२६ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानको विश्वविद्यालयमा युवती किन नाङ्गिइन ?

इरानको राजधानी तेहरानको एक विश्वविद्यालयमा एक युवती(छात्रा) निर्वस्त्र भएको भिडिओले सामाजिक सञ्जालमार्फत विश्वभर तरङ्ग सिर्जना गरिरहेको छ । उक्त तस्बिर शनिवार(नोभेम्बर २) को भनिएको छ । तेहरानमा रहेको स्वतन्त्र विश्वविद्यालयको शोध शाखामा ती युवतीले आफ्नो पहिरन उतारेको बताइन्छ । युवतीले सबै लुगा खोलेर ब्रा र अन्डरवेयरमा केही बेर हिँडेको र पिँढीमा बसेको भिडिओमा देखिन्छ । 

ती लाई लगत्तै विश्वविद्यालयका अधिकारीहरूले हिरासतमा लिएर मानसिक अस्पताल पठाएको इरानी सञ्चारमाध्यमले लेखेका छन् । उनको अवस्था अहिले सार्वजनिक गरिएको छैन । 
 

तर विपक्षीहरूले भने ‘जबरजस्ती हिजाब पहिरनको नियमविरुद्ध गरिएको विरोध’ भनेर टिप्पणी गरिरहेका छन् । हिजाब भनेको इस्लामिक महिलाका लागि अनुहार र हातबाहेक सबै अङ्ग छोप्ने पहिरन लगाउनुपर्ने बाध्यकारी नियम मानिन्छ । 

विपक्षीहरूले यो घटनालाई हिजाब नियमको विरोधमा इरानी महिलाले गरिरहेको कडा प्रतिबन्धविरुद्धको प्रदर्शन पनि भनिइरहेका छन् । ‘जबरजस्ती हिजाब थोपरेको विरोधमा उनले कपडा उतारेर अन्डरवेयरमा हिँडेको’ विपक्षीहरूको मत छ । 

यही कारण विपक्षीहरू ती युवतीको पक्षमा सामाजिक सञ्जालमा ‘रिसर्च साइन्स गर्ल’ भन्दै ह्यासट्याग ट्रेन्ड गरिरहेको बिबिसीले जनाएको छ । प्रत्यक्षदर्शीलाई हवाला दिँदै अनलाइन प्लेटफर्महरूमा ती युवतीले कपडा खोल्ने बेला अन्य छात्रासँग ‘म तिमिहरू सबैलाई बचाउन आएको हुँ’ भनेर बोलेको पनि उल्लेख छ । 

नाङ्गो शरीर विद्रोहको प्रतीक 

नोबेल शान्ति पुरस्कार विजेता लेखिका नर्गिस मोहम्मदीको इन्स्टाग्राममा ती युवतीको उक्त भिडिओबारे लेखिएको छ । नर्गिस इरानी लेखिका हुन्, उनी हाल जेलमा छिन् । 

‘महिलाले आदेश नमान्दा महँगो मूल्य चुकाउनुपर्छ । तर उनी कुनै पनि ताकतको अगाडि झुक्दिनन्,’ मोहम्मदीको इन्स्टाग्राममा लेखिएको छ,‘विश्वविद्यालयमा प्रदर्शन गरिरहेकी छात्राको शरीर विद्रोहको प्रतीक हो । यो रिस र विद्रोहको तीव्रताको पनि प्रतीक हो ।’ 

इरानी केही अभिनेत्रीहरूले पनि ती युवतीको विद्रोह गरेको भन्दै समर्थन गरेका छन् । यसअघि सन् २०२२ मा इरानमा हिजाब नियमको विरुद्धमा व्यापक प्रदर्शन भएको थियो । त्यति बेलाका प्रदर्शनकारीमाथि राज्यले ठुलो दमन गरेको थियो । कतिपयलाई मानसिक रोगी भन्दै मानसिक अस्पताल र जेलसम्म पुर्‍याइएको सञ्चारमाध्यमहरूले लेखेका छन् । 

-बिबिसीको सहयोगमा 

प्रकाशित: २० कार्तिक २०८१ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App