२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीमा मुख्यमन्त्री खोज्दै भाजपा, यी हुन् सम्भावित नाम

आतिशीले दिइन् मुख्यमन्त्री पदबाट राजीनामा

दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले शानदार जित निकालेको छ। निर्वाचनमा आम आदमी पार्टी (आप) ले ठूलो झट्का बेहोरेको छ, जसले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट जित्न सकेको छ।

आपलाई सत्ताच्यूत गरेर २७ वर्षपछि राष्ट्रिय राजधानीमा सत्तामा फर्किएको भाजपाले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ।

विशेष गरी पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियासहित पार्टीका धेरै शीर्ष नेताहरूले आफ्नो निर्वाचन क्षेत्रहरू गुमाएका छन्। भाजपाका परवेश वर्माले नयाँ दिल्ली सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई चार हजार मतभन्दा बढीको निर्णायक जितसहित विधानसभा चुनावमा विशाल विजेताको रूपमा उदाएका छन्।

दिल्लीको नयाँ मुख्यमन्त्री को हुने भन्ने विषयमा अहिलेसम्म प्रष्ट जवाफ आइसकेको छैन। भाजपाका सम्भावित उम्मेदवारहरूमा परवेश वर्मा, बाँसुरी स्वराज, विजेन्द्र गुप्ता, मनोज तिवारी, र विरेन्द्र सचदेवाजस्ता नामहरू चर्चामा छन्।

पार्टीको केन्द्रीय नेतृत्वले अन्तिम निर्णय गर्नेछ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको भूमिका महत्वपूर्ण रहनेछ। राष्ट्रिय राजधानीमा आफ्नो पुनरागमनको आशा गरेको कांग्रेस फेरि कुनै पनि सिट जित्न असफल भएको छ।

विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा पनि दिएकी छिन्। उनले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन्।

४३ वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत थिइन्। अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उनी मुख्यमन्त्री बनेकी थिइन्। उनी सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी थिइन्।

तथापि आतिशीले कडा प्रतिस्पर्धापछि कालकाजी सिट कायम राख्न सफल भइन्। उनले भाजपाका रमेश बिधुडीलाई तीन हजार ५२१ मतको अन्तरले पराजित गरेकी हुन्। आफ्नो व्यक्तिगत विजयलाई स्वीकार्दै, आतिशीले दिल्ली विधानसभा चुनावमा आपको हार स्वीकार गरिन्। उनले भाजपाविरुद्ध लडाइँ जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।

प्रकाशित: २७ माघ २०८१ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App