२० पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ। दमकल सेवाले दिएको जानकारी अनुसार, १८१ यात्रु बोकेको विमान दुर्घटनामा कम्तीमा ६२ जनाले ज्यान गुमाएका छन्। 

स्थानीय समयानुसार बिहान नौ बजेतिर विमान धावनमार्गबाट चिप्लिएर दक्षिण कोरियाको दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटनाको सिकार भएको थियो। जेजु एयरको उक्त विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य सवार थिए। उनीहरू थाइल्याण्डको बैंककबाट फर्किएको बताइएको छ।  

अवतरण गर्ने क्रममा दुर्घटनामा परेको विमानको सम्बन्धमा रोयटर्सले जनाएअनुसार, अहिलेसम्म दुई जना जीवितै फेला परेका छन्। उद्धार कार्य अझै जारी छ र उद्धारकर्ताहरुले विमानको पछाडि भागमा रहेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्। 

योनहापका अनुसार, विमानमा रहेका यात्रुहरूमा १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए। दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन।

रोयटर्स र योनहापबाट प्राप्त जानकारी अनुसार, धावनमार्गको छेउमा विमानको भाग जलेको अवस्थामा छ। सामाजिक सञ्जालमा अपलोड भएका फुटेजमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देख्न सकिन्छ। 

अन्य फुटेजमा कालो धुवाँको ठूलो मुस्लो आकाशमा उडिरहेको देखाइएको छ। उद्धार कार्यमा ८० दमकल कर्मचारीहरू र ३० भन्दा बढी फायर ट्रकहरू खटाइएका छन्।

प्रकाशित: १४ पुस २०८१ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App