१८ चैत्र २०८१ सोमबार
image/svg+xml १०:३६ पूर्वाह्न
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको रूसलाई ठूलो सैन्य सहयोग : थप ३ हजार सैनिक र हतियार पठाउने

उत्तर कोरियाले सन् २०२५ मा रूसलाई थप ३ हजार सैनिक पठाएको छ। साथै, मस्कोलाई किभसँग लड्न सहयोग गर्न क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद पनि दिइरहेको छ। यो जानकारी दक्षिण कोरियाली सेनाले बिहीबार दिएको छ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रूस र उत्तर कोरिया नजिक भएका छन्। सियोलका अनुसार, किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनर पठाएका छन्।

मस्को र प्योङयाङले सैनिक तैनाथीबारे औपचारिक पुष्टि गरेका छैनन्। तर, गत वर्ष रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा सम्झौतासहित सैन्य सहकार्यमा हस्ताक्षर गरेका थिए।

दक्षिण कोरियाली सेना प्रमुखले भने, ‘जनवरी र फेब्रुअरीको बीचमा थप ३ हजार सैनिक सुदृढीकरणका लागि पठाइएको अनुमान छ।’  रूसमा पठाइएका सुरुका ११ हजार उत्तर कोरियाली सैनिकमध्ये ४ हजार मारिएको वा घाइते भएको अनुमान छ।

जेसीएसको प्रतिवेदनमा भनिएको छ, ‘सैनिकबाहेक उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति पनि गरिरहेको छ।’ प्रतिवेदनअनुसार, ‘हालसम्म उत्तर कोरियाले छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र, १७० एमएम सेल्फ प्रोपेल्ड गन र २४० एमएम मल्टिपल रकेट लञ्चरका करिब २२० युनिट दिएको अनुमान छ।’

यसले चेतावनी दिएको छ, ‘युद्धको अवस्थाअनुसार यो संख्या बढ्न सक्छ।’ संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गर्दै उत्तर कोरियाले गत वर्ष ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

विज्ञहरूले चेतावनी दिएका छन्, ‘आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग हुने हतियार रूसलाई दिन परीक्षण गर्न सक्छ।’ एएफपी

प्रकाशित: १४ चैत्र २०८१ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App