३ माघ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१५ महिनापछि रोकिँदै गाजाको बारुदी बर्बरता: होला त दिगो शान्ति कायम ?

१५ महिनाको क्रूर हिंसात्मक युद्ध बेहोरेको गाजा क्षेत्रमा केही समय मात्रै भए पनि युद्ध रोकिएको छ । यसले विश्वलाई शान्तिको नयाँ आशा जगाएको छ। 

यो द्वन्द्व इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच चल्यो । तर, यसले पारेको पारेको प्रभाव गाजाको मानवीय सङ्कटका रूपमा स्थापित भएको छैन, विश्व भूराजनीतिलाई नै गहिरो प्रभाव पारेको छ।

युद्धले गाज पट्टीमा ४६ हजार भन्दा बढीको ज्यान त लिएको छ । सँगै त्यहाँको भौतिक पूर्वाधार पनि नष्ट गरेको छ । सँगै बाँचेको समुदायको सामाजिक र आर्थिक स्थितिको कम्मर नै भाँचिदिएको छ । जसले त्यहाँका नागरिकहरूलाई एक कालो अध्यायतर्फ धकेलेको छ । जसको प्रभाव विश्व शान्ति र स्थायित्वमा पनि कहीँ न कहीँ असर पार्ने छ । 

गाजा युद्धको पृष्ठभूमि 

गाजाले बेहोरेको यो पहिलो युद्ध भने होइन्। बारम्बार गाजाले यस्तै युद्ध झेल्दै आएको इतिहास छ ।जसको पछिल्लो सुरुवात भने प्राचीन इजरायल र प्यालेस्टाइनको अस्तित्वसँग जोडिन्छ। 

पछिल्लो पटक सन् २००७ मा हमास समूहले गाजा पट्टीको सत्ता हातमा लिएपछि इजरायलसँगको संघर्षले गम्भीर मोड लिएको थियो। यहुदीहरूको विरासत बोक्ने इजरायली सत्ता र त्यसको अस्तित्व प्यालेस्टाइन पक्षधरले अस्वीकार गर्ने र आफ्नो सुरक्षा चुनौती भन्दै इजरायलले प्यालेस्टाइनमाथि बर्बर दमन र आक्रमण गर्ने अवस्था यो क्षेत्रको प्रमुख चुनौती हो । यसमा इजरायललाई देखी नसहने इस्लामिक कट्टरपन्थी हमास गाजाको सत्तामा आउँदा इजरायलका लागि पाच्य कुरा थिएन । यही कारण उसले  गाजा क्षेत्रमा आफ्ना सुरक्षा गार्डको रूपमा उपस्थिति बढाउँदै लगेको थियो । 

त्यसले पनि टसल बढाउँदै लगेको थियो। यही कारण एक अर्कामाथि पटक–पटक सानाठुला आक्रमण गर्ने क्रम चलिरहेकै थियो । सन् २०२३ को अक्टोबर ७ मा एकाएक हमासले इजरायलमाथि आक्रमण गरेपछि पछिल्लो युद्धको मोर्चा खुलेको हो । त्यसले गाजा पट्टीलाई बर्बर युद्धको साक्षी बनायो।

यो युद्ध केवल गाजामा मात्रै चलेन, वरिपरिको अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिलाई नै हलचल बनाएको छ।  यही युद्धकै बाछिटाका रूपमा लेबनान, सिरिया, इरानमा पनि इजरायलको आक्रमणको सामना गरे।  

विश्वले गुमाएको शान्ति

गाजा युद्धसँगै विश्वले शान्ति र स्थायित्वको अवसर गुमाएको छ। यो द्वन्द्वले मध्य पूर्वमा मात्र नभई, विश्वभरको सुरक्षा र शान्ति प्रक्रियामा ठुलो धक्का दिएको छ।

युद्धले प्रत्यक्ष रूपमा मानवीय सङ्कट सिर्जना गर्‍यो, जसले शरणार्थी समस्या, खाद्य अभाव, स्वास्थ्य सङ्कट र मानवीय अधिकार उल्लङ्घनका घटनाहरू बढाएको छ। यसले विश्व समुदायलाई द्वन्द्व समाधान र मानवीय सहायताको लागि नयाँ चुनौती दिएको छ। युद्धको अन्त्यले अन्तर्राष्ट्रिय समुदायलाई पुनर्निर्माण र दीर्घकालीन शान्तिको लागि सँगै काम गर्ने अवसर प्रदान गरेको छ, तर यसको लागि विश्वव्यापी एकता आवश्यक पर्नेछ।

इजरायल र पश्चिमा शक्तिको भूमिका

गाजा युद्धले इजरायललाई आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने अवसर दियो । जसले देशको आन्तरिक सुरक्षा क्षमतालाई बलियो बनायो। तर, यसले अन्तर्राष्ट्रिय स्तरमा इजरायलको छविलाई ठुलो क्षति पुर्‍यायो। मानव अधिकार उल्लङ्घनका आरोपहरू र युद्ध अपराधको अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दर्ता हुनुले इजरायललाई कूटनीतिक र नैतिक रूपमा चुनौती दिएको छ। 

युद्धको उपलब्धि भनिएका विषयहरूमा जस्तै हमासलाई निमिट्यान्न पार्ने इजरायलको रणनीति पूर्णतः सफल भएको देखिएन । अझै पनि हमासको सैन्य स्थिति कमजोर भए पनि आफ्नो सङ्गठन जीवित नै राखेको छ । इजरायलविरुद्ध ससाना आक्रमण पनि गरिरहेको छ । 

अमेरिका र पश्चिमा देशहरूले इजरायललाई सैन्य र कूटनीतिक समर्थन दिएका छन् । जसले उनीहरूको क्षेत्रीय प्रभाव बढाउन सहयोग गरेको छ। तर, यसले उनीहरूको मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको प्रतिबद्धतामा प्रश्न उठाएको छ। यसले विश्वव्यापी रूपमा अमेरिकाको नैतिक स्थितिलाई खस्काएको छ। 

अहिले युद्ध रोकिदा अमेरिका र पश्चिमा शक्तिहरूलाई मध्य पूर्वमा पुनः विश्वास पुनर्निर्माण र कूटनीतिक सम्बन्ध सुधार गर्ने अवसर प्रदान गरेको छ ।  

मानवीय र आर्थिक क्षति

युद्धले गाजा पट्टीमा व्यापक मानवीय क्षति पुर्‍याएको छ। मृत्युको सङ्ख्या ४६ हजारभन्दा बढी पुगेको छ । जहाँ धेरैजसो पीडितहरू सर्वसाधारण, बालबालिका र महिलाहरू रहेका छन्। यसले गाजा पट्टीमा उच्च स्तरको मानवीय सङ्कट सिर्जना गरेको छ, जहाँ हरेक परिवार युद्धको शोकमा डुबेको छ।

युद्धले लाखौँ मानिसहरूलाई आफ्नो घरबाट विस्थापित गरेको छ, जसले उनीहरूलाई अस्थायी आश्रय र शरणार्थी क्याम्पमा बस्न बाध्य बनाएको छ। 

आर्थिक क्षति पनि उत्तिकै व्यापक छ। गाजा पट्टीमा अस्पताल, स्कुल, घर र अन्य भौतिक पूर्वाधारहरू ध्वस्त भएका छन्, जसको पुनर्निर्माणका लागि अर्बौँ डलरको आवश्यकता पर्नेछ। युद्धले आर्थिक गतिविधि पूर्ण रूपमा ठप्प पारेको छ, व्यवसायहरू बन्द भएका छन्, रोजगारीको अवसरहरू नष्ट भएका छन्, र यसले बेरोजगारी तथा गरिबी बढाएको छ। 

व्यापार र निर्यातमा पनि ठुलो कमी आएको छ । किनभने घेराबन्दीले गाजा पट्टीलाई विश्व बजारबाट अलग गरेको छ, जसले आर्थिक प्रणालीलाई कमजोर बनाएको छ। इजरायली पक्षले पनि युद्धको लागतमा उच्च आर्थिक भार झेल्नुपरेको छ, जसमा सैन्य खर्च, क्षतिपूर्ति, र पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोतहरू समावेश छन्।

गाजा युद्धको क्रममा इजरायलले पनि आफ्नो मानवीय क्षति बेहोरेको छ। विभिन्न स्रोतहरू अनुसार, इजरायली पक्षबाट करिब एक हजार सात सय व्यक्तिको मृत्यु भएको अनुमान छ । 

हमासले केही इजरायली नागरिकहरूलाई अपहरण गरेको थियो, जसमध्ये केही अझै पनि बन्दीको रूपमा रहेका छन्। यसबाहेक, युद्धले धेरै इजरायली नागरिकहरूमा मनोवैज्ञानिक आघात पारेको छ, विशेष गरी ती जो युद्धको सीधा प्रभावमा परेका छन्। 

यी आँकडाहरू निरन्तर अद्यावधिक हुँदै जानेछन् । र मानवीय क्षतिको वास्तविक सङ्ख्या यो भन्दा अझ बढी हुन सक्छ, विशेष गरी युद्धको दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दा।

मध्य पूर्वमा असर

गाजा युद्ध समाप्तिले मध्य पूर्वको राजनीतिक र सामाजिक परिदृश्यलाई व्यापक रूपमा प्रभावित गरेको छ। यसले प्यालेस्टाइनीहरूको प्रतिरोध र आकाङ्क्षालाई विश्वव्यापी मञ्चमा ल्याएको छ, जसले क्षेत्रीय शान्ति प्रक्रियालाई नयाँ दिशा दिन सक्छ। 

गाजा युद्धले इजरायल(प्यालेस्टाइन वार्ताको आवश्यकतालाई पुनः जोड दिएको छ। जहाँ दुवै पक्षले अब आधारभूत मानवीय मूल्यहरूमा टेकेर शान्तिको खोजी गर्नुपर्नेछ। यसले अरब राष्ट्रहरू र इजरायलबिचको सम्बन्धमा नयाँ आयाम थप्न सक्ने सम्भावना देखाएको छ। जसले क्षेत्रीय सहयोग र समझदारीको बाटो खोल्न सक्छ।

युद्धको प्रभाव केवल गाजा र इजरायलसम्म सीमित नरहने हुँदा यसका दायरा मध्य पूर्वका अन्य मुलुकहरू, जस्तै लेबनान र सिरिया,सम्म फैलिएका छन्। यहाँका राजनीतिक र सामाजिक संरचनामा अस्थिरता र तनावका नयाँ स्तर देखा परेका छन्। 

लेबनानमा हिजबुल्लाहले इजरायलसँगको सङ्घर्षमा आफ्नो सैन्य क्षमता देखाएकाे छ छ, जसले यथार्थमा क्षेत्रीय सुरक्षा संकटलाई दर्साउँछ । 

यमनमा हुथी विद्रोही समूह पनि युद्धमा मिसिएको छ ।  जसले मध्य पूर्वका सबै मुलुकहरूमा तनाव र अस्थिरता ल्याएको छ। यसरी, गाजा युद्धको प्रभावले सम्पूर्ण मध्य पूर्वको सुरक्षा र राजनीतिक परिप्रेक्ष्यमा गहिरो र दीर्घकालीन प्रभाव छोडेको छ ।  

बाइडेन र ट्रम्पबिचको श्रेय लिने प्रतिस्पर्धा

गाजाको युद्ध विराम, जुन बुधवार घोषणा गरिएको थियो र आइतबारबाट लागू हुनेछ । अमेरिकी राजनीतिमा एक नयाँ सङ्घर्ष सिर्जना गरेको छ । जहाँ छोड्न लागेका राष्ट्रपति जो बाइडेन र आउने राष्ट्रपति डोनाल्ड ट्रम्पबिच यस उपलब्धिको श्रेय लिने प्रतिस्पर्धा चलिरहेको छ।

ट्रम्पले आफ्नो टोलीको भूमिकालाई जोड दिएका छन्, विशेष गरी आफ्नो शक्ति मार्फत शान्ति नीतिको प्रभावकारिता उल्लेख गर्दै, जबकि उनका विशेष दूत स्टीव विटकफले इजरायली नेतृत्वमाथि दबाब दिएर सम्झौता सुरक्षित गरेको दाबी गरे।

त्यस्तै, बाइडेनले आफ्नो प्रशासनले प्रस्ताव गरेको शान्ति खाकाको आधारमा युद्ध विराम भएको दाबी गरे, तर उनले स्वीकार गरे कि इजरायलमाथि दबाब नदिइँदा प्रस्ताव अगाडि बढ्न सकेन।

यो सम्झौताले विश्वव्यापी रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ, कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले यसको ग्यारेन्टीको रूपमा काम गर्ने प्रतिज्ञा गरेका छन्। कतारले सम्झौताको कार्यान्वयनमा मध्यस्थता र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ, जसले गाजामा मानवीय सहायताको वृद्धिलाई प्रोत्साहन गर्नेछ। 

जोर्डन, साउदी अरेबिया, टर्की, फ्रान्स, क्यानडा र कोलम्बियासहितका देशहरूले यस सम्झौताको स्वागत गरेका छन्, विभिन्न नेताहरूले शान्तिको आशा, बन्दीहरूको रिहाइ र मानवीय सङ्कटको अन्त्यको लागि आशा व्यक्त गरेका छन्। यसले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा दीर्घकालीन शान्ति र पुनर्निर्माणको लागि संयुक्त प्रयास गर्न उत्साहित गरेको छ।

इरानको भूमिका

गाजा युद्धमा इरानको महत्त्वपूर्ण भूमिका छ ।  इरान हमास र अन्य प्यालेस्टाइनी  सशस्त्र समूहहरूको मुख्य सहयोगी हो । इरानले गाजा युद्धमा प्रत्यक्ष रूपमा सहभागी नभए पनि ठुलो प्रभाव पारेको छ। इरानले हमासलाई वित्तीय, सैन्य, र रणनीतिक सहयोग प्रदान गर्दै आएको छ। युद्धको क्रममा, इरानले हमासलाई हतियार आपूर्ति, प्राविधिक तालिम, र सैन्य रणनीतिहरूमा सहयोग छ। 

इरानले गाजा युद्धलाई इजरायल विरोधी मोर्चा सुदृढ गर्न उपयोग गरेको छ। इरानले हमाससँगको सहकार्यलाई मात्र नभई, लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोहीहरूलाई पनि आफ्नो रणनीतिक मोर्चाको भाग लिँदै आएको छ। 

इरानले गाजा युद्धमा आफूलाई मुस्लिम विश्वको रक्षक र प्यालेस्टाइनीकाे स्वतन्त्रताको पक्षमा रहेको शक्तिको रूपमा प्रस्तुत गर्न खोजेको छ। 

तर, यो भूमिकाले इरानलाई कूटनीतिक रूपमा पनि चुनौतीहरू थपेको छ। पश्चिमी देशहरूले इरानमाथि आतङ्कवादी गतिविधिहरूलाई प्रोत्साहन गरेको आरोप लगाउँदै प्रतिबन्ध र कूटनीतिक दबाबलाई सुदृढ गरेका छन्। यस क्रममा इरान र इजरायलबिच तनाव पनि चलिरहेको छ । केही समयअघि दुवै देश एकअर्काविरुद्ध आक्रमणमा पनि उत्रिएका थिए । भलै त्यसको क्षति धेरै पुगेन र त्यो सशस्त्र सङ्घर्ष अघि बढेको छैन । 

गाजा युद्धको समाप्ति एक महत्त्वपूर्ण मोड हो। तर यसले सबै समस्याहरू एकैसाथ हल हुनसक्ने अवस्था भने छैन। 

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा 

प्रकाशित: ३ माघ २०८१ १९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App