२५ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लस एन्जलसको डढेलो किन नियन्त्रणमा आउन सकेन?

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ। सीएनएनका अनुसार आगो पहिले प्यासिफिक पालिसेड्स, ईटन र हर्स्टको जंगलमा लागेको थियो र त्यसपछि अहिले आवासीय क्षेत्रमा पनि फैलिएको छ। प्यासिफिक प्यालिसेडमा बिहान १० बजे, ईटनमा साँझ ६ बजे र हर्स्टमा राति १० बजे आगलागी भएको थियो।

प्यासिफिक पालिसेड्सले सबैभन्दा बढी क्षति बेहोरेको छ। यहाँको आगलागी डेढ दिनमा तीन हजार एकड जमिनमा फैलिएको छ। आगलागीका कारण ३० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् भने पाँच जनको मृत्यु भएको छ। रिपोर्टका अनुसार प्यासिफिक पालिसेड्समा भएको यो आगलागीले एक मिनेटमा पाँच फुटबल मैदान बराबरको क्षेत्र जलाएर खरानी बनाइदिएको छ।

लस एन्जलस प्रशासनले सम्पूर्ण शहरमा आपतकाल घोषणा गरेको छ। यो अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो। यहाँ एक करोड मानिस बस्छन्। जंगलमा फैलिएको आगोका कारण यहाँका करिब ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ।

क्यालिफोर्निया प्रशासनले सर्वसाधारणलाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको छ। यसैबीच राष्ट्रपति जो बाइडेनले आर्थिक सहयोगको घोषणा गरेका छन्। 

किन बढिरहेको छ डढेलो?

हेलिकप्टर र प्लेनबाट आगो नियन्त्रणको प्रयास भैरहेको छ तर हावाहुरीका कारण आगो नियन्त्रण गर्न कठिन भइरहेको छ। हावाको दिशा परिवर्तनका कारण विभिन्न स्थानमा आगो लगातार फैलिरहेको छ।

प्रभावित क्षेत्रमा खटिएको उद्धार टोलीले हजारौं मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइरहेको छ। स्थानीय विद्यालय, सामुदायिक केन्द्र र अन्य सुरक्षित स्थानहरूलाई आपतकालीन आश्रयस्थलका रूपमा तयार पारिएको छ।

आगलागीले धनमालमा क्षति मात्रै नभएर वातावरणमा पनि गम्भीर क्षति पुर्याएको छ। आगलागीमा सयौं रुख र जनावर जलेर खरानी भएका छन्। सडक जामका कारण मानिसहरू गाडी छाडेर सुरक्षित स्थानतर्फ पैदल हिँडिरहेका छन्।

‘सान्ता साना’ हावा आगो लाग्नुको सबैभन्दा ठूलो कारण हो। यी हावाहरू धेरै तातो छन्। यी सामान्यतया शरद ऋतुमा चल्छन्। यी हावाहरूले दक्षिणी क्यालिफोर्नियालाई सबैभन्दा बढी असर गर्छ। अहिले प्रतिघण्टा १३० देखि १६० किलोमिटरको गतिमा हावा चलिरहेकोले क्षति बढ्दै गएको समाचारमा जनाइएको छ। एजेन्सी

प्रकाशित: २५ पुस २०८१ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App