भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नाइजेरिया पुगेका छन्। राष्ट्रपति अहमद टिनुबुको निमन्त्रणामा उनी अफ्रिकी मुलुक पुगेका हुन्। १७ वर्षमा कुनैपनि भारतीय प्रधानमन्त्रीको यो पहिलो नाइजेरिया भ्रमण हो। दैनिक भास्करका अनुसार प्रधानमन्त्री मोदीले आज राष्ट्रपति टिनुबुलाई भेट्नेछन्।
उनीहरुबीच भारत–नाइजेरिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ। त्यसपछि मोदीले राजधानी अबुजामा भारतीय समुदायलाई सम्बोधन पनि गर्नेछन्।
नाइजेरियाले भारतको ऊर्जा आवश्यकता पूरा गर्छ। अफ्रिकामा विशेष गरी ऊर्जा, खानी, औषधि र सूचना प्रविधि जस्ता क्षेत्रहरूमा भारतीय लगानी लगातार बढिरहेको छ। नाइजेरिया इस्लामिक देशहरूको संगठन (ओआईसी)र तेल उत्पादक देशहरूको संगठन (ओपेक)को एक महत्त्वपूर्ण सदस्य हो।
यी दुवै संस्था भारतको कूटनीति र आर्थिक नीतिका लागि महत्त्वपूर्ण मानिन्छन्। नाइजेरिया स्वतन्त्र हुनुअघि नै दुई देशबीच कूटनीतिक सम्बन्ध सुरु भएको थियो। भारतले सन् १९५८ मा नाइजेरियामा कूटनीतिक नियोग स्थापना गरेको थियो।
नाइजेरिया त्यसको २ वर्षपछि स्वतन्त्र भएको हो। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू सेप्टेम्बर १९६२ मा नाइजेरिया गएका थिए।
प्रकाशित: २ मंसिर २०८१ ०६:३६ आइतबार