छ कि छैन भन्ने चाँडै निर्णय गर्नुपर्ने बताएका छन्।

उनले बोर्गेट विमानस्थलमा पत्रकारहरूसँग भने, ‘हामीले अब केही दिनभित्रै यो काम गर्न सकिन्छ कि सकिँदैन मुल्याङ्कन गर्नु आवश्यक छ, किनभने यदि त्यसो भएन भने मलाई लाग्छ कि हामी अन्य योजनाका साथ अगाडि बढ्नेछौँ।’ ‘यदि युद्धविराम सम्भव भएन भने हामीले ध्यान दिनुपर्ने अन्य प्राथमिकताहरू पनि छन्।’

रुबियोले भने, ‘अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र हामी यसको अन्त्य चाहन्छौं, तर यो हाम्रो युद्ध होइन।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता सुरु गर्न सहमत भए पनि किभ र युरोपेली सहयोगीहरूलाई बेवास्ता गरेका छन्। युरोपेली शक्तिहरू भने वार्तामा बस्न चाहन्छन्।

ट्रम्पको युद्ध अन्त्य गर्ने प्रयास असफल भएको छ र पुटिनले पूर्ण युद्धविरामको खण्डन गरेका छन्। रुबियोले युरोपेली अधिकारीहरूले बिहीबारको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक’ बनेको बताए।

‘हामी चाहन्छौँ उनीहरूले वार्तामा समन्वयकारी भूमिका खेल्नेछन्। मेरो विचारमा बेलायत, फ्रान्स र जर्मनीले हामीलाई वार्ता अघि बढाउन मद्दत गर्न सक्छन् र त्यसपछि यसलाई समाधानको नजिक पुर्‍याउन सकिन्छ,’ उनले भने।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली मुलुकहरूले विचार गर्नेमा उनले आशा व्यक्त गरे।
उनले भने, ‘रुसविरुद्धको प्रतिबन्धको एउटा हिस्सा र यदि यो सम्झौताको भाग हो भने तीमध्ये धेरै युरोपेली प्रतिबन्धहरू हुन् जसलाई हामी हटाउन सक्दैनौं।’

युरोपेली मुलुकहरूले गत महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए। एएफपी

प्रकाशित: ५ वैशाख २०८२ १९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App