२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
शिक्षा

५१औं दीक्षान्त समारोह: प्राप्त ज्ञान र सिप स्वदेशमै लगानी गर्ने उत्कृष्ट विद्यार्थीको भनाइ

आशाको किरण जगाउँदै त्रिवि

काठमाडौंको दशरथ रंगशालामा बिहीबार आयोजना गरिएको त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा पदक प्राप्त गरेका उत्कृष्ट विद्यार्थी गौरवान्वित देखिन्थे। यसपटक विद्यार्थीले गर्वका साथ पदक ग्रहण गर्दै आफूले प्राप्त गरेको ज्ञानलाई स्वदेशमै बसेर विभिन्न क्षेत्रमा लगानी गर्ने सुनाए। दीक्षान्त समारोहमा भेटिएका पदक प्राप्त उत्कृष्ट विद्यार्थीले आफूले हासिल गरेको ज्ञान र सिपलाई देशमै लगानी गर्ने प्रतिबद्धता जनाए।

विगतमा युवा विद्यार्थी एक हातमा पदक र अर्को हातमा बिदेसिने भिसाको तयारी गरिरहेको अवस्थामा भेटिन्थे, यसपटक त्यसमा परिवर्तन आएको छ। मुलुकको बदलिँदो परिस्थितिले स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने दीक्षित विद्यार्थीको भनाइबाट छ।

अर्थतन्त्रलाई सबल बनाउने छु

पाल्पा तानसेनका कमल पौडेलले यसपटक तीनवटा पदक प्राप्त गरेका छन्। पेसाले इन्जिनियर उनी एमएमा अर्थशास्त्र विषयमा ३.७७ जिपिए प्राप्त गरी सर्वप्रथम भई तारापद चौधरी स्वर्णपदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार गरी तीनपदक पुरस्कार प्राप्त गरेका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीका हातबाट तीन पदक प्राप्त गर्दा उनी गौरवान्वित बने। बुबासँगै दीक्षान्त समारोहमा उपस्थित पौडेलले प्राप्त पदकले उनलाई थप अवसर दिने विश्वास व्यक्त गरे। ‘मेरो ब्याचका सहपाठी सबै बिदेसिएका छन् तर मेरो स्वदेशमै बसेर काम गर्ने इच्छा छ’, पौडेलले पदक प्राप्त गरेपछि आफ्नो अनुभव सुनाए, ‘विदेशमा गएका साथीहरूका पीडा मैले सुनेको छु। गर्न सक्ने र चाहनेलाई स्वदेशमै अवसर छ। मैले यो अवसर पनि स्वदेशमै पाएको छु।’

बुटवल यातायात व्यवस्था विभागमा सवारी परीक्षकका रूपमा कार्यरत उनले जोड दिँदै भने, ‘मेरो स्नातक मेकानिकल इन्जिनियरमा हो, तर देशको अर्थतन्त्र कमजोर देखेर मलाई अर्थशास्त्रमा स्नातकोत्तर तह हासिल गर्न रुचि जाग्यो। मैले धेरै अनलाइनबाट अनुसन्धान गरें। आज सफलता प्राप्त गर्दा मनै फुरुङ बन्यो। यी पदक भविष्य कोर्नका लागि कोसेढुंगा बन्ने विश्वास छ।’

उनले आफू सर्वोत्कृष्ट स्थान प्राप्त गर्ने उद्देश्यले कहिल्यै नपढेको सुनाए। ‘देशको अर्थतन्त्र बुझ्न इन्जिनियरबाट अर्थशास्त्र विषयमा प्रवेश गरें। अध्ययन-अनुसन्धान गर्दै जाँदा निकै रोचक लाग्यो’, कमलले सुनाए, ‘आफूले प्राप्त गरेको ज्ञान र सिप अगामी दिनमा सरकारी सेवामा रहेरै देशको अर्थतन्त्र सबल बनाउने काममा लगाउने छु।’ उनले उत्सुकता व्यक्त गरे, ‘म अब स्वदेशमै अवसर खोज्छु।’

स्वच्छ न्यायालय बनाउने छु

आफूले दिनरात मेहनत गरी प्राप्त गरेको ज्ञान र सिपलाई देशको न्यायालय स्वच्छ बनाउने काममा लगाउने लोकराज ज्ञवाली पदक र पुरस्कार विजेता भावना अधिकारीको भनाइ छ।

एलएलबी परीक्षामा ३.८० जिपिए प्राप्त गरी सर्वप्रथम स्थान हासिल गरेकी २५ वर्षीया भावना अझै पनि पशु सेवा विभागमा कानुन अधिकृतका रूपमा कार्यरत छिन्।

सलार्हीकी भावनाको पारिवारिक वातावरण नै देशभक्तिमा ओतप्रोत भएकाले पनि होला, विदेशतर्फ कहिल्यै आकर्षण नभएको उनले स्पष्ट पारिन्। ‘बाबा सरकारी स्कुलको शिक्षक भएकाले उहाँको सपना पनि छोरी देशमै बसेर सरकारी सेवामै काम गरोस् भन्ने रहेको छ’, भावनाले नागरिकसँगको भेटमा भनिन्, ‘उच्च मनोबल र बलियो आत्मविश्वास भए अवसर स्वदेशमै छ।’

उनले थपिन्, ‘मैले पनि लोकसेवामा दोस्रो नम्बरमा नाम निकालेर कानुन अधिकृतका रूपमा प्रवेश गरें। अब मुलुकको न्याय क्षेत्र स्वच्छ बनाउने सपना छ। पदकले थप जिम्मेवारी थपेको छ।’

विदेशमा ज्ञान हासिल गरेर स्वदेशमा लगानी गर्नुपर्छ

३.७९ जिपिए प्राप्त गरी एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा सर्वप्रथम स्थान हासिल गरी डा. दुबसु क्षेत्री स्वर्ण पदक प्राप्त गरेका सुजन लामिछाने सिभिल इन्जिनियर पास गरी जेनेभामा कार्यरत रहेको र पदक लिन नेपाल आएको बताउँछन्। ‘म सिभिल इन्जिनियर पढेपछि धेरैले बिदेसिन सल्लाह दिए।

विदेशमा आर्थिक हिसाबले धेरै कमाइ हुन्छ तर त्यहाँ पारिवारिक खुसी र शान्ति पाइँदैन’, सुजनले अनुभव सुनाए, ‘मेरा बुबा निजामती सेवाको अवकाशप्राप्त कर्मचारी र आमा पनि निजामतीमै कार्यरत हुनुहुन्छ। पारिवारिक वातावरण नै देशभक्तिको छ।’

उनले थपे, ‘सादा जीवन उच्च विचारका साथ मैले स्वदेशमै बसेर काम गर्ने सोच बनाएँ। विदेशबाट प्राप्त गरेको ज्ञान देशको परराष्ट्र नीति विकासमा लगाउने छु। अर्थतन्त्र विकासमा जोड दिने छु।’

बैंकिङ क्षेत्र मजबुत बनाउने लक्ष्य छ

३.९३ जिपिए प्राप्त गरी स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबिए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरी श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक प्राप्त गरेकी रक्षा भेटुवालले देशको बैंकिङ क्षेत्र मजबुत बनाउने लक्ष्य लिएकी छन्।

‘विदेशमा गएर दुःख गर्नुको साटो त्यति नै मेहनत स्वदेशमा गर्दा मिल्ने खुसी अतुलीय हुन्छ’, २५ वर्षीया रक्षाले भनिन्, ‘आधा दर्जन देशको भ्रमण गरेकी छु। त्रिविको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरकै छ। थोरै व्यावहारिकतर्फ जोड दिनुपर्ने देखिन्छ।’ उनले थपिन्, ‘मैले प्राप्त गरेको ज्ञान देशको बैंकिङ क्षेत्र मजबुत बनाउनमा प्रयोग गर्ने छु। स्वदेशमै काम गर्ने छु।’

स्वदेशमै बसेर जलवायु वित्तमा काम गर्ने इच्छा

एमएस्सी वातावरण विज्ञान विषयमा ३.९२ जिपिए प्राप्त गरी त्रिभुवन विश्वविद्यालय वातावरण विभाग कीर्तिपुरबाट सर्वप्रथम स्थान हासिल गरी मदन विद्या वातावरण विज्ञान पुरस्कार प्राप्त गरेकी निरु बस्नेतले जलवायु परिवर्तन क्षेत्रमा नेपालमै बसेर काम गर्ने सोच बनाएकी छन्।

एनआइएमबी बैंकमा वातावरण र समाज जोखिम विश्लेषकका रूपमा काम गरिरहेकी उनी नेपालको जलवायु वित्त कमजोर रहेकाले आफूले यही क्षेत्रमा योगदान दिने बताइन्।

दीक्षान्तका लागि आवेदन दिएका १६ हजार तीन सय ८० विद्यार्थी र अभिभावक गरी ४० हजारको सहभागिता रहेको त्रिविको ५१औं दीक्षान्त समारोहमा विश्व प्रसिद्ध भौतिकशास्त्री प्राडा ताकाआकी काजिताका साथमा त्रिविले ८९ हजार एक सय ९१ दीक्षित विद्यार्थीको शैक्षिक सफलता मनाएको उपकुलपति प्रा.डा. दीपक अर्यालले बताए।

त्रिविको सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यार्थीले दीक्षान्त समारोहमा प्राप्त गरेको प्रमाणपत्र मात्र नभएर क्षमताको पहिचान गर्ने चिनारीका रूपमा रहेको अवगत गराए।

‘नेपालको समृद्धिको साँचो युवाका हातमा छ। व्यावहारिक र ज्ञानविज्ञानका केन्द्र नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसात गर्ने अर्थतन्त्र निर्माणको मुटु बन्नुपर्छ’, सहकुलपति पुनले अनुरोध गरे, ‘प्राप्त गरेको ज्ञानलाई सेवा र अर्थतन्त्रको विकासमा बदल्नुहोस्।’

प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिवर्तन गर्ने सरकारी तयारी

प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले विश्वविद्यालयमा देखिएको चरम राजनीति दूर गर्न प्रधानमन्त्री कुलपति हुने व्यवस्था अन्त्य गर्न सरकारले गृहकार्य सुरु गरेको बताइन्।

‘शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेरै हामीले पहल थालेका छौं’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बोध भएको छ।’

उनले थपिन्, ‘यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ। विश्वविद्यालय शिक्षा अनुसन्धानमूलक बनाई विश्वविद्यालयलाई अनुसन्धानको केन्द्र बनाउने पहल हुनुपर्छ।’

प्रमुख अतिथि विश्व प्रसिद्ध नोबेल पुरस्कार विजेता जापानी वैज्ञानिक प्राडा ताकाआकी काजिताले विद्यार्थीलाई शुभकामना दिँदै आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे। उनले विद्यार्थीलाई आत्मविश्वासका साथ अगाडि बढे बाटो सहज हुने होइन कि बरु त्यो बाटोमा हिँड्न थप शक्ति मिल्ने सुझाव दिए।

‘सन् १९८६ मा मैले विद्यावारिधि गरेपछि न्युट्रिनोको अध्ययन सुरु गरें, जसमा धेरैले शंका गरे’, उनले आफ्नो विद्यावारिधिको १० बर्से लामो अनुसन्धानबारे अनुभव सुनाए, ‘उनीहरूले अर्कै सजिलो बाटो रोज्न सल्लाह पनि दिए तर मैले हार मानिनँ। यसको परिणामस्वरूप १० वर्षपछि सन् १९९८ मा हामीले न्युट्रिनोमा द्रव्यमान हुने तथ्य पत्ता लगायौं। यसले भौतिकशास्त्रको बुझाइ नै बदलिदियो।’

हरेक वर्ष पाँच लाख बढी विद्यार्थीले १० कक्षा पास गर्छन्, तीमध्ये ५० हजार बिदेसिन्छन्। ५० हजारले त्रिविबाहेकका विश्वविद्यालय रोज्छन्। चार लाख विद्यार्थीलाई शिक्षित, दीक्षित र प्रशिक्षित गर्ने काम त्रिविले नै गरिरहेको छ।

अर्को पक्ष १० वर्षभित्र देशमा सातवटा नयाँ विश्वविद्यालय सञ्चालनमा आए, तर ती विश्वविद्यालयमा आजको मितिसम्म पनि त्रिविको एक आंगिक कलेज बराबर पनि विद्यार्थी छैनन्। के ती विश्वविद्यालय पदाधिकारी मात्र नियुक्तिका लागि खुलेका हुन्? त्रिवि दीक्षान्त समारोहमा सहभागीहरूको प्रश्न छ।

प्रकाशित: ११ पुस २०८२ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App