१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसी आक्रमणपछि ट्रम्पको टिप्पणी: ‘युद्ध सुरु गर्ने ज़ेलेन्स्की हो’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि हालै भएको भीषण रूसी आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर ज़ेलेन्स्कीमाथि युद्ध सुरु गरेको आरोप लगाएका छन्।

आइतबार सुमी सहरमा भएको रूसी आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु र ११७ जना घाइते भएपछि ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘‘२० गुणा ठूलो राष्ट्रमाथि युद्ध थालेर मानिसहरूले हतियार दिउँला भन्ने आशा गर्नु मूर्खता हो।’’

उनले युद्धका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै ज़ेलेन्स्की र पूर्व राष्ट्रपति जो बाइडनलाई पनि दोषी ठहर गरे।

‘‘करोडौँ मानिसको मृत्यु तीनजनाको कारण भएको हो। पहिलो पुटिन, दोस्रो बाइडन, र तेस्रो ज़ेलेन्स्की,’’ ट्रम्पले सोमबार भने।

यद्यपि, विभिन्न अन्तर्राष्ट्रिय निकायहरूका अनुसार सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएयता मृतकको संख्या लाखौंमा सीमित छ, करोडौं होइन।

ज़ेलेन्स्कीप्रति निरन्तर आलोचना

राष्ट्रपति ट्रम्पले ज़ेलेन्स्कीमाथि विगतदेखि नै आलोचनात्मक टिप्पणी गर्दै आएका छन्। हालैका दिनमा दुबै नेताबीचको सम्बन्ध झनै चिसिएको छ।

फेब्रुअरीमा वासिङ्टन डीसीमा भएको भेटका क्रममा ट्रम्पले ज़ेलेन्स्कीलाई ‘‘तेस्रो विश्वयुद्धसँग खेलबाड गरेको’’ आरोप लगाएका थिए।

ज़ेलेन्स्कीले शान्तिवार्ता सुरु नगरेकोमा गुनासो गर्दै ट्रम्पले भने, ‘‘जब युद्ध सुरु गर्छौ, जित्ने सुनिश्चितता हुनु पर्छ। तर उनी सधैँ मिसाइल किन्ने प्रयासमा मात्रै देखिन्छन्।’’

पुटिनसँग ट्रम्पको ‘सकारात्मक’ सम्बन्ध

यसको विपरीत, ट्रम्पले पुटिनसँगको सम्बन्ध सुधार गर्न प्रयासरत देखिएका छन्। ट्रम्पले केही हप्ता अघि पुटिनसँग भएको फोनवार्तालाई ‘‘उत्कृष्ट’’ भनेका थिए। रूसी राष्ट्रपतिले ट्रम्पलाई उपहारस्वरूप चित्र पनि पठाएका थिए।

यही फेब्रुअरीमा अमेरिकाले संयुक्त राष्ट्रसंघको एउटा प्रस्तावमा भोटिङ गर्दा रूसलाई ‘‘आक्रामक राष्ट्र’’ भन्ने संज्ञामा असहमति जनाएको थियो, जसमा रूस र अमेरिका दुबैको मत समान थियो।

शुक्रबार, ट्रम्पका विशेष दूत स्टीभ विटकोफले सेंट पिटर्सबर्गमा पुटिनसँग करिब पाँच घण्टा लामो बैठक गरेका थिए।

विटकोफका अनुसार छलफल ‘गम्भीर र आशाजनक’ रहेको थियो। पुटिनले स्थायी शान्तिको प्रस्तावसहित युक्रेनी भूभाग र नेटोको अनुच्छेद ५ (आक्रमणमा सहयोगको ग्यारेन्टी) बारेमा समेत कुराकानी गरेका थिए।

विटकोफले सोमबार फक्स न्यूजलाई भने, ‘‘हामी विश्वव्यापी रूपमा महत्वपूर्ण उपलब्धिको नजिक छौं। अमेरिका–रूस सम्बन्धलाई आर्थिक साझेदारीमार्फत पुनः परिभाषित गर्ने मौका छ।’’

ज़ेलेन्स्कीको आग्रह

रूसी आक्रमणअघि दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ज़ेलेन्स्कीले ट्रम्पलाई युक्रेन भ्रमणको आग्रह गरेका थिए। उनले भनेका थिए, ‘‘कुनै पनि निर्णय वा सम्झौताअघि यहाँ आइपुग, सर्वसाधारण, अस्पताल, बालबालिका, चर्च – युद्धले नष्ट गरेका यथार्थ देख।'

रूसले सुमीमा युक्रेनी सैनिकहरू भेला भएको ठाउँमा दुईवटा इस्कान्डर मिसाइल प्रहार गरेको दाबी गरे पनि प्रमाण भने दिएको छैन। ट्रम्पले भने आफू ‘हत्या रोक्न’ चाहेको बताएका छन् तर उनले आफ्ना प्रस्तावबारे विस्तृत विवरण दिएका छैनन्।

प्रकाशित: २ वैशाख २०८२ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App